News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला अदालत मोरङले काठमाडौं पठाएका ४५ मुद्दाको म्याद तामेली समयमै नहुँदा न्याय सम्पादनमा ढिलाइ भएको छ।
- काठमाडौं जिल्ला अदालतले म्याद तामेलीमा तदारुकता नदेखाउँदा मुद्दाको सुनुवाइ प्रक्रिया लम्बिएको छ।
- काठमाडौं अदालतले तामेलदारहरूमाथि निगरानी बढाएको र समस्या समाधानका लागि सर्कुलर जारी गरेको छ।
६ जेठ, विराटनगर । जिल्ला अदालतहरुबाट तामेलीका लागि काठमाडौं पठाइएका मुद्दाको म्याद समयमा नै तामेली नहुँदा न्याय सम्पादनमा ढिलाइ भएको पाइएको छ ।
काठमाडौं जिल्ला ठेगाना भएका प्रतिवादीहरूका नाममा जारी भएको म्याद तामेली गर्न काठमाडौं जिल्ला अदालतले तदारुकता नदेखाउँदा जिल्लामा दर्ता भएका मुद्दाको सुनुवाइ प्रक्रिया लम्बिएको हो ।
जिल्ला अदालत मोरङले केहीदिन अघिसम्म ४५ मुद्दाका प्रतिवादीको म्याद तामेलीका लागि काठमाडौं पठाइएको छ । तर, समयमै म्याद तामेलीको सूचना जिल्लाले पाएको छैन ।
सामान्यतया म्याद तामेलीका लागि बाटोको म्याद बाहेक १५ दिनको समय तोकिएको हुन्छ । अर्को जिल्लामा म्याद पठाउनुपर्दा बढीमा एक महिनाभित्र तामेली भई आउनुपर्ने कानुनी व्यवस्था छ ।
‘मुद्दाका प्रतिवादीको ठेगाना जहाँ हुन्छ, त्यहीँको अदालतले म्याद तामेल गर्नुपर्छ,’ मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकी भन्छन्, ‘तर काठमाडौं पठाइएका मुद्दाको म्याद तामेली हुन समय लाग्छ ।’
बुढाथोकीका अनुसार ४५ वटा मुद्दाका प्रतिवादीहरूको म्याद तामेलीको विवरण जिल्लामा आइपुगेको छैन ।
काठमाडौं जिल्ला अदालतले समयमै तामेली नगर्दा न्याय सम्पादनमा ढिलाइ भएको विषयमा मोरङका श्रेस्तेदार मणिराम पोखरेलले केही दिनअघि काठमाडौंबाट म्याद तामेलीमा ढिलाइ हुँदा समस्या भएको जानकारी न्यायाधीशहरुलाई गराएको जानकारी दिए ।
श्रेस्तेदार पोखरेलका अनुसार डिजिटल माध्यमबाटै विवरण तामेलीका लागि सम्बन्धित जिल्लामा पठाइन्छ । हामीले यहाँबाट सिस्टममा पठाउँछौं, त्यहाँको तामेली शाखाले ती विवरण निकालेर सम्बन्धित तामेलदारलाई फिल्डमा पठाउनुपर्छ,’ पोखरेलले भने, काठमाडौंमा देशभरकै म्याद जाने भएकाले चाप हुनु स्वभाविक हो ।’
अन्य जिल्लाहरुबाट तामेलीका लागि काठमाडौं पठाएको म्याद तामेलीका लागि उस्तै समस्या छ ।
काठमाडौं जिल्लामा म्याद तामेलको कार्य सुस्त भएको गुनासो बढेपछि अदालत प्रशासनले तामेलदारहरूमाथि निगरानी र सक्रियता बढाएको जनाएको छ ।
जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी शिव खतिवडाले म्याद तामेलमा देखिएका समस्या सुधारका प्रयास भइरहेको बताए । उनका अनुसार कतिपय अवस्थामा वादीले फिराद पत्रमा प्रतिवादीको स्पष्ट वतन (ठेगाना) नखुलाउँदा तामेलमा समस्या हुने गरेको छ । तर, ठेगाना स्पष्ट हुँदाहुँदै पनि म्याद थन्किने गरेको गुनासो आएपछि कडाइ गरेको उनले बताए । गुनासो आएपछि सुधारका लागि तामेलदारसँग निरन्तर छलफल भइरहेको उनले बताए ।
‘एउटा तामेलदारले त्यही घरमा पुगेर म्याद तामेल गर्ने तर अर्को तामेलदारले त्यही घरलाई बेपत्ते (ठेगाना नभेटिएको) बनाएर फर्किने गरेको गुनासो समेत आएको छ,’ उनले भने, ‘म्याद तामेलको अवस्था बुझ्न कर्मचारीहरूको स्टक चेक र छड्के जाँच पनि भइरहेको छ ।’
‘हामीले तामेलदारहरूसँग बैठक गरेर कुन म्याद कहिले प्राप्त भएको र किन तामेल हुन सकेन भन्नेबारे विस्तृत अध्ययन गरिरहेका छौँ’ उनले थपे, ‘हामीले सर्कुलर जारी गरिसकेका छौँ, अब छिट्टै यो समस्या समाधान हुनेछ ।’
प्रतिक्रिया 4