१ जेठ, काठमाडौं । भारतीय अर्बपति गौतम अडानी र उनका भतिज सागर अडानी अमेरिकामा चलिरहेको मुद्दामा झन्डै दुई करोड अमेरिकी डलर जरिवाना तिर्न तयार भएका छन् । अडानी परिवारमाथि अमेरिकामा यूएस सिक्युरिटिज एन्स एक्सचेन्स कमिसनका तर्फबाट दायर भएको ठगी मुद्दा टुंगो लगाउन उनीहरू एक करोड ८० लाख डलर तिर्न राजी भएका हुन् ।
अडानी समूह भारतका ठूला व्यापारिक घरानामध्येको एक हो । जसले विमानस्थल, ऊर्जाजस्ता ठूला क्षेत्रमा लगानी गरेको छ ।
सन् २०२४ मा अमेरिकी नियामक संस्थाले अडानी परिवारले हाई प्रोफाइल नवीकरणीय ऊर्जा परियोजनाका लागि भारतीय अधिकारीलाई घुस दिएको र बन्ड जारी गरेर पुँजी जुटाउने कोसिस गरेर अमेरिकी लगानीकर्तालाई भ्रममा राखेको आरोप लगाएको थियो । उक्त मुद्दामा अमेरिकी अदालतले पनि सहमति जनाएको थियो । अडानी समूहले लगानीकर्तामाथि धोकाधडी, सेक्युरिटिजमाथि धोकाधडी, बजारमा हेरफेर थरेर अमेरिकी कानुन उल्लंघन गरेको आरोप थियो । अहिले जरिवाना तिर्न राजी हुँदै उसले भविष्यमा ती कानुन उल्लंघन नगर्ने प्रतिबद्धता जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्पका वकिलको सहयोग
अमेरिकी सञ्चारमाध्यमका अनुसार अमेरिकी न्याय विभागले गौतम अडानीविरुद्ध आपराधिक धोकाधडीका आरोप हटाउने तयारी गरेको छ ।
यो तयारी रोबर्ट जे गिफ्रा जुनियरको नेतृत्वमा रहेको वकिलको समूहले अडानीको मुद्दा लिएपछि भएको न्युयोर्क टाइम्सले जनाएको छ । यो अमेरिकाको सबैभन्दा शक्तिशाली ल फर्ममध्ये एक मानिन्छ । जसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्नेगर्छ ।
गिफ्राले नै यसअघि ट्रम्पको एक मुद्दा लडेको बताइएको छ ।
ती वकिलले अडानीविरुद्धको मुद्दा टुंगिए उनले अमेरिकामा १० अर्ब डलर लगानी गर्ने र त्यसले १५ हजार जनालाई जागिरको अवसर सिर्जना हुने भन्दै वकालत थालेका छन् ।
–बीबीसी हिन्दीको सहयोगमा
प्रतिक्रिया 4