३१ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज बेइजिङको ग्रेट हल अफ द पिपुलमा भेटवार्ता हुँदैछ। ट्रम्प भर्खरै त्यहाँ पुगेका छन् र उनले सी जिनपिङसँग हात मिलाएका छन्।
ट्रम्पलाई स्वागत गर्न सी जिनपिङ ग्रेट हल अफ द पिपुलको सिँढीबाट तल झर्दै गरेको देखिए।
बीबीसीका अनुसार, उनले रेड कार्पेटमा डोनाल्ड ट्रम्पसँग भेट गरे। त्यहाँ चीनको सैन्य टुकडी (टोली) पनि आफ्नो ठाउँमा तैनाथ देखिएको थियो।
ग्रेट हल अफ द पिपुल तियानमेन स्क्वायरको पश्चिममा अवस्थित एउटा सरकारी भवन हो। यसको प्रयोग अन्य सरकारी गतिविधि र विदेशी नेताहरूको स्वागतका लागि गरिन्छ।
बेइजिङको यही हलमा आज ट्रम्प र सी जिनपिङबीच भेटवार्ता हुनेछ। ट्रम्प बुधबार बेइजिङ पुगेका थिए। त्यहाँ उनको स्वागत चीनका उपराष्ट्रपति हान झेङले गरे, त्यसपछि उनी फोर सिजन्स होटल बसे ।
आज दिउँसो दुई नेताबीच द्विपक्षीय वार्तापछि साँझ आयोजना हुने राजकीय भोटमा सहभागी हुनेछन् । राष्ट्रपति ट्रम्पका साथ एलन मस्कसहित कैयौँ अमेरिकी टेक कम्पनीका सीईओहरू पनि सहभागी छन्।
ट्रम्पको प्रतिनिधिमण्डलमा टेस्लाका एलन मस्क र एनभिडियाका जेन्सन ह्वाङसहित धेरै टेक कम्पनीका सीईओहरू पनि उपस्थित छन्।
राष्ट्रपतिको गाडीको लस्कर (काफिला) सम्म पुग्ने क्रममा ट्रम्पको स्वागत ब्रास ब्यान्डको धुन र झन्डा फहराइरहेका मानिसहरूको प्रस्तुतिसहित गरिएको थियो।
यस क्रममा मानिसहरू ‘वेलकम वेलकम, अ वार्म वेलकम’ को नारा लगाइरहेका थिए।
त्यहाँ अमेरिका र चीनका झन्डाहरू पनि राखिएका थिए, जसलाई दुई दिने महत्त्वपूर्ण बैठकअघि एकताको प्रदर्शनको रूपमा हेरिएको छ।
उपराष्ट्रपति हान झेङ एयर फोर्स वानबाट ओर्लिएपछि ट्रम्पको स्वागतका लागि रनवेमै उपस्थित थिए।
हान झेङ चीनका शीर्ष नेताहरूमध्ये पर्छन् र उनलाई स्वागतका लागि पठाइनुलाई बेइजिङको तर्फबाट ट्रम्पलाई सम्मान दिइएको सङ्केतका रूपमा हेरिएको छ।
यसअघि २०१७ को भ्रमणका क्रममा चीनले ट्रम्पको स्वागतका लागि तुलनात्मक रूपमा तल्लो तहका नेता तथा स्टेट काउन्सिलर याङ जिएचीलाई पठाएको थियो।
हान झेङ गत वर्ष ट्रम्पको शपथ ग्रहण समारोहमा पनि सहभागी भएका थिए।
प्रतिक्रिया 4