News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले २०७९ असार ७ गते पहिलो महाधिवेशन सुरु गर्दै निर्वाचित समिति चयन गर्नेछ।
- सभापति रवि लामिछाने निर्विकल्प सभापति हुने नेताहरूले बताएका छन्।
- महाधिवेशनमा उपसभापति, महामन्त्री लगायत पदाधिकारी पदका लागि विभिन्न नेताहरूले आकांक्षा देखाएका छन्।
५ जेठ, काठमाडौं । पार्टी गठन भएको चारवर्ष पछि पहिलो महाधिवेशन गर्न लागेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मूल नेतृत्व सहित पदाधिकारीमा आउने व्यक्तिसँगै आकांक्षीहरुप्रति चासो सुरु हुन थालेको छ ।
२०७९ असार ७ गते पार्टी स्थापना दिवसको अवसर पारेर प्रथम महाधिवेशन सुरु गर्दैछ ।
रास्वपा विगत ४७ महिनादेखि तदर्थ समितिमा सञ्चालित छ । अब हुने प्रथम महाधिवेशबाट रास्वपाले निर्वाचित समिति ल्याउने छ ।
पहिलो महाधिवेशनबाट निर्वाचित भई पदाधिकारी हुने चाहना सहित पदका लागि नेताहरूले आकांक्षा देखाउन थालेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलमा महाधिवेशन आउन धेरै समय बाँकी रहँदै नेताहरूले औपचारिक र अनौपचारिक रूपमा पदको आकांक्षा व्यक्त गर्ने प्रचलन छ ।
चार वर्षे यात्रा तय गरिसकेको रास्वपामा भने कांग्रेस र एमालेकै जस्तै प्रचलन छैन । नयाँ समितिमा आउने इच्छा भएका नेताहरूले आफ्नो आकांक्षा भने औपचारिक रूपमा खुलाउन चाहेका छैनन् ।
अनौपचारिक कुराकानीको क्रममा नेताहरूले आसन्न महाधिवेशनमा पदाधिकारीमा आकांक्षा राख्ने नेताहरूबारे जानकारी गराएका छन् ।
नेताहरूका अनुसार सभापतिमा रवि लामिछाने निर्विकल्प हुन् । उनीहरूका अनुसार पार्टी संस्थापक सभापति रविलाई टक्कर दिने गरी वा उनीसँग प्रतिस्पर्धा गर्ने गरी हिम्मत जुटाएर निर्वाचनमा जान चाहने अर्को कुनै व्यक्ति हुने छैन ।
सभापति पदमा रविकै निरन्तरता हुनेबारे उनी जेलमै रहेको बेला नेताहरूले कार्यकर्तालाई आश्वस्त पारेका थिए ।

अघिल्लो जेठमै उपसभापति डा. स्वर्णिम वाग्लेले महाधिवेशनबाट रवि नै सभापति बन्ने बताएका थिए ।
गत जेठको २४ गते स्याङ्जामा बोल्ने क्रममा उपसभापति वाग्लेले भनेका थिए, ‘आगामी महाधिवेशनबाट पार्टी सभापति लामिछाने नै हो । रवि लामिछानेलाई यिनिहरूले कारागारमा राखे पनि हाम्रो पार्टी सभापति रवि लामिछाने नै हो ।’
जेनजी आन्दोलनपछि परिस्थिति फरक निर्माण भयो । रास्वपा सभपाति रवि जेलमुक्त भए । सभापति रवि जेलमै रहेको बेला उनले पार्टीको नेतृत्व छोड्नुपर्ने मतहरू आएपनि पार्टीका शीर्ष तहमा रहेका नेताहरू उनलाई पदमुक्त गराउन नहुने पक्षमै अडिग थिए ।
कुलमान घिसिङसँग एकता वार्ता हुँदा उनी रास्वपाको सभापति नै हुने गरी एकता गर्ने अडान राखेपछि उनको प्रस्ताव उपसभापति वाग्लेले अस्वीकार गरेका थिए ।
पार्टी गठन गरी सकसपूर्ण राजनीतिक जीवन पार गरेको र दललाई पहिलो पार्टी बनाएको श्रेय सभापतिलाई जाने बताउँदै शीर्ष तहका एक नेताले अनलाइनखबरसँग भने,‘महाधिवेशनबाट रविजी निर्विकल्प सभापति हो । पार्टी स्थापना गरेर यो अवस्थासम्म ल्याई पुर्याउनेसँग प्रतिस्पर्धा गर्ने आँट अरू कसैको हुँदैन ।’
नेताहरूका अनुसार वरिष्ठ नेतामा निरन्तरता प्रधानमन्त्री बालेन्द्र शाहले नै पाउने छन् । यद्यपि, रास्वपाको विधानमा वरिष्ठ नेताको व्यवस्था भने छैन ।

विधान संशोधन गरेर वा राजनीतिक निर्णयका आधारमा बालेन्द्रलाई सभापति पछिको वरियता हुने गरी वरिष्ठ नेताको पदमा निरन्तरता दिने नेताहरूले जानकारी गराएका छन् ।
रास्वपा र बालेन्द्र पक्षको एकता सहमतिमा राजनीतिक निर्णयका आाधारमा वरिष्ठ नेताको पद सिर्जना गरिएको थियो ।
उपसभापतिमा स्वर्णिम स्वाभाविक प्रत्यासी, अरू दुई को–को ?
रास्वपाको विधान अनुसार उपसभापतिमा एक महिला सहित तीन जना हुने व्यवस्था छ । हाल उपसभापतिमा अर्थमन्त्री समेत रहेका डा. वाग्ले मात्रै छन् । अर्का उपसभापति डीपी अर्याल सभामुख बनेका छन् ।
महाधिवेशनले तीन उपसभापति चयन गर्नुपर्ने हुन्छ । उपसभापतिका लागि स्वाभाविक उम्मेदवारमा अहिले त्यही पदमा रहेका वाग्ले छन् ।

नेताहरूका अनुसार उपसभापति पदका अन्य आकांक्षीमा लीमा अधिकारी, प्रतिभा रावल, सोविता गौतम, गणेश पराजुली, समीक्षा बाँस्कोटा, भरतमणि देवकोटा लगायत हुन् ।
अधिकारी, रावल, गौतम र पराजुली सचिवालय सदस्य हुन् । अधिकारी पार्टी कोषाध्यक्ष छन् भने रावल सह–प्रवक्ता समेत हुन् ।

रावल र गौतम बहालवाला मन्त्री हुन् । पराजुली संसद्मा रास्वपा दलको उपनेताको जिम्मेवारीमा छन् ।
अनुशासन आयोगका पूर्वसंयोजक रहेका भरतमणि देवकोटा केही समय रास्वपामा निष्क्रिय रहेका थिए । पछिल्लो समय भने उनी पुनः रास्वपामा क्रियाशील हुन लागेको नेताहरूले जानकारी गराएका छन् ।
सभापति रवि दोस्रोपटक गृहमन्त्री हुँदा विज्ञ सल्लाहकारको भूमिकामा देवकोटा थिए । अनुशासन आयोगको पूर्व संयोजक, अन्तराष्ट्रिय संघ संस्थामा काम गरेको अनुभव, विगतमा सभापतिको विज्ञ सल्लाहकार लगायतका कारणले सभापतिले उपसभापतिको रुचिमा उपसभापति पदमा देवकोटा रहेको एक नेताले दाबी गरे । उनी भन्छन्,‘सुशासनमा काम गरेको र अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट पिएचडी प्राप्त गरेको व्यक्तिलाई स्थान दिने सभापतिको चाहना होला ।’
देवकोटा केही समय रास्वपामा निष्क्रिय रहनुमा रविको कारण नभई सभापतिकै निकट भनिएका दुई व्यक्ति कारण रहेको ती नेताले दाबी गरे ।
दुई महामन्त्री पदमा उल्लेख्य आकांक्षी
रास्वपाको विधानमा महामन्त्री पदमा एक जना हुने व्यवस्था छ । हाल कविन्द्र बुर्लाकोटी र भूपदेव शाह उक्त पदमा छन् ।
बालेन्द्र शाह पक्षबाट एक जनालाई महामन्त्री बनाउने अलिखित सहमतिको आधारमा उनी पक्षबाट भूपदेवलाई महामन्त्री बनाइएको नेताहरूले जानकारी गराएका छन् ।
सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा बनेको विधान संशोधन समितिले महामन्त्री पदसहित अन्य व्यवस्थामा संशोधनको मस्यौदा तयार गर्ने भएको छ ।
रास्वपाका नेताहरूका अनुसार महामन्त्री पदमा कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिन आचार्य, शिशिर खनाल, मनिष झा, प्रमोद न्यौपाने, यज्ञमणि न्यौपाने, सुनिल लम्साल लगायत आकांक्षी हुन् ।
बुर्लाकोटी रास्वपाको संस्थापक सहमहामन्त्री हुन् । पूर्व महामन्त्री डा. मुकुल ढकाललाई पार्टीले हटाएको केही समय पश्चात् बुर्लाकोटी महामन्त्री बनेका थिए । बुर्लाकोटी हाल रास्वपाको संसदीय दलमा प्रमुख सचेतकको भूमिकामा समेत छन् ।

महामन्त्रीका आकांक्षी आचार्य जलेश्वर बैठकबाट सहमहामन्त्री पदमा छन् । संस्थापक महामन्त्री मुकुललाई बर्खास्त गरेपछि रास्वपाको महामन्त्रीको नाममा चर्चामा शिशिर खनालको नाम समेत थियो ।
तर, पार्टीले बुर्लाकोटीलाई जिम्मेवारी दिएको थियो । खनाल हाल परराष्ट्रमन्त्रीको जिम्मेवारीमा छन् । मुकुललाई पार्टीबाट हटाएपछि उनले सम्हालेको प्रवक्ताको भूमिका मनिष झा छन् ।
एकतापछि रास्वपामा जोडिएका भूपदेव शाह र सुनिल लम्साल महामन्त्री पदका दाबेदार रहेको नेताहरूले जानकारी गराएका छन् ।
भूपदेव हाल महामन्त्री पदमा छन् । एकतापछि महामन्त्री सुनिल लम्साल बनाइएपनि उनी मन्त्री बनेपछि भूपदेवलाई उक्त पदको जिम्मेवारी औपचारिक निर्णय गरेर प्रदान गरिएको थियो ।
महामन्त्री पदमा प्रतिस्पर्धा गर्नकै लागि अनुशासन आयोगको कार्यवाहक प्रमुखको पदबाट राजीनामा दिएका यज्ञमणि न्यौपाने आसन्न महाधिवेशनमा उक्त पदका आकांक्षी देखिएका छन् ।
२०८१ असोजमा न्यौपानेले अनुशासन आयोगको कार्यवाहक प्रमुखको पदबाट राजीनामा दिएका थिए ।
तत्कालीन समयमा घोषित मितिमा महाधिवेशन हुन नसकेपछि प्रतिस्पर्धी हुन पाएनन् । कानुन व्यवसायी समेत रहेका न्यौपाने अनुशासन समितिको कार्यवाहक प्रमुख हुँदा संस्थापक महामन्त्री मुकुललाई स्पष्टीकरण सोधेका थिए ।
पार्टीको सक्रिय राजनीति गर्नका लागि अनुशासन आयोगबाट राजीनामा दिएका बुर्लाकोटी गत निर्वाचनबाट सांसद बनेका छन् ।
महामन्त्री आकांक्षीमा रहेको अर्को नाम हो- प्रमोद न्यौपाने । पूर्व सञ्चारकर्मी न्यौपानेको नाम रास्वपाले समानुपातिक सूचीमा राखेको थियो ।
समानुपातिक सूचीबाट महिला धेरै छनोट गर्नुपर्ने भएसँगै खस आर्य क्लष्टरमा रहेका न्यौपाने समानुपातिक सांसद बन्न पाएनन् ।
पार्टीको केन्द्रीय तहको संरचनामा पदीय भूमिका लिएर काम नगरेपनि सभापति रविका काममा उनले सघाउँदै आएका छन् ।
सभापति गृहमन्त्री हुँदा न्यौपानेले सचिवालयमा रहेर काम गरेका थिए । सहकारीको रकम अपचलन गरेको अभियोगमा सभापति रवि जेलमा रहँदा ‘राजनीतिक प्रतिशोध विरुद्धको हस्ताक्षर’ अभियानको नेतृत्व तहमा रहेर न्यौपानेले काम गरेका थिए ।
रास्वपाका शीर्ष तहका एक नेताले भने,‘प्रमोदजीलाई सभापतिले कार्यकारी भूमिकामा ल्याउन खोज्नु भएको छ । महामन्त्री कार्यकारी पद भएको र प्रमोदजी निर्विवाद व्यक्ति भएको हुँदा सभापतिले नै बनाउन चाहनु होला ।’
रास्वपाको महाधिवेशनमा प्रतिनिधि भइसकेपछि पार्टीको केन्द्रीय तहको जुनसुकै पदमा पनि प्रतिस्पर्धा गर्ने अवसर रहन्छ । अनुशासन आयोगका सचिव भूमिनन्द बरालले भने, ‘अरु कुनै तह अधिवेशबाट निर्वाचित समिति रहेको हुनुभएन । प्रतिनिधि बनेर आइसकेपछि सभापतिमै उठ्छ भन्न जोसुकैले पनि पाउँछ ।’
सहमहामन्त्री र केन्द्रीय सदस्य थप्न राय सुझाव
रास्वपामा सहमहामन्त्री र केन्द्रीय समितिको संख्या बढाउने गरी पनि छलफलहरू भएको नेताहरूले जानकारी गराएका छन् ।
सहमहामन्त्री हालको विधान अनुसार एक महिला सहित तीन जना हुने व्यवस्था छ । अब सहमहामन्त्रीको संख्या ९ जना पुर्याउनुपर्ने राय/सुझाव पनि नेताहरूले दिएका छन् ।
प्रत्येक प्रदेश अनुसार १/१ सहमहामन्त्री, कार्यालय हेर्ने गरी १ र सभापतिको सचिवालय हेर्ने गरी १ गरी ९ जना सहमहामन्त्री बनाउनुपर्ने सुझाव आएको शीर्ष तहका एक नेताले जानकारी गराए । सुमना श्रेष्ठले सहमहामन्त्री सहित पार्टी त्याग गरेपछि उक्त पदमा हाल विपिन आचार्य मात्रै छन् ।
सभापतिले केन्द्रीय समितिमा मनोनित गर्ने सदस्यहरूको संख्या बढाउनुपर्ने राय/सुझाव पनि पार्टीमा आएको छ ।
हालको विधानको व्यवस्था अनुसार ९९ जना निर्वाचित केन्द्रीय सदस्य हुने व्यवस्था छ । पहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्यको लागि महाधिवेशन प्रतिनिधिले मतदान गर्ने व्यवस्था छ ।
दोस्रो चरणमा पदाधिकारीका लागि पुनः मतदान गर्ने विधानमा व्यवस्था राखिएको छ । पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता हुनेछन् । कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता र सह प्रवक्तालाई निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने अधिकार छ ।
सभापतिलाई २२ जना केन्द्रीय सदस्य थप्ने अधिकार विधानले दिएको छ । सभापतिले केन्द्रीय सदस्य मनोनीत गर्ने संख्या बढाउनुपर्ने सुझावहरू पार्टीमा आएको नेताहरूले जानकारी गराएका छन् ।
रास्वपाको हालको विधानको आधारमा केन्द्रीय समितिको पदाधिकारीमा वरिष्ठ नेताबाट बालेन्द्र पक्षबाट महामन्त्री भूपदेव मात्रै पदाधिकारीमा छन् । एकतापछि बालेन्द्र पक्षबाट केन्द्रीय समितिमा २६ जना थपिएको छ ।
नेताहरूका अनुसार केन्द्रीय नेतृत्व चयन गर्न दुई विधिमा आन्तरिक छलफलहरू भएका छन् ।
एउटा, पदाधिकारी सहमतिमा चयन गर्ने र अन्य पदको निर्वाचन गरेर टुंगो लगाउने । दोस्रो, विकल्पमा सिंगो समितिमा ६० प्रतिशतको निर्वाचन गर्ने र ४० प्रतिशतमा सहमति गरी पूर्ण समिति ल्याउने गरी विधि बनाउने । नेताहरुका अनुसार दोहोरो भूमिका नहुने गरी जिम्मेवारी प्रदान गर्ने गरी सहमतिमा केन्द्रीय समिति बनाउने गरी पनि छलफलहरू भएका छन् ।
एक नेताले भने,‘सरकार र संसदीय भूमिकाको जिम्मेवारी पाएको व्यक्तिलाई पार्टीको काममा अल्झाउन हुन्न भन्ने पनि हो । सरकारमा रहेका र संसदीय भूमिकामा रहेका व्यक्तिहरूलाई पार्टीको कार्यकारी पदको जिम्मेवारी दिन नहुने विचार पनि आएका छन् ।’
प्रतिक्रिया 4