News Summary
Generated by OK AI. Editorially reviewed.- कास्कीको रुपा गाउँपालिकाले लिफ्टसहितको भव्य प्रशासकीय भवन एक वर्षभित्र निर्माण गरी बुधबार उद्घाटन गरेको छ।
- ठेकेदारले सम्झौताअनुसार तोकिएको समयमा भवन निर्माण सम्पन्न गरेपछि गाउँपालिकाले ठेकेदारलाई सम्मान गर्ने योजना बनाएको छ।
- गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले भवनले गाउँमै सिंहदरबार आएको महसुस भएको बताउनुभयो।
३० वैशाख, पोखरा । दक्षिणमा भिरालो जमिन, तल बेसीसम्म देखिने हरियाली दृश्य । उत्तरतर्फ हिमाल देखिने डाँडा र त्यहीँ डाँडा हुँदै विभिन्न वडासम्म पुग्ने पक्की सडक ।
त्यही सडक हुँदै गाउँगाउँबाट बाजागाजा र झाँकीसहित मानिसहरू आइपुगे । जातीय तथा सांस्कृतिक पोशाकमा सजिएर पालिकाको केन्द्रमा स्थानीयहरू खुसी साट्दै/रमाउँदै थिए ।
कास्कीको रुपा गाउँपालिका–६ फालभञ्ज्याङमा बुधबार कास्कीका स्थानीय जनप्रतिनिधि, सोही क्षेत्रका सांसदसहित गाउँलेहरू उत्सव मनाउँदै थिए ।
रुपाबासी र पोखरासहित छिमेकी पालिकाकाका जनप्रतिनिधि, सांसदसहित २ वटा कारण खुसी देखिए । पहिलो, रुपा गाउँपालिकाको लिफ्टसहितको भव्य प्रशासकीय भवन (रुपाको सिंहदरबार) उद्घाटन हुँदै थियो । रुपा गाउँपालिकामै लिफ्टसहित बनेको यो पहिलो भवन हो ।
दोस्रो, ठेकेदारले सम्झौताअनुसार तोकिएकै समयभित्र काम गरिदिँदा वर्ष दिनमै हस्तान्तरण भएर उद्घाटन भएको थियो । धेरै ठाउँमा तोकिएको समयमा पूर्वाधार निर्माणै सम्पन्न नहुने र एक वर्षभित्र त सम्झौता भएर योजना सम्पन्न हुनै गाह्रो छ भन्ने भाष्यलाई चिर्दै रुपा गाउँपालिकाको भवन निर्माण व्यवसायीले समयमै सकेर हस्तान्तरण गरिदिएको हो ।
तोकिएकै समयमा निर्माण सम्पन्न हुँदा जनप्रतिनिधि र सेवाग्राहीसमेत उत्साही थिए भने ठेकेदारले चाहे भने त बेलैमा काम सकिँदो रहेछ भन्ने सन्देश पनि कार्यक्रमबाट दिइएको थियो ।
नेपाल सरकारबाट हस्तान्तरण भएर आएको ९१ रोपनीभन्दा बढी जग्गामा ७ करोड ८० लाख रुपैयाँको लागतमा वर्ष दिनभित्रै भवन निर्माण सकिएको हो ।
तोकिएको समयमै निर्माण सम्पन्न गर्ने ठेकेदारलाई पालिकाले सम्मानसमेत गर्ने र समयमै काम सक्न अभिप्रेरित गर्ने गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए ।

२०७२ वैशाख ३१ गते रमिता इन्फ्रास्ट्रक्चर र मन कन्स्ट्रक्सन प्रालिको जेभीसँग एक वर्षभित्र काम सक्ने गरी सम्झौता भएको थियो ।
सम्झौताबमोजिम ठेकेदार कम्पनीले निर्माण सकेर हस्तान्तण गरेसँगै ठिक एक वर्षमै बुधबार प्रमुख प्रशासकीय भवन उद्घाटन गरिएको हो ।
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पालिकाका अध्यक्ष नवराज ओझा, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायतले भवन उद्घाटन गरे ।
३ तले भव्य भवनमा २२ वटा कार्यकक्ष, एक कार्यपालिका एवं कर्मचारी बैठक कक्ष र एक सभाहल गरी २४ वटा कोठा रहेको प्राविधिक अभिनव गौतमले जानकारी दिए ।
‘ठेकेदारले समयमै काम नगरिदिएर धेरै ठाउँमा योजना क्रोनिक बनेका छन् । धेरै योजना समयमै सकिएका छैनन्,’ अध्यक्ष ओझाले भने, ‘तर यो प्रशासकीय भवन निर्माण गर्दा ठेकेदारले चाहे भने काम हुँदो रहेछ भन्ने उदाहरण दिएको छ ।’
रुपा गाउँपालिकाको आफ्नै भवन नहुँदा सेवा प्रवाहमै समस्या सिर्जना भएको तर अघिल्ला वर्षहरूमै जग्गा प्राप्तिदेखि अन्य प्रक्रियागत समस्याका कारण पनि ढिला गरी भएको अध्यक्ष ओझाको भनाइ छ ।
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा पूर्वसंघीय मन्त्री खगराज अधिकारीले रुपा गाउँपालिकाले धेरै कुरामा दैलोमै विकास निर्माण पाएको बताए ।
समयमै निर्माण सकिएको प्रमुख प्रशासकीय भवनले पनि अब साँच्चिकै सिंहदरबार गाउँमै आयो भन्ने महसुस गराएको अधिकारीको भनाइ थियो ।
पोखराका मेयर धनराज आचार्यले रुपा र पोखरा महानगरले साझेदारीमा थुप्रै काम गरेको बताए । शिशुवा–सातमुहाने सडक हालै निर्माण सकिएर उद्घाटन गरिएको र त्यसले पनि रुपावासीलाई धेरै सहज भएको मेयर आचार्यको भनाइ थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कुशल नेतृत्वले चाहँदा पालिकाले धेरै कुरामा मुहार फर्ने बताइन् ।
प्रतिक्रिया 4