+
+
Shares

लिपुलेकबारे परराष्ट्रमन्त्री : संवादबाटै समस्या समाधान गर्ने दिशातर्फ उन्मुख छौं

परराष्ट्रमन्त्री शिशिर खनालले संवादबाटै लिपुलेक लगायत भारतसँगको सीमा समस्या समस्या समाधान गर्ने दिशातर्फ दुवै देश उन्मुख रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनालले लिपुलेक लगायत भारतसँगको सीमा समस्या संवादबाट समाधान गर्ने दिशातर्फ दुवै देश उन्मुख रहेको बताएका छन्।
  • नेपाल र भारतबीच सीमा समस्यामा टेक्निकल कमिटीले काम गरिरहेको र कूटनीतिक पहलबाट समाधान खोज्ने प्रक्रिया सक्रिय रहेको मन्त्री खनालले उल्लेख गर्नुभयो।
  • मन्त्री खनालले मनसुन समयमा सीमा वार्ता नहुने तर विगतदेखि रोकिएको प्रक्रिया विंटर ड्राई सिजनमा पुनः सुरु भएको जानकारी दिनुभयो।

६ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संवादबाटै लिपुलेक लगायत भारतसँगको सीमा समस्या समस्या समाधान गर्ने दिशातर्फ दुवै देश उन्मुख रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको अन्तराष्ट्रिय सम्बन्धत तथा पर्यटन समितिको बैठकमा यो विषय उठेको थियो । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश कुमार हमालले यो विषयमा सरकारको धारणा मागेका थिए ।

‘लिपुलेकको बारेमा हामीले नोट लेख्यौ । त्यसको रेसपोन्स के भयो ?’ सांसद हमालले सोधे ।

जवाफमा मन्त्री खनालले मानसरोवरको यात्राको इस्यु निस्किसकेपछि नेपालले कूटनीतिक नोट पठाएको स्मरण गराए ।

‘हामीले स्वभाविक हाम्रो आफ्नो दाबा क्लेमसहित नोट पठायौं । त्यो सीमाको विषयमा उहाँहरूले आफ्नो पनि क्लेम राखेकै विषय रह्यो । तर कूटनैतिक पहलद्वारा हल गर्ने भनेर उहाँहरुको पोजिसन आएको छ, उहाँको रिस्पोन्स आएको छ’ परराष्ट्रमन्त्री खनालले भने ।

उनका अनुसार नेपाल पनि सीमा समस्याको समाधान कूटनीतिक संवादमार्फत गर्न तयार छ । उनले भने, ‘हामीले पनि स्वभाविक रुपमा यो सीमा जस्ता विवादहरु कूटनीतिक छलफलबाट हुनुपर्छ भनेका छौं ।’ सीमामा दुवै देशले मिलेर काम गरिरहेको पनि उनले स्मरण गरे ।

उनले भनेका छन्, ‘तर आजको दिनमा पनि नेपाल र भारतको टेक्निकल कमिटीले यतिबेला पनि काम गरिराखेका छन् । लामो सीमा छ । त्यो सीमाका विषयलाई छुट्याउने क्रममा कमिटीले काम गर्ने कुरा आज पनि भइराखेको छ । यतिनै बेला पनि भइराखेको छ ।’

यो मनसुन समयमा हुन नसक्ने उल्लेख गर्दै उनले थपे, ‘मोस्टली विन्टर ड्राई सिजनमा हुन्छ । लामो समय रोकिएको थियो, गत वर्ष देखि त्यो प्रक्रिया सुरु भएर बोर्डर वर्किंग ग्रुपको टेक्निकल कमिटीले एक्टिभली काम गरिराखेको छ ।’

नेपाल र भारतका बीचमा लामो समयदेखि सीमाका विषयमा छलफल चलिरहेको भन्दै उनले रहेका समस्या संवादमार्फत समाधान गर्नेतर्फ दुवै देश रहेको बताएका हुन् ।

मन्त्री खनालले भनेका छन्, ‘मलाई लाग्छ लामो समयपछि नेपाल-भारत त्यो सीमाका विषयहरुमा पनि विस्तारै कूटनीतिक पहल र संवादबाट हामी उठेका विषयहरुलाई समाधान गर्ने दिशातर्फ उन्मुख छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?