News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारी अस्पताल र स्वास्थ्य निकायहरूमा ९ करोड १७ लाख मूल्य बराबरको औषधि र स्वास्थ्य सामग्रीको म्याद नाघेको महालेखा परीक्षकको ६३औं प्रतिवेदनले देखाएको छ।
- स्वास्थ्य सेवा विभाग, वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतमा औषधि व्यवस्थापन र भण्डारणमा गम्भीर लापरबाही भएको प्रतिवेदनले उल्लेख गरेको छ।
- म्याद समाप्त भएका औषधिहरू आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्नुपर्ने भए पनि नगरेर राज्यको ठूलो लगानी खेर गएको महालेखाले औंल्याएको छ।
१ जेठ, काठमाडौं । सरकारी अस्पताल र स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्रीको म्याद नाघेको भेटिएको छ ।
महालेखा परीक्षकको ६३औं प्रतिवेदनअनुसार विभिन्न स्वास्थ्य संस्थाहरूमा ९ करोड १७ लाख मूल्य बराबरको औषधिजन्य मालसामान र कीट म्याद समाप्त भई प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेका हुन् ।
स्वास्थ्य सेवा विभाग, वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका निकायहरूमा औषधि व्यवस्थापन र भण्डारणमा गम्भीर लापरबाही देखिएको छ ।
प्रतिवेदनअनुसार स्वास्थ्य सेवा विभागमा मात्रै विगतमा खरिद गरिएका २८ प्रकारका ४ करोड ७२ लाख २० हजार रुपैयाँका औषधिहरूको म्याद सकिएको छ ।
त्यस्तै, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा ४७ लाख ७० हजार र वीर अस्पतालमा ६०१ प्रकारका १ करोड ४३ लाख ७५ हजार रुपैयाँका औषधि प्रयोग गर्न नमिल्ने भएका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १ करोड १९ हजार ९६ हजार, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ करोड २३ हजार म्याद सकिएका सामग्री थुप्रिएको महालेखाले जनाएको छ ।
सम्झौताअनुसार म्याद समाप्त भएका वा बिक्री नभएका औषधिहरू आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्नुपर्ने भए पनि त्यसो नगरिँदा राज्यको ठूलो लगानी खेर गएको महालेखाले औंल्याएको छ ।
प्रतिवेदनमा औंल्याएको छ, ‘ स्वास्थ्य संस्थाले आपूर्तिकर्ताबाट खरिद गरेको औषधिको म्याद समाप्त भएमा, टुटेफुटेमा वा बिक्री नगरी अधिक मौज्दात रहेमा सम्झौताको सर्तअनुसार उक्त औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्नुपर्दछ ।’
प्रतिक्रिया 4