News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सेनाका राजन रोकायाले राष्ट्रिय युवा संघ नेपालको ३७औं स्थापना दिवसको अवसरमा आयोजित १० के एनवाईएफएन रन २९ मिनेट ५६.९ सेकेन्डमा जितेका छन्।
- खड्क बहादुर खड्का दोस्रो र मुकेश बहादुर पाल तेस्रो स्थानमा रहे, उनीहरूले क्रमशः ४० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गरे।
- प्रतियोगितामा देशभरका धावकहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तरता दिने योजना बनाएको छ।
१ जेठ, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको ३७औं स्थापना दिवसको अवसरमा आयोजित ‘१० के एनवाईएफएन रन’ को उपाधि नेपाली सेनाका राजन रोकायाले जितेका छन् ।
शुक्रबार काठमाडौंमा सम्पन्न प्रतियोगितामा राजन रोकायाले निर्धारित १० किलोमिटर दूरी २९ मिनेट ५६.९ सेकेन्डमा पूरा गर्दै विजयी भए । त्यस्तै खड्क बहादुर खड्का ३० मिनेट २६.७ सेकेन्डसहित दोस्रो भए तथा मुकेश बहादुर पाल ३१ मिनेट ००.२ सेकेन्डका साथ तेस्रो स्थानमा रहे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको दौड पुनः सोही स्थानमा आएर समापन गरिएको थियो । प्रतियोगितामा सहभागी धावकहरूले उत्कृष्ट प्रतिस्पर्धा प्रस्तुत गरेका थिए ।
यसैगरी, संजय श्रेष्ठ ३१ मिनेट ०७.४ सेकेन्डका साथ चौथो तथा सुशील शाही ३२ मिनेट ०७.६ सेकेन्डका साथ पाँचौं स्थान हासिल गर्न सफल भए ।
विजेताले राजनले नगद ५० हजार प्राप्त गर्दा दोस्रो भएका खड्कले ४० हजार, तेस्रो भएका मुकेशले ३० हजार, चौथो भएका संजयले २० हजार र पाँचौ सुशिलले १० हजार प्राप्त गरे ।
ओलम्पियन तथा कीर्तिमान धावक बैकुण्ठ मानन्धर १० के एनवाईएफएन रनको प्रमुखय अथितिको रुपमा उपस्थित थिए ।
युवामा खेलकुदप्रतिको आकर्षण बढाउने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा देशभरका धावकहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको समापन समारोहमा बोल्दै आयोजकहरूले खेलकुदले युवालाई अनुशासित, ऊर्जाशील र राष्ट्रप्रति जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । राष्ट्रिय युवा संघ नेपालले आगामी दिनमा पनि युवालाई खेलकुदमार्फत एकताबद्ध गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
कार्यक्रममा विभिन्न सामाजिक, राजनीतिक तथा खेल क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । प्रतियोगिताले राजधानीमा खेलकुदमय वातावरण सिर्जना गर्नुका साथै युवा पुस्तामाझ दौड संस्कृतिलाई थप प्रवर्द्धन गरेको आयोजकहरूको विश्वास छ ।
प्रतिक्रिया 4