+
+
Shares

शकिराको पक्षमा अदालतको फैसला, असुल गरिएको ५५ मिलियन युरो फिर्ता गर्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १३:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनको राष्ट्रिय उच्च अदालतले गायिका शाकिरालाई कर छली आरोपबाट सफाइ दिँदै ५५ मिलियन युरो फिर्ता गर्न कर निकायलाई आदेश दिएको छ।
  • अदालतले सन् २०११ मा शाकिरा स्पेनमा १६३ दिन मात्र बसेको प्रमाणित गर्दै करदाताको हैसियत नदिने निर्णय गरेको छ।
  • कर निकायले निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने जनाएको छ र अन्तिम फैसला नआएसम्म रकम भुक्तानी नहुने बताइएको छ।

स्पेनको एक अदालतले चर्चित गायिका शकिरालाई कर विवादमा असुल गरिएको करिब ५५ मिलियन युरो (झण्डै ५० मिलियन पाउण्ड) फिर्ता गर्न त्यहाँको कर निकायलाई आदेश दिएको छ ।

स्पेनको राष्ट्रिय उच्च अदालतले शाकिरामाथि लगाइएको कर छलीको आरोपबाट सफाइ दिँदै ब्याजसहित रकम फिर्ता गर्न आदेश दिएको हो । अदालतले सन् २०११ मा उनी स्पेनमा १८३ दिन बसेको प्रमाण कर निकायले पेश गर्न नसकेको उल्लेख गरेको छ ।

स्पेनको कानुनअनुसार कुनै व्यक्तिले वर्षमा कम्तीमा १८३ दिन बसेपछि मात्र त्यहाँको स्थायी करदाताको हैसियत प्राप्त गर्छ ।
अदालतका अनुसार शाकिरा उक्त वर्ष १६३ दिन मात्रै स्पेनमा बसेकी थिइन्, जुन आवश्यक समयभन्दा २० दिन कम हो । त्यसैले उनलाई स्पेनको करदाताको रूपमा गणना गर्न नमिल्ने अदालतको ठहर छ ।

निर्णयपछि शाकिराले आठ वर्षसम्म आफूले सार्वजनिक रूपमा अपमान, प्रतिष्ठामाथिको आक्रमण र मानसिक तनाव सहनुपरेको बताएकी छन् । उनले अदालतले “अन्ततः सत्यलाई सही ढंगले स्थापित गरेको” प्रतिक्रिया दिएकी छन् ।

फिर्ता गरिनुपर्ने रकममा करिब २४ मिलियन युरो आयकर र झण्डै २५ मिलियन युरो जरिवाना समावेश छ । कर निकायले भने यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने जनाएको छ । अन्तिम फैसला नआएसम्म रकम भुक्तानी नहुने पनि बताइएको छ ।

४९ वर्षीया शाकिरा पूर्व स्पेनी फुटबलर जेरार्ड पिकेसँग एक दशकभन्दा बढी समय सम्बन्धमा रहेकी थिइन् । उनीहरू सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको आधिकारिक गीत ‘वाका वाका’ को भिडियो छायांकनका क्रममा भेटिएको बताइन्छ ।

यो विवाद सन् २०११ को कर वर्षसँग मात्र सम्बन्धित रहेको अदालतले स्पष्ट पारेको छ । त्यसपछिका वर्षहरू यस मुद्दामा समावेश छैनन् ।

यसअघि पनि शाकिरामाथि स्पेनको कर निकायले विभिन्न मुद्दा दायर गरेको थियो । सन् २०२३ मा उनले सन् २०१२ देखि २०१४ सम्मको अर्को कर मुद्दा मिलापत्रमार्फत टुंग्याएकी थिइन् । त्यसक्रममा उनले ७.५ मिलियन युरो जरिवाना तिरेकी थिइन्, यद्यपि आफूले कुनै गल्ती नगरेको दाबी गर्दै आएकी थिइन् ।

अभियोजन पक्षले दोषी ठहर भए उनलाई आठ वर्ष जेल सजाय र २३.८ मिलियन युरो जरिवाना माग गरेको थियो । शाकिराले भने त्यो निर्णय आफ्ना सन्तानको हितलाई ध्यानमा राखेर गरेको बताएकी थिइन् ।

सन् २०२४ मा पनि स्पेनी अदालतले सन् २०१८ को कर भुक्तानीबारे भइरहेको अर्को अनुसन्धान “पर्याप्त प्रमाण नभएको” भन्दै बन्द गरेको थियो । अहिले शाकिरा आफ्नो ‘वुमन डोन्ट क्राइ एनीमोर’ विश्व भ्रमणको अन्तिम चरणमा छिन् । सेप्टेम्बरदेखि उनले म्याड्रिडमा विशेष प्रस्तुति दिने कार्यक्रम छ ।

हालै रियो दि जेनेरियोको कोपाकाबाना समुद्री किनारमा भएको उनको निःशुल्क कन्सर्ट हेर्न करिब २० लाख दर्शक पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?