+

कानमा इयरबड्स लगाएर सुत्दा के हुन्छ ?

२०८३ जेठ  ४ गते १५:१८ २०८३ जेठ ४ गते १५:१८
कानमा इयरबड्स लगाएर सुत्दा के हुन्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रातभर इयरबड्स लगाएर सुत्दा कानभित्र ओस थुनिएर ब्याक्टेरिया बढ्ने र संक्रमण हुने जोखिम हुन्छ।

अहिले धेरैले राति सुत्ने बेला कानमा इयरबड्स हालेर संगीत, पोडकास्ट वा ह्वाइट नोइज सुन्ने गर्छन् । बाहिरको हो–हल्ला, पार्टनरको घुर्ने बानी वा मनमा खेलिरहेका अनगिन्ती कुराहरूलाई शान्त पार्न धेरैले यस्तो गर्ने गर्छन् ।

तर, रातभर कानमा इयरबड्स लगाएर सुत्नु पूर्णरूपमा सुरक्षित छ त ? यसले कानमा कस्तो असर पुर्‍याउन सक्छ ?

१. इयरबड्सले ओस थुन्न सक्छ

हाम्रो कानको प्वालको काम आवाज भित्र छिराउने त हो नै, सँगै कानभित्रको ओस अर्थात् मोइस्जरलाई बाहिर निकाल्ने पनि हो । यसका लागि कान खुला हुनुपर्छ । तर, कानलाई पुरै टम्म पार्ने इयरबड्स प्रयोग गर्दा कान भित्रको ओस बाहिर निस्कन पाउँदैन । यसले गर्दा कान भित्र ब्याक्टेरिया मौलाउने वातावरण बन्छ । र कानको संक्रमण हुने जोखिम बढ्छ ।

यदि तपाईं राति नुहाउनुहुन्छ भने कानमा पानी जमेको हुन सक्छ । सुत्नुअघि हेयर ड्रायरलाई कम गतिमा टाढैबाट चलाएर कान सुकाउन सक्नुहुन्छ। यदि कान चिलाउने, दुख्ने वा गन्हाउने पानी बग्ने भएमा चिकित्सकलाई तुरुन्त सम्पर्क गर्नुपर्छ ।

२. कानको जाली र कानेगुजीमा असर

कानको आफ्नै सफा हुने प्राकृतिक प्रक्रिया हुन्छ । तर, रातभर इयरबड्स लगाइ राख्दा कानेगुजी बाहिर निस्कन पाउँदैन र उल्टै भित्रतिर धकेलिन्छ । यदि इयरबड्सको टुपोमा कानेगुजी टाँसिएको देख्नुहुन्छ भने यसले कानेगुजी भित्रै जम्मा भइरहेको संकेत गर्छ ।

दिउँसो कान कम सुन्ने, कान भरिएको वा भारी महसुस हुने, चिलाउने वा कान कराउने भएमा डाक्टरलाई देखाएर कान सफा गराउनुपर्छ ।

३. छाला चिलाउने र एलर्जी हुने खतरा

लामो समयसम्म र हरेक रात इयरबड्स लगाउँदा यसको सामग्रीका कारण कानको भित्री छाला चिलाउने वा एलर्जी हुने समस्या हुन सक्छ । छाला च्यातिएमा वा चिलाएर कन्याउँदा संक्रमणको खतरा अझ बढेर जान्छ।

तर यस्ता समस्या हुन नदिन हामीले केही उपायहरू अपनाउन सक्छौं ।

सबैभन्दा राम्रो उपाय भनेको ‍आवाजको मात्रा कम गर्नु हो ।

लामो समयसम्म ठूलो आवाजमा संगीत सुन्दा कान कहिल्यै निको नहुने गरी बिग्रन सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार हामीले सामान्य कुराकानी गर्दा निस्कने ६० देखि ७० डेसिबलसम्मको आवाज कानका लागि सुरक्षित हुन्छ । तर, ८० डेसिबल वा त्योभन्दा बढीको आवाज हप्तामा ४० घण्टाभन्दा बढी सुनेमा कानको सुन्ने शक्ति कमजोर हुन्छ ।

यसैले सुत्ने बेला आवाज एकदमै कम राख्नुपर्छ । कतिपय मोबाइलमा डेसिबल नाप्ने र नियन्त्रण गर्ने प्रविधि हुन्छ, त्यसको प्रयोग गर्न सकिन्छ ।

त्यस्तै सुत्ने बेला धेरै ठूलो आवाजमा सुन्नु वा बाहिरको आवाज पूरै ठप्प पार्ने इयरबड्स लगाउनु खतरनाक हुन सक्छ । यसले गर्दा राति कुनै समस्या भएर कसैले बोलाएमा, घरको घण्टी बजाएमा वा बिहान उठ्ने आलार्म राखिएको छ भने त्यो नसन्न सकिन्छ ।

सुरक्षित रूपमा सुत्नका लागि अन्य विकल्पहरू

यदि तपाईंलाई सुत्नका लागि गीत/संगीत सुन्नै छ भने यी सुरक्षित विकल्पहरू अपनाउन सक्नुहुन्छ:

खुला खालका इयरबड्स

कानको प्वाललाई पुरै सिल वा बन्द नगर्ने खालका इयरबड्स किन्ने

हेडब्यान्ड वा हेडफोन

कानको भित्र नपस्ने खालका सफ्ट हेडब्यान्ड वा हेडफोन प्रयोग गर्ने, यसले हावा ओहोरदोहोर हुन दिन्छ र ओस जम्न पाउँदैन।

सिरानी भित्र स्पिकर राख्ने

सानो र चेप्टो खालको स्पिकर सिरानीको खोलभित्र राखेर सुन्न सकिन्छ । जसले गर्दा कानलाई पनि असर गर्दैन । कोठामा सुत्ने अरू मानिसलाई पनि बाधा हुँदैन ।

इयरबड्स कान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय