News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'काजी'को ट्रेलर सार्वजनिक भएको केही समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ।
- ट्रेलरमा विपिन कार्की र केकी अधिकारीको अभिनय तथा भावनात्मक संवादले दर्शकको ध्यान तानेको छ।
- फिल्म आगामी शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ र लक्ष्मण रिजालले निर्देशन गरेका छन्।
काठमाडौं । फिल्म ‘काजी’को ट्रेलर सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ । भावनात्मक संवाद, पारिवारिक कथा, अभिनेता विपिन कार्की तथा अभिनेत्री केकी अधिकारीको अभिनयलाई लिएर सामाजिक सञ्जालमा राम्रो चर्चा भइरहेको छ ।
ट्रेलरमा प्रस्तुत प्रेम, विश्वास र सम्बन्धभित्रको द्वन्द्वले दर्शकको ध्यान तानेको छ । विशेषगरी विपिनको भावुक संवाद र केकीले निर्वाह गरेको समर्पित पत्नीको भूमिकालाई दर्शकले रुचाएको देखिन्छ ।
सार्वजनिक भएको केही समयमै ट्रेलर ‘मुभी चार्ट’को शीर्ष पाँचभित्र पर्न सफल भएको छ । ट्रेलरमा पारिवारिक सम्बन्ध, प्रेम, त्याग र विश्वासलाई भावुक शैलीमा प्रस्तुत गरिएको छ ।
ग्रामीण तथा मध्यमवर्गीय नेपाली परिवारको परिवेशलाई पनि ट्रेलरमा प्रभावकारी ढंगले देखाइएको छ । संवादअनुसारको छायांकन र पृष्ठभूमि संगीतले भावनात्मक दृश्यलाई अझ प्रभावशाली बनाएको देखिन्छ ।
ट्रेलरमा विपिनले बोलेको संवाद, ‘भगवानले बा-आमा त दिएनन्, तर यिनीलाई दिए’ ले पात्रभित्रको अभाव, एक्लोपन र पत्नीप्रतिको गहिरो प्रेमलाई देखाउँछ । त्यस्तै, केकीको संवाद ‘बरु भगवानबाट गल्ती हुन्छ, मेरो काजीबाट हुँदैन’ ले श्रीमानप्रतिको अटुट विश्वास झल्काएको छ ।

‘कजिनीले फेरि यस्तै चित्त दुखाउने कुरा सुन्नुपर्यो भने म सबै छोडेर जान्छु’ भन्ने संवादमार्फत काजी आफ्नो सम्बन्ध जोगाउन जुनसुकै हदसम्म जान तयार रहेको संकेत गरिएको छ । अर्कोतर्फ, ‘एउटा झुटले मेरो सम्बन्ध बाँच्छ भने बरु पाप लागे पनि लागोस्’ भन्ने संवादले कथामा आउने भावनात्मक र नैतिक द्वन्द्वको संकेत गर्छ ।
फिल्म आगामी शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धिसागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र दिक्षिता अर्यालको अभिनय छ ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्म रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् । प्रदीप भारद्धाजको कथा लेखन रहेको फिल्मका निर्माता नेहान रिजाल र विकासराज जोशी हुन् । फिल्मलाई श्रीराम बालाजी फिल्म्सले नेपालभर वितरण गर्दैछ ।
प्रतिक्रिया 4