वैज्ञानिकहरूले सूर्यको अत्यधिक तापका कारण एउटा रहस्यमयी क्षुद्रग्रह बिस्तारै टुक्रिँदै गइरहेको प्रमाण फेला पारेका छन् । क्यानडा, जापान, क्यालिफोर्निया र युरोपका स्वचालित ‘अल–स्काई क्यामेरा’ नेटवर्कहरूले संकलन गरेका लाखौँ तथ्याङ्कहरूको विश्लेषण गर्ने क्रममा २८२ वटा उल्कापिण्डको एउटा यस्तो नयाँ समूह फेला परेको छ । यसको सम्बन्ध सूर्यको निकै नजिक पुगेर क्षयीकरण भइरहेको एउटा अज्ञात क्षुद्रग्रहसँग जोडिएको छ।
अन्तरिक्षबाट साना चट्टानी कणहरू पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा घर्षणका कारण अत्यधिक तातेर चम्किलो रेखा बनाउँछन्, जसलाई मानिसले ‘तारा खसेको’ भन्ने गर्छन् र वैज्ञानिक भाषामा यसलाई उल्कापिण्ड भनिन्छ। धेरैजसो उल्कापिण्डहरू बरफ र धुलोले बनेका पुच्छ्रेताराबाट निस्कने गर्छन्।
तर, क्षुद्रग्रहहरू सामान्यतया सुख्खा र चट्टानी हुन्छन्। जब कुनै क्षुद्रग्रह सूर्यको तीव्र ताप, तीव्र परिक्रमा वा अन्य ठोक्काइका कारण ‘सक्रिय’ हुन्छ, तब त्यसले आफ्नो सतहबाट धुलो र चट्टानका टुक्राहरू अन्तरिक्षमा छोड्न थाल्छ। ती टुक्राहरू फैलाउँदै जाँदा एउटा निश्चित ‘उल्का धार’ बन्छ, र पृथ्वी उक्त मार्गबाट गुज्रिँदा उल्का वर्षा हुने गर्छ।
‘द एस्ट्रोफिजिकल जर्नल’ मा प्रकाशित यस नयाँ अध्ययनअनुसार फेला परेका २८२ उल्कापिण्डहरूको कक्ष निकै चरम पाइएको छ। यो मार्ग पृथ्वीको कक्षभन्दा सूर्यको पाँच गुणा बढी नजिक पर्दछ। वैज्ञानिकहरूका अनुसार सूर्यको अत्यधिक तातोले गर्दा उक्त क्षुद्रग्रहको सतहमा चिरा परिरहेको छ, जसका कारण भित्र थुनिएका ग्याँसहरू बाहिर निस्कँदै छन् र सिंगो आकाशीय पिण्ड बिस्तारै धुलोका कणहरूमा परिणत हुँदैछ। यस किसिमको व्यवहार देखाउने हुनाले वैज्ञानिकहरूले यसलाई ‘रक-कमेट’ (चट्टानी पुच्छ्रेतारा) को संज्ञा दिएका छन्। यसअघि प्रसिद्ध ‘३२०० फेटोन’ क्षुद्रग्रहमा मात्र यस्तो सक्रियता देखिएको थियो, जसका कारण हरेक वर्ष डिसेम्बरमा ‘जेमिनिड’ उल्का वर्षा हुने गर्छ।
हालसम्म यो उल्का वर्षा गराउने मुख्य माउ क्षुद्रग्रह कहाँ छ र कत्रो छ भन्ने कुरा पत्ता लाग्न सकेको छैन। यस्ता क्षुद्रग्रहहरू सूर्यको धेरै नजिक हुने र प्रकाशको चमकका कारण सामान्य दूरबीनबाट देख्न निकै कठिन हुन्छ। तर, उल्कापिण्डहरूको अध्ययनबाट साधारण टेलिस्कोपले ठम्याउन नसक्ने लुकेका र खतरनाक क्षुद्रग्रहहरूको उपस्थिति पत्ता लगाउन सकिन्छ।
वैज्ञानिकहरूका अनुसार सन् २०२७ मा प्रक्षेपण हुन लागेको नासाको ‘नियो सर्भेयर’ मिसनले यो रहस्य सुल्झाउन ठूलो मद्दत गर्नेछ। यो अन्तरिक्ष यान विशेष गरी सूर्यको नजिक यात्रा गर्ने र पृथ्वीका लागि घातक हुन सक्ने अँध्यारा क्षुद्रग्रहहरू पत्ता लगाउनका लागि डिजाइन गरिएको हो। यो खोजले सौर्यमण्डलको विकासक्रम बुझ्न मात्र नभई भविष्यमा पृथ्वीमा हुन सक्ने सम्भावित आकाशीय टक्करहरूबाट जोगिने ‘प्लानेटरी डिफेन्स’ को तयारीका लागि समेत मार्गप्रशस्त गरेको छ।
प्रतिक्रिया 4