News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाहीको मलंगवा नगरपालिकाले चार करोडभन्दा बढी लागतमा तीनतले सुविधासम्पन्न भवन निर्माण गरेको छ तर हालसम्म सञ्चालनमा ल्याउन सकेको छैन।
- भवनमा आवश्यक फर्निचर खरिद र सुरक्षा व्यवस्थापनका लागि बाउन्ड्री वाल निर्माण हुन नसक्दा कार्यालय सार्ने प्रक्रिया रोकिएको प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी दिए।
- नागरिक समाजले करोडौं खर्चमा बनेको भवन प्रयोगविहीन हुँदा जीर्ण हुँदै गएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
३० वैशाख, सर्लाही । सर्लाहीको मलंगवा नगरपालिकाले चार करोड बढी लागतमा निर्माण गरेको सुविधासम्पन्न भवन प्रयोगविहीन बनेको छ । नगरपालिकाको कार्यालय सार्ने उद्देश्यले शिक्षा विकास इकाइ र सन्त अल्पमाई सीटीईभीटी अगाडि निर्माण गरिएको तीनतले भवन निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
नगरपालिकाका अनुसार भवन निर्माण कार्य २०८० सालमै सम्पन्न भएको हो । अत्यधिक भिडभाड, साँघुरा कोठा तथा सेवा प्रवाहमा असहज भएपछि सर्लाही सदरमुकाम मलंगलामा आधुनिक सुविधासहितको नयाँ भवन निर्माण गरिएको थियो । तर उक्त भवनबाट हालसम्म सेवा सुरु भएको छैन ।
हाल मलंगवा नगरपालिकाका अधिकांश वडा कार्यालय भाडाका घर तथा अन्य सरकारी भवनबाट सञ्चालन हुँदै आएका छन् । जिल्लाकै पुरानो नगरपालिका मानिने मलंगवा नगरपालिका २०४७ साल (करिब ३६ वर्ष) देखि बजारमा रहेको आफ्नै पुरानो भवनबाट सञ्चालन हुँदै आएको छ । सेवाग्राहीको चाप बढ्दै जाँदा पुरानो भवन अपर्याप्त बनेपछि नयाँ भवन निर्माण गरिएको नगरपालिकाका कर्मचारीहरू बताउँछन् ।

नगरपालिकाका इन्जिनियर सन्तोष सिंहका अनुसार उक्त तीनतले भवन ड्रागन शिवालय जेभी, काठमाडौंले चार करोडभन्दा बढी लागतमा निर्माण सम्पन्न गरेको हो ।
आवश्यक फर्निचर व्यवस्थापन तथा भवन परिसरमा बाउन्ड्री वाल निर्माण हुन नसक्दा कार्यालय सार्ने प्रक्रिया रोकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी दिए ।
‘भवनमा आवश्यक फर्निचर खरिद गर्न ठूलो रकम आवश्यक छ । साथै सुरक्षा व्यवस्थापनका लागि बाउन्ड्री वाल निर्माण गर्नुपर्ने भएकाले तत्काल कार्यालय सार्न सकिएको छैन,’ उनले भने ।
यता, नागरिक समाजका अगुवाहरू करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको भवन लामो समयसम्म प्रयोगमा नआउँदा जीर्ण बन्दै गएको बताउँछन् । उनीहरूले जनताको करबाट निर्माण गरिएका संरचना समयमै सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन् ।
मलंगला नगरपालिका–१ का वडाध्यक्षका अनुसार नयाँ भवनमा नगर कार्यपालिकाको कार्यालय सार्ने र हाल प्रयोग भइरहेको पुरानो भवनमा वडा नम्बर ३ र ९ को कार्यालय सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ । तर निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा नयाँ भवन अझै प्रयोगविहीन बनेको छ ।
प्रतिक्रिया 4