+
+
Shares

गुल्मी प्रहरीले थाल्यो ‘नागरिक सहजकर्ता सेवा’

अनिल खत्री अनिल खत्री
२०८३ जेठ ६ गते ७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रहरी कार्यालय गुल्मीले सेवाग्राहीलाई छिटो र सहज सेवा दिन ‘नागरिक सहजकर्ता’ सेवा सञ्चालनमा ल्याएको छ।
  • नागरिक सहजकर्ताले सेवाग्राहीलाई आवश्यक जानकारी दिएर सम्बन्धित फाँटसम्म पुर्‍याउने काम गर्छन्।
  • सेवा सहज बनाउन नागरिक सहायता कक्षमा प्रहरी कर्मचारीले निवेदन लेखिदिने र उजुरी दर्ता प्रक्रियामा सहयोग गरिरहेका छन्।

६ जेठ, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले ‘नागरिक सहजकर्ता’ सेवा सञ्चालनमा ल्याएको छ ।

प्रहरीले कार्यालयमा आउने सेवाग्राहीलाई आवश्यक जानकारीदेखि सम्बन्धित फाँटसम्म पुर्‍याउने काम ‘नागरिक सहजकर्ता’ले गर्दछन् ।

प्रहरी कार्यालयको मूल गेटमै स्थापना गरिएको नागरिक सहायता कक्षमा ‘नागरिक सहजकर्ता’ लेखिएको विशेष पोसाकमा प्रहरी कर्मचारी खटाइएका छन् । उनीहरूले सेवाग्राहीसँग कुन कामका लागि आएको हो भन्ने जानकारी लिएर सम्बन्धित शाखा वा फाँटसम्म पुर्‍याउने, आवश्यक प्रक्रिया बुझाउने तथा सेवा लिन सहजीकरण गर्ने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

प्रहरी नायब निरीक्षकको कमाण्डमा सञ्चालन गरिएको उक्त सहायता कक्षले निवेदन लेखिदिने, उजुरी दर्ता प्रक्रियाबारे जानकारी दिने, आवश्यक कागजातबारे बुझाउने तथा सेवाग्राहीलाई लाइन व्यवस्थापनमा समेत सहयोग गर्ने गरेको छ ।

यसले विशेषगरी वृद्धवृद्धा, अशिक्षित तथा पहिलो पटक प्रहरी कार्यालय पुग्ने नागरिकलाई सहज भएको बताइएको छ ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार सेवाग्राहीलाई छिटोछरितो र नागरिकमैत्री सेवा दिने उद्देश्यले नागरिक सहजकर्ता सेवा सञ्चालन गरिएको हो । ‘प्रहरी कार्यालयमा आउने नागरिकले अनावश्यक दु:ख नपाउन् र सेवा प्रक्रियामा अन्योल नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो,’ उनले भने ।

स्थानीय व्यवसायी तथा सेवाग्राही काशी पाण्डेले नागरिक सहायता कक्षले सेवाप्रवाहमा सहजता ल्याएको बताए । पहिले कार्यालयमा पुग्दा कुन फाँटमा जाने भन्ने अन्योल हुने गरे पनि अहिले गेटमै जानकारी पाइने भएकाले सेवा लिन सहज भएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले पछिल्लो समय सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन विभिन्न सुधारात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । नागरिक सहजकर्ता सेवाले प्रहरीप्रति नागरिकको विश्वास बढाउन थप सहयोग पुग्ने अपेक्षा कार्यालयले लिएको छ ।

लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?