News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित निसेलुङ पार्कमा राउटे समुदायका १९ सदस्यलाई टहरा बनाइ राखिएको छ।
- याक्थुङ भिलेजले राउटे समुदायलाई हेर्न प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकेको छ, जुन व्यवस्थापन खर्चमा प्रयोग हुने बताइएको छ।
- राउटे समुदायको गोपनीयता हनन र मानवीय संवेदनामा खेलवाड भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
४ जेठ, विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका– ३ स्थित निसेलुङ पार्कमा एक जना पाका पुरुषलाई बुम बोकेका युवकले सोध्छन्, कस्तो लाग्यो ? ती व्यक्ति भन्छन्– ‘मलाई एउटी त मन पर्यो ।’
जवाफबाट उत्साहित प्रश्नकर्ताले ‘ए होइ’ भन्दै फेरि सोध्छन्, ‘कति वर्ष पुग्नु भयो ?’
‘भर्खर ३५ वर्ष,’ हेर्दा बृद्धभत्ता खाने उमेरका पाका पुरुषले जवाफ दिन्छन् ।
‘एउटी चाहिँ मन परिसक्यो रे ! उहाँलाई यतै राख्ने रे उ त्यहाँ नेरी जग्गा किनेर’ प्रश्नकर्ता भन्छन् ।
ती पुरुष प्रश्नकर्तासँग हो मा हो मिलाउँछन् ।
यी दुई जनाबीच संवाद नजिकै रहेका राउटे समुदायकी युवतीप्रति लक्षित थियो ।
यति मात्रै होइन्, मिक्लाजुङमा राउटेका लागि बनाइएको टहरासम्म पुगेर व्यक्तिगत गोपनीयताको प्रश्न पनि सोधिरहेको देखिन्छ ।
कर्णाली प्रदेशका जंगलमा फिरन्ते जीवन बिताइरहेका राउटेहरू यसअघि चितवनसम्म पुगेका थिए । राउटे समुदायलाई याक्थुङ भिलेजले राउटेको क्षेत्रमा काम गर्दै आएको संस्था सोसेक नेपालको सहकार्यमा पूर्व ल्याइएको हो ।

त्यहाँ ८ महिला ११ पुरुष छन् । उनीहरूलाई बस्नका लागि टहरा बनाइएको छ । टहरालाई डोरीले घेरेर राखिएको छ ।
पूर्व आएका राउटे समूदायलाई हेर्नका लागि याक्थुङ भिलेजले प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकेको छ । यसअघि सो स्थान प्रवेशका लागि १०० रुपैयाँ शुल्क तोकिएको थियो ।
राउटे ल्याइएपछि १०० रुपैयाँ थप गरिएको याक्थुङ भिलेजका सञ्चालक अशोक चेम्जोङले बताए । सो शुल्क राउटेहरूको व्यवस्थापन, आवतजावत र बसोबास खर्चका लागि प्रयोग गरिने उनले बताए । उनका अनुसार राउटेका नाममा नेपालमै पहिलो पटक मेला आयोजना गरिएको हो ।
निशेलुङ पार्कमा आयोजना गरिएको ‘एक घुमन्ते सभ्यता, लोपोन्मुख राउटे जाति मेला’ ले एकातर्फ पर्यटकीय चहलपहल बढाएको छ । अर्कोतिर सामाजिक संवेदनशीलता र मानवीय मर्यादाको विषयमा गम्भीर प्रश्न पनि उठेको छ ।
राउटेहरू पुगेसँगै टिकटक र युट्युब बनाउनेहरूको भिड लाग्ने गरेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियोहरूमा राउटे समुदायको संवेदनशीलता र मर्यादामाथि प्रहार भएको देखिन्छ ।

राउटेहरूको टहराभित्रै पसेर व्यक्तिगत प्रश्न सोध्ने कार्यले उनीहरूको गोपनीयताको हनन भएको छ । जसले गर्दा लोपउन्मुख समुदायको संवेदनशीलतालाई व्यापारिक स्वार्थका लागि प्रयोग भएको भन्दै आलोचना भइरहेको छ । आयोजक संस्थाले आचारसंहिता जारी गरेपनि पालना भइरहेको सञ्चालक चेम्जोङले बताए ।
लामो समयदेखि राउटेको क्षेत्रमा काम गर्दै आएका पत्रकार नगेन्द्र उपाध्यायका अनुसार यो उनीहरूको पहिलो औपचारिक पूर्व यात्रा हो । ‘मेला महोत्सवमा राउटेहरू जानु नयाँ कुरा होइन, तर पूर्वमा यो पहिलो हो,’उनले भने,‘ पहिले चितवनसम्म पुगेका थिए ।’
राउटे समुदायको सामाजिक पहिचानमा भने प्रहार भइरहेको उनले बताए । ‘उहाँहरू एकै ठाउँमा बस्दैनन्, सरी रहन्छन्, यहाँ पनि बसेका ठाउँमा फोटो भिडियो खिच्नेहरुको भिड लाग्छ,’ उनले भने,‘ त्यसरी आउनेले पैसा र खानेकुरा पनि दिन्छन् ।’
राउटेहरूको आगमनले मिक्लाजुङको पहाडी क्षेत्रमा भने आर्थिक चहलपहल बढेको छ । आयोजकका अनुसार दैनिक ४ देखि ५ हजार मानिस मेला हेर्न पुग्ने गरेका छन् ।
मिक्लाजुङको रमिते र धोबेनी क्षेत्रका होटल र पसलहरूमा दैनिक लाखौँको कारोबार भइरहेको छ । राउटेहरूले आफूले बनाएका काठका सामग्रीहरू बिक्री गरेर पनि अतिरिक्त आम्दानी गरिरहेका छन् ।
राउटे महिलाहरूले पर्फ्युम प्रयोग गर्न रुचि देखाएका छन् भने उनीहरूलाई अरूले जस्तो खाना पकाउन समेत सिकाइएको याक्थुङ भिलेजको सञ्चालक चेम्जोङले बताए ।
नेपालमा राउटेको जनसंख्या १३३ छ । यो समुदायको आफ्नै मौलिक नियम र संस्कार छ । उनीहरूको टोलीमा कोही बिरामी भए वा मृत्यु भएमा तत्काल ठाउँ छोड्ने परम्परा छ ।

लोपोन्मुख जातिको पहिचान र संस्कृतिलाई चिनाउने नाममा उनीहरूको मानवीय संवेदनालाई व्यापारिक वस्तु बनाइनु हुँदैन सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
‘अहिले मोरङको मिक्लाजुङमा राउटे समुदायको प्रदर्शनी चलिरहेको छ । यो कुनै हालतमा उचित होइन,’ शिक्षक विश्वसिंह मेवाहाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै पनि समुदायको आफ्नो निजी संस्कार र परम्परा हुन्छ । यसलाई प्रदर्शनी गर्नु र सस्तो प्रचारबाजी गर्नु गैरकानुनी हो ।’
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल मानवीय संवेदनमाथि खेलवाड गर्न नहुने बताउँछन् । शुल्क लिएर मेला आयोजना गरिएको विषयमा उनले स्वीकृत गरे वा नगरेको भन्ने बुझेर प्रक्रिया अघि बढाउने बताए ।
‘यसरी मेला आयोजना गर्दा प्रवेश शुल्क स्वीकृत हुनुपर्छ’, उनले भने, ‘व्यक्ति वा राउटे समुदायको स्वीकृतमा आयआर्जनका लागि गरिएको कुरा भए फरक कुरा हो, तर, त्यसरी गर्दा लिने शुल्कका बारेमा स्वीकृति लिनुपर्छ ।’
तस्वीर साैजन्य : प्रेम देवान
प्रतिक्रिया 4