+

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता : प्रिन्स र रशिलालाई दोहोरो उपाधि, आर्मी टिम च्याम्पियन

२०८३ जेठ  २ गते १९:३३ २०८३ जेठ २ गते १९:३३
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता : प्रिन्स र रशिलालाई दोहोरो उपाधि, आर्मी टिम च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एपीएफका प्रिन्स दाहाल र नेपाल आर्मीकी रशिला महर्जनले ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सिंगल्स उपाधि जितेका छन् ।
  • प्रतियोगितामा आर्मीले ३ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको छ भने एपीएफले २ स्वर्ण जितेको छ ।
  • प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली गरी १० टिमका १ सय १५ खेलाडी प्रतिस्पर्धा गरेका थिए ।

२ जेठ, काठमाडौं । एपीएफका प्रिन्स दाहाल र नेपाल आर्मीकी रशिला महर्जनले ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् ।

प्रिन्स पुरुषतर्फ तथा रशिला महिलामा राष्ट्रिय च्याम्पियन बने ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष सिंगल्स फाइनलमा प्रिन्सले आर्मीका विधान अधिकारीलाई २१–१६, २१–३ को सोझो हराएर । प्रिन्स लगातार दोश्रोपटक राष्ट्रिय च्याम्पियन बनेका हुन् । २०७९ सालमा प्रिन्सले पहिलोपटक राष्ट्रिय उपाधि जितेका थिए । एपीएफका देवराज राणा र आर्मीका प्रफुल महर्जन तेश्रो भए ।

यसैगरी महिला सिंगल्सतर्फ रशिलाले तीनपटककी राष्ट्रिय च्याम्पियन नङ्शल तामाङलाई सोझो सेटमा २१–१८, २१–१८ ले हराइन् । रशिलाको यो तेश्रो उपाधि हो । यसअघि रशिलाले २०७६ र २०७९ मा उपाधि जितेकी थिइन् । आर्मीकै अमिता गिरी र रिहाना शेरचन तेश्रो बने ।

सिंगल्समा उपाधि जितेका प्रिन्स र रशिला दुवैले डबल्समा पनि स्वर्ण जिते ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला डबल्समा आर्मीका रशिला र अमिताको जोडी विजेता बने । उक्त जोडीले कोशी प्रदेशका रोजी राई र निसम सुब्बाको जोडीलाई २१–१७, २१–१७ को सेटमा पराजित गरे । कोशीका नङ्शल र भावनादेवी किडम तथा नेपाल प्रहरीका सीता राई र सुष्मा श्रेष्ठको जोडी तेश्रो स्थानमा रहे ।

पुरुष डबल्सको फाइनलमा एपीएफका प्रिन्स र देवराज राणाको जोडीले एपीएफकै भोजबहादुर गुरुङ र क्षितिज खनालको जोडीलाई २१–१०, २१–१८ को सेटमा हराए ।

नेपाल पुलिसका सुनिल जोशी र कविर केसी तथा बागमती प्रदेशका राजु गरन्जा र सुमन शाक्यको जोडी तेश्रो भए ।

मिक्स डबल्समा आर्मीका विधान र अमिताको जोडी पहिलो भए । प्रतिस्पर्धात्मक खेलमा उनीहरुले आर्मीकै प्रफुल र रशिलाको जोडीलाई २१–११, २०–२२, २१–१९ को सेटमा पराजित गरे । एपीएफका प्रिन्स र पूजा थाम्सुहाङ तथा प्रहरीका कविर केसी र सुष्मा श्रेष्ठको जोडी तेश्रो स्थानमा रहे ।

प्रतियोगितामा आर्मी ३ स्वर्ण जित्दै टिम च्याम्पियन बन्यो । आर्मीले १ लाख नगद पुरस्कार सहित टिम च्याम्पियनको ट्रफी प्राप्त गर्‍यो ।  ५ स्पर्धा समावेश प्रतियोगितामा एपीएफले २ स्वर्ण जित्यो । मिक्स डबल्सको फाइनलअघि नै आर्मी टिम च्याम्पियन बन्ने निश्चित थियो । प्रतियोगिताकै अन्तिम फाइनल स्पर्धा मिक्स डबल्स आर्मीकै खेलाडीबीच हुने तय भएकाले टिम च्याम्पियन बन्ने टिम उक्त खेल अगावै टुंगो लागेको हो । त्यसअघि चार स्पर्धाको फाइनलमा आर्मी र एपीएफले समान २–२ मा जित हात पारेका थिए ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्दराज वैद्य, महासचिव राजीव श्रेष्ठ र सदस्य लाक्पा छिरिङ लामा, आयोजक संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

चारदिने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली गरी १० टिमका १ सय १५ खेलाडी प्रतिस्पर्धा गरेको आयोजक संघका प्रवक्ता बेनुपराज खत्रीले जनाएका छन् ।

४२औं राष्ट्रिय ब्याडमिन्टन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय