News Summary
Generated by OK AI. Editorially reviewed.- मद्यपानले छिटो निदाउन मद्दत गर्छ तर निद्राको गुणस्तर बिगार्छ र बिहान छिटो ब्युझँने बनाउँछ।
मानिसको जीवनमा एउटा रोचक विरोधाभास छ । घरबाट केही दिन बाहिरका पेसागत, अफिसियल कार्यक्रम, भोजभतेर वा उत्सवहरूमा जाँदा पनि घरको जस्तो मस्त निन्द्रा लाग्दैन ।
बाहिर कामको चटारो कहिले कम त कहिले बढि होला । तर खानपिनमा स्वतन्त्रता हुन्छ र मनग्गे रमाइलो पनि हुन्छ । तर अचम्मको कुरा, ती ४–५ दिनको बसाइमा न त घरमा जस्तो गहिरो निद्रा लाग्छ, न बिहान अबेरसम्म सुत्न नै सकिन्छ । जब हामी घर फर्किन्छौँ, कामको बोझ उस्तै हुन्छ, तर आफ्नो ओछ्यानमा पुग्नेबित्तिकै हामी यसरी निदाउँछौँ कि बिहान अबेरसम्म पनि आँखा खुल्दैनन् ।
आखिर किन हुन्छ त यस्तो ? विज्ञान र मनोविज्ञानले यसका केही रोचक कारणहरू देखाएका छन् ।
१. ‘फर्स्ट नाइट इफेक्ट’ र मस्तिष्कको सर्तकता
मनोविज्ञानका अनुसार हाम्रो मस्तिष्कले नयाँ वातावरणलाई पूर्णरूपमा विश्वास गर्न समय लगाउँछ । घर बाहिर सुत्दा मस्तिष्कको एउटा हिस्सा (विशेष गरी दायाँ भाग सक्रिय हुनेहरूका लागि बायाँ मष्तिस्क) ‘नाइट वाचम्यान’ जस्तै सतर्क रहन्छ । यो हाम्रो सुरक्षा संयन्त्र हो । ४–५ दिनसम्म बस्दा पनि दिमागले त्यो ठाउँलाई आफ्नो ‘स्थायी सुरक्षित थलो’ मानिसकेको हुँदैन । त्यसैले गर्दा नयाँ ठाँउमा हाम्रो निद्रा पातलो हुन्छ ।
२. मद्यपान र निद्राको संरचना
रात्रीभोज र पार्टीहरूमा हुने मद्यपानले मस्त भएर सुतिने भान धेरैलाई हुन सक्छ । यर्थातमा मद्यपानले मानिसलाई छिटो निदाउन त मद्दत गर्ला, तर यसले निद्राको गुणस्तरलाई बिगार्छ । रक्सीले निद्राको सबैभन्दा महत्त्वपूर्ण चरण ‘र्यापिड आई मुभमेन्ट (आरईएम) स्लिप’ (जुन महत्वपूर्ण मानिन्छ र यसमा मस्तिष्क रिचार्ज हुन्छ) लाई खलबल्याउँछ । रक्सीको प्रभाव कम हुँदै गएपछि शरीरमा ‘रिबाउण्ड इफेक्ट’ हुन्छ । त्यसैले बिहान सबेरै ब्युझँने हुन्छ ।
३. ‘कर्टिसोल’ विरुद्ध ‘मेलाटोनिन’
कर्टिसोल र मेलाटोनिन दुवै हर्मोनहरू हुन । यी दुवैले निन्द्रालाई नियन्त्रण गर्न मद्दत गरिरहेको हुन्छ । घर बाहिर हुँदा हामी ‘सोसल मोड’ मा हुन्छौँ । नयाँ मान्छे, नयाँ कुराकानी र कार्यक्रमको उत्साहले शरीरमा ‘कर्टिसोल’ र ’एड्रिनालिन’ जस्ता हर्मोनहरू सक्रिय रहन्छन् । यसले शरीर थाकेको भए पनि दिमागलाई हाइपर–अलर्ट राखिदिन्छ । तर घर पुग्नेबित्तिकै दिमागले “अब म सुरक्षित छु“ भन्ने संकेत पाउँछ र ‘मेलाटोनिन’ हर्मोनले काम गर्न थाल्छ । त्यसैले घरमा गहिरो निद्रा लाग्छ ।
४. घर : जहाँ मस्तिष्कको ‘स्वीच अफ’ हुन्छ
हाम्रो आफ्नै ओछ्यान, सिरानी र कोठाको तापक्रमसँग हाम्रो जैविक घडी अभ्यस्त हुन्छ । घरमा हामी पूर्णरूपमा ‘स्वतन्त्र’ हुन्छौं । यहाँ कसैलाई प्रभाव पार्नु पर्ने वा समयमा तयार हुनुपर्ने सुक्ष्म सामाजिक दबाब हुँदैन । यो मानसिक ढुक्कपनाले नै बिहान अबेरसम्म सुत्ने अनुमति दिन्छ ।
५. रिकभरी जोन र पर्फर्मेन्स जोन
वास्तवमा हाम्रो शरीरले घरलाई ‘रिकभरी जोन’ (निको हुने ठाउँ) र बाहिरलाई ‘पर्फर्मेन्स जोन’ (प्रस्तुत हुने ठाउँ) को रूपमा वर्गीकरण गरेको हुन्छ । घर बाहिर हुँदा भएको शारीरिक थकान र ‘निद्राको ऋण’ घर फर्केपछि शरीरले एकैपटक तिर्न खोज्छ । त्यसैले घरमा बिहान अबेरसम्म निद्रा लाग्नु शरीरले आफूलाई रिचार्ज गर्ने एउटा प्राकृतिक उपचार प्रक्रिया हो ।
यदि तपाईंलाई पनि बाहिर निद्रा लाग्दैन र घरमा मस्त निद्रा लाग्छ भने, तपाईंको घर तपाईंको लागि संसारकै सबैभन्दा शान्त र सुरक्षित ’हिलिङ सेन्टर’ हो भनेर बुझ्नुपर्छ । घर बाहिरको रमाइलो शरीरका लागि एउटा अनुभव हो भने घरको निद्रा जीवनका लागि अनिवार्य ऊर्जा दिने रिचार्ज सेन्टर हो ।
प्रतिक्रिया 4