News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डलाई ४ जेठमा त्रिवि क्रिकेट मैदानमा पराजित गर्यो।
- लेग स्पिनर सन्दीप लामिछानेले ७३ ओडीआईमा १५० विकेट लिएर सबैभन्दा छिटो १५० विकेट लिने बलरको कीर्तिमान बनाएका छन्।
- नेपालले सातौं स्थानबाट पाँचौं स्थानमा उक्लिँदै २७ खेलबाट २२ अंक जोडेको छ भने स्कटल्यान्ड शीर्ष स्थानमा छ।
४ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई पराजित गर्यो । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्ड विरुद्ध नेपालको बलिङ र ब्याटिङ दुवै चम्कियो ।
नेपालले स्कटल्यान्डसँग जित मात्रै निकालेन, यसअघिको २ रनको हारको बदलासमेत लियो । गत मंगलबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग डीएलएस मेथडअनुसार २ रनले पराजित भएको थियो ।
खराब फर्ममा रहेका कप्तान रोहित पौडेल र लगातार विकेटविहीन बनेका ललित राजवंशीले यो खेलमा जित निकाल्दा महत्वपूर्ण भूमिका खेले । विकेटविहीन बनेका ललित स्कटल्यान्डविरुद्ध हावी हुँदै ४ विकेट लिए । उनले ८ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए, जसले स्कटल्यान्डलाई १९४ रनमै रोक्न महत्वपूर्ण भूमिका खेल्यो ।
पछिल्ला ९ ओडीआईमा ललितले २ विकेट लिएका थिए । अर्का स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिँदै स्कटल्यान्डलाई दबाबमा राखे । १२६ रन जोड्दा ३ विकेट गुमाएको स्कटल्यान्डले थप ६८ रन जोड्दा ७ विकेट गुमाउन पुग्यो । सोमपाल कामी, नन्दन यादव र दीपेन्द्रसिं ऐरीले पनि एक-एक विकेट लिए ।
नेपालले ब्याटिङमा आशलाग्दो प्रदर्शन गर्यो । पछिल्लो खेलमा उत्कृष्ट ओपनिङ साझेदारी गरेका कुशल भुर्तेल र आसिफ शेखले यस खेलमा पनि निरन्तरता दिए ।

उनीहरूले पहिलो विकेटका लागि ६.४ ओभरमा ५८ रनको साझेदारी गरे । कुशल २७ मा २८ र आसिफ १७ मा २९ रन बनाएर आउट भए । त्यसपछि नेपालको ब्याटिङ रोहित र इशान पाण्डेले सम्हाले । उनीहरूले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे । जसले नेपाललाई जितको बाटो देखायो ।
लगातार खराब प्रदर्शन गरिरहेका कप्तान रोहितले स्कटल्यान्डविरुद्ध सम्हालिएर ब्याटिङ गरे । उनी ९८ बलमा ७४ बनाउँदै अविजित रहे । रोहितसँग साझेदारी गरेका इशानले पहिलो अर्धशतक प्रहार गरे । उनी ६१ बलमा ५५ रन बनाएर आउट भए । उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा आारिफ शेखले २३ बलमा ८ रन बनाएर रोहितलाई साथ दिए ।
शीर्ष स्थानको स्कटल्यान्डविरुद्धको खेलअघि सातौं स्थानमा रहेको नेपाल यो जितपछि दुई स्थान फड्को मार्दै पाँचौं स्थानमा उक्लिएको छ । २७ खेल खेलेको नेपालले २२ जोडेको छ । २८ खेल खेलको नामिबिया समान २२ अंकसहित रनरेटमा पछि पर्दै छैटौं स्थानमा छ । २४ खेलबाट २१ अंक जोडेको क्यानडा सातौं र २४ खेलबाट १४ अंक जोडेको युएई अंक तालिकाको पुछारमा छ ।
पराजित भएपनि स्कटल्यान्ड ३१ खेलबाट ३८ अंक जोड्दै पहिलो स्थानमै छ । अमेरिका २६ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ । ओमन २८ खेलबाट ३१ अंक जोड्दै तेस्रो र २४ खेलबाट २८ अंक जोड्दै नेदरल्याण्ड्स चौथो स्थानमा छ ।
सन्दीपलाई ऐतिहासिक सफलता

लेग स्पीनर सन्दीप लामिछानेले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट बलरको कीर्तिमान आजकै खेलमा बनाए । उनले स्कटल्यान्ड विरुद्ध २ विकेट लिएसँगै उक्त कीर्तिमान बनेको हो ।
सन्दीपले ७३ ओडीआईमा १५० विकेट लिँदै उक्त कीर्तिमान बनाएका हुन् । यसअघि उक्त कीर्तिमा अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो । उनले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए ।
ओडीआईमा सबैभन्दा छिटो सय विकेट लिने बलरको कीर्तिमान पनि सन्दीपकै नाममा छ । उनले ४२ खेलमै उक्त कीर्तिमान बनाएका हुन् ।
सबैको साथले रेकर्ड बनाउन सम्भव भएको बताउँछन् । ‘पहिलो दिन टीयु इन्टरनेशनल क्रिकेट मैदानमा पाइला टिक्दा एउटा सपना देखेको थिए, राम्रो गर्ने देशका लागि । आज यहाँसम्मको यात्रामा रेकर्ड आउनु भनेको तपाईं राम्रो मन, राम्रो तरिकाले अगाडि बढनु हुन्छ भने सबै कुराहरु मिल्दै जान्छ । बयान गर्न सकिँदैन । यसमा धेरैजनाको हात छ’ उनले भने ।
लिग–२ सिरिजअन्तर्गतको पछिल्ला खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । उनले पछिल्ला ७ खेलमा मात्रै १६ विकेट लिइसकेका छन् ।
सन्दीप लिग–२ मा सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो नम्बरमा छन् । सन्दीपले २१ खेलबाट ३९ विकेट लिएका छन् । ओमानका शकील अहमद २२ खेलबाट ४९ र नामिबियाका बनार्ड स्कोल्ज २६ खेलबाट ४५ विकेट लिँदै क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।
तस्वीरहरू : विकास श्रेष्ठ





प्रतिक्रिया 4