+
लिग २ क्रिकेट :

नेपाललाई जितको लय कायमै राख्‍ने चुनौती

२०८३ जेठ  ३ गते १९:१२ २०८३ जेठ ३ गते १९:१२

पछिल्लो समय लयमा देखिएको स्कटल्यान्डलाई रोक्नु नेपालको मुख्य चुनौती हुनेछ भने महत्त्वपूर्ण २ अंक पनि हासिल गर्नुपर्नेछ । अमेरिकालाई हराएको नेपालले त्यही लय कायमै राखेर खेल्नुपर्नेछ ।

नेपाललाई जितको लय कायमै राख्‍ने चुनौती

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामाथि शनिबार पहिलो जित निकाल्यो।
  • नेपालले आगामी ४ जेठमा स्कटल्यान्डसँग दोस्रो खेल खेल्नेछ।
  • कुशल भुर्तेल र आसिफ शेखले ओपनिङमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जित दिलाए।

३ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा भइरहेको नेपाल, अमेरिका र स्कटल्यान्डबीचको शृङ्खलामा नेपालले शनिबार आफ्नो पहिलो जित निकाल्न सफल भयो ।

शनिबार नेपालले अमेरिकामाथि एकपक्षीय जित निकाल्दा यसअघिको कमजोरी नै सबैभन्दा बलियो बनेर आएको थियो । नेपालले अब यो लय आगामी खेलका लागि पनि निरन्तरता दिनुपर्नेछ, जब नेपालले सोमबार स्कटल्यान्डसँग शृङ्खलाको दोस्रो खेल खेल्नेछ ।

पहिलो खेलमा नेपाल संघर्षपूर्ण अवस्थाबाट जितको धेरै नजिक पुगेर २ रनले मात्र पराजित भएको थियो । आगामी खेलमा भने नेपाल त्यो भाग्य फेर्ने प्रयासमा हुनेछ, र नेपाललाई शनिबारको जितका कारण मनोबल पनि उच्च हुनेछ ।

स्कटल्यान्डले भने जारी शृङ्खलामा लगातार दुई जित निकालिसकेको छ । स्कटल्यान्डले नेपाल र अमेरिका दुवैलाई समान २ रनले पराजित गरेको थियो । यो दुई जितपछि स्कटल्यान्ड लिग २ अंकतालिकाको शीर्षस्थानमा पनि उक्लिसकेको छ ।

यस अर्थमा, पछिल्लो समय लयमा देखिएको स्कटल्यान्डलाई रोक्नु नेपालको मुख्य चुनौती हुनेछ भने महत्त्वपूर्ण २ अंक पनि हासिल गर्नुपर्नेछ । अमेरिकालाई हराएको नेपालले त्यही लय कायमै राखेर खेल्नुपर्नेछ ।

नेपालले पछिल्लो समय समान किसिमको लय कायम गर्न नसकिरहेको अवस्थामा अब अमेरिकासँगको जितबाट उच्च भएको मनोबलको सहयोगमा विनिङ मोमेन्टम कायमै राख्नुपर्ने हुन्छ ।

नेपालले घरेलु शृङ्खलामा भएका पछिल्ला ६ खेलमध्ये ४ खेलमा जित निकालेको छ । अब घरेलु मैदानमा बाँकी दुई खेलमध्ये दुवै खेल जितेर नेपाल अंकतालिकामा पनि माथि उक्लने प्रयासमा हुनेछ ।

शनिबारको जितका स्टार कुशल भुर्तेलले बाँकी दुई खेलका लागि ‘वान बाई वान’ जाने बताएका छन् । ‘हाम्रो प्लान त्यही नै छ, ब्याटिङ राम्रो गर्नुपर्‍यो । २८० सम्मको स्कोर चेज गर्नै पर्छ । सबै खेल महत्त्वपूर्ण छन् त्यही भएर योजना अनुसार खेल्नुपर्छ’ भुर्तेलले भने ।

ब्याटिङमा देखिएको आशा

नेपाली क्रिकेटमा लामो समयदेखि मुख्य समस्याका रूपमा रहँदै आएको ब्याटिङमा पनि अब फेरि नयाँ आशा देखिएको छ । शनिबार अमेरिकासँगको खेलमा भने कुशल भुर्तेल र आसिफ शेखको ओपनिङ जोडीले शानदार प्रदर्शन गरे ।

दुवै खेलाडी बीचमा टिमबाट ड्रप भएका थिए । आसिफ शेखले ओमानसँगको अघिल्लो शृङ्खलाको खेलमा नै मौका पाइसकेका थिए भने भुर्तेलले यस शृङंखलामा बल्ल पुनरागमनको मौका पाए ।

दुवै खेलाडीले पुनरागमन गरेको खेलमै आफूहरू निर्विकल्प रहेको जनाउ दिए पनि । आसिफले ओमानसँगको खेलमा ९४ रन बनाएका थिए भने अमेरिकासँग ५८ रन बनाए । भुर्तेलले त शतक नै बनाए । यी दुई खेलाडीले नेपालको ओपनिङ जोडीमा आफूहरू नै फिट रहेको संकेतसँगै ब्याटिङमा आत्मविश्वास बढेको कुरा पनि शनिबार देखाए ।

शनिबारको खेलपछि भुर्तेलले टप अर्डरलाई लयमा फर्काउँदा खुसी लागेको बताए । ‘टप अर्डरबाट राम्रो भइरहेको थिएन, आसिफ र मैले राम्रो स्टार्ट दिन पायौं त्यसमा नै खुसी लागेको छ’ भुर्तेलले शनिबारको खेलपछि भनेका थिए ।

यही किसिमको ओपनिङ ब्याटिङ हुन सके नेपालले आगामी खेलहरूमा पनि जितको आधार तय गर्न सक्छ । टप अर्डर चल्नाले मिडल अर्डरको दबाब पनि कम हुनेछ भने नेपालको ब्याटिङ पनि सन्तुलनमा आउनेछ ।

पछिल्लो लय र हेड टु हेड

लिग २ अंकतालिकामा हाल स्कटल्यान्ड शीर्षस्थानमा छ । स्कटल्यान्डको ३० खेलमा ३८ अंक छ । शृंखला सुरु हुनुअगाडि अमेरिका शीर्षमा भएपनि स्कटल्यान्डले लगातार दुई जित निकालेपछि अमेरिका शीर्षबाट दोस्रोमा झरेको हो ।

अमेरिका २६ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ । नेपाल भने २६ खेलमा २० अंकका साथ सातौं स्थानमा छ । अब एक जितले नेपाल अंकतालिकामा छैटौं स्थानमा पुग्नेछ ।

स्कटल्यान्डले जारी शृङ्खलामा लगातार दुई खेल जितेको छ । नेपालले एक जित र एक हारको नतिजा निकालेको छ । त्यसकारण पनि नेपालले स्कटल्यान्डको लयलाई तोड्नु चुनौती हुनेछ ।

स्कटल्यान्डसँग नेपालले ५ खेल जित्दा ५ खेलमा पराजित भएको छ । पछिल्लोपटक यी दुई टोली गत मंगलबार यही शृङ्खलाको पहिलो खेलमा खेलेका थिए जहाँ नेपाल २ रनले पराजित भएको थियो ।

त्यसअघि भने स्कटल्यान्डमै भएको लिग २ कै शृङ्खलामा खेलेका जहाँ नेपालले एक जित निकाल्दा एक खेलमा २ रनले नै पराजित भएको थियो ।

टिम कम्बिनेशन र सम्भावित ११

नेपालले अमेरिकासँगको खेलमा कुशल भुर्तेल र आसिफ शेखकै ‌‌ओपनिङ जोडीलाई खेलाउँदा यी दुईले शानदार प्रदर्शन गरे । नेपालले स्कटल्यान्डसँगको खेलका लागि त्यही प्लेइङ ११ खेलाउने सम्भावना देखिन्छ ।

पहिलोपटक ओडीआई टोलीमा परेका इशान पान्डेले अघिल्लो खेलमा डेब्यू गरे । उनले अब हुने खेलमा पनि खेल्ने पक्कापक्की छ । इशानको आगमनले मध्यक्रममा बाँयाहाते ब्याटिङ विकल्प थपिएको छ ।

स्कटल्यान्डले पहिलो खेलबाट दोस्रो खेलमा परिवर्तन गरेको थियो । कुनै खेलाडीमा अप्रत्याशित फिटनेस समस्या नभएमा नेपालसँग स्कटल्यान्डले पनि सोही टोली खेलाउने सम्भावना छ । दुवै टोलीले विनिङ टिमलाई नै निरन्तरता दिनेछन् ।

नेपालको सम्भावित ११ : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, कुशल भुर्तेल, इशान पान्डे, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी

स्कटल्यान्डको सम्भावित ११ : रिची बेरिङ्टन (कप्तान), जर्ज मन्से, फिनले म्याकरिथ, ब्रान्डन म्याकमुलेन, माइकल इङ्लिस, म्याथ्यु क्रस, माइकल लिस्क, मार्क वाट, शफिया शरिफ, ज्याक जार्भिस, ब्राड्ली करी

प्लेयर्स टु वाच

नेपालका लागि ब्याटिङमा कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीमाथि नजर रहनेछ । भुर्तेल राम्रो खेल्दा नेपालको जित्ने सम्भावना प्रबल हुन्छ, साथै उनको प्रदर्शनले नेपालको इनिङकै आधार तय गर्छ । अमेरिकासँगको खेलमा पनि उनले शतक प्रहार गर्दै नेपाललाई जित दिलाए ।

यस्तै दीपेन्द्र पछिल्लो समय लयमा छन् । उनले गत शृंखलामा शानदार प्रदर्शन गर्दै दुई अर्धशतक र एक शतक प्रहार गरेका थिए । स्कटल्यान्डसँगको खेलमा पनि अर्धशतक प्रहार गरेका उनी शानदार लयमा देखिएका छन् ।

यस्तै बलिङमा सन्दीप लामिछाने र सोमपाल कामीमा नजर रहनेछ । सन्दीपले गत साता भएको शृंखलामा ८ विकेट लिएका थिए भने स्कटल्यान्डसँगको पहिलो खेलमा ४ विकेट, अमेरिकासँग १ विकेट लिए । उनी ओडीआईमा १५० विकेटको नजिक छन् ।

यता स्कटल्यान्डका लागि जर्ज मन्से र ब्रान्डन म्याकमुलेन चम्किन सक्छन् । मन्सेले पावरप्लेमा आक्रामक सुरुवात दिलाउन सक्छन् भने म्याकमुलेनले मिडल ओभरमा राम्रो ब्याटिङ गर्न सक्छन् ।

बलिङमा मार्क वाट र ब्राड्ली करी दुई प्रमुख बलर हुनेछन् ।

खेल : नेपाल भर्सेस् स्कटल्यान्ड
मिति र समय : ४ जेठ, विहान ९:३०
मौसम : बादल

नेपाली क्रिकेट टोली लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय