+
+
Shares

संसद्‌मा बालेन खोजिरहेका हर्क

प्रधानमन्त्री बालेनको खोजी गर्दै हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा पर्चासहित विरोध प्रदर्शन गरिरहेको छ । सभामुख डोलप्रसाद अर्यालले संसदीय मर्यादा उल्लंघन गरेको भन्दै चेतावनी दिएका छन् । हर्क भन्छन्- जनताका कुरा उठाउँदा निलम्बन हुन्छ भने तयार छौं ।    

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८३ जेठ ६ गते २१:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसदहरूले संसद्मा प्रश्न सोध्न र सरकारलाई जवाफदेही बनाउन निरन्तर विरोध गर्दै आएका छन्।
  • सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई नियमावलीको नियम २० र २१ अनुसार मर्यादा कायम राख्न पटक-पटक सचेत गराएका छन्।
  • श्रम संस्कृति पार्टीका नेता हर्कराज राईले प्रधानमन्त्रीलाई संसद्मा जवाफदेही बन्नुपर्ने र प्रश्न सोध्न नदिँदा निरन्तर विरोध गर्ने बताएका छन्।

६ जेठकाठमाडौं । प्रतिनिधिसभाका पछिल्ला केही बैठकमा एउटा समान दृश्य देखिन्छ । जब बैठक सुरु हुन्छ तब श्रम संस्कृति पार्टीका सांसदहरू कुनै न कुनै तरिकाको विरोधमा उत्रन्छन् ।

कहिले पर्चा र प्ले कार्ड देखाउँछन् । कहिले ती प्ले कार्डमा लेखिएका नारा पढ्छन् । कहिले सभामुखसँग समय नै नमागेर सरकारलाई प्रश्न गर्छन् ।

सभामुख डोलप्रसाद अर्याल आफ्नो आसनबाट प्रतिनिधिसभा नियमावलीका नियम देखाउँछन् । संसदीय मर्यादा सम्झाउँछन् । तर, श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) मान्दैनन् । सभामुखले माइक दिए पनि नदिए पनि आफ्ना कुरा राख्छन् ।

बुधबार सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सनाले प्रतिनिधिसभाको आकस्मिकशून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिए । लगत्तै सांसद साम्पाङ उठे ।

सभामुख केही बोलेकै थिएनन् । साम्पाङले प्रश्न राख्न थाले । हिमाली र पहाडी क्षेत्रमा इन्टरनेटको राम्रो पहुँच नरहेको विषय उठाए ।

सभामुखले सभा सञ्चालन भइराखेको समयमा सभामुखसँग समय मागेर बोल्नुपर्ने व्यवस्था रहेको स्मरण गराए । साथैमन्त्रीको जवाफउपर स्पष्टीकरणको व्यवस्था नरहेको जानकारी गराए ।

तर साम्पाङले मानेनन् । सञ्चार मन्त्रालयलाई आफ्ना केही सुझाव रहेको भन्दै आफ्ना विषय राख्न थाले ।

सभामुखले रोक्न खोजे, ‘सभाको नियम छ । सभामुखसँग समय माग्नेसभामुखले समय दिएमा बोल्ने ।’

साम्पाङले ‘समय मागेको’ बताए ।

समय नमागेरै बोलिरहेको भन्दै सभामुख अर्यालले सभाको मर्यादा कायम राख्न निर्देश गरे ।

हर्क फेरि पनि मानेनन् ।

त्यसपछि सञ्चारमन्त्री तिमिल्सनाले साम्पाङले माइकबिनै फ्लोरमा लागेका प्रश्नको जवाफ दिए ।

फोरजीटुजी नेटवर्कको कमजोरीको विषयमा सरकारले काम गरिरहेको बताए । आगामी एक वर्ष भित्र ठूलो सुधार हुने गरी सरकारले काम गरिरहेको जवाफ दिए ।

जवाफ पाएपछि साम्पाङ बसे ।

अर्थात्मन्त्रीले दिएको जवाफमा स्पष्टीकरणका लागि पुनः सांसदलाई प्रश्न सोध्न दिने व्यवस्था नभए पनि साम्पाङले यो मौका लिएरै छाडे ।

सञ्चारमन्त्री तिमिल्सनापछि रोष्ट्रममा युवाश्रम तथा रोजगारमन्त्री रामजी यादव पुगे । उनले पनि सभामा आकस्मिकशून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिए ।

यादवले जवाफ सकेलगत्तै श्रम संस्कृति पार्टीका आरेन रा उठे । सभामुखले कुन नियमावलीको कुन नियम अनुसार नियमापत्ति रहेको भनेर सोधे ।

त्यसपछि केहीबेर सवाल-जवाफ भयो ।

आरेन राई- श्रममन्त्री यादवले दिएका जवाफ उपर प्रश्न छ ।

सभामुख – यसमा स्पष्टीकरणको व्यवस्था नरहेको जानकारी गराउँछु ।

हर्क साम्पाङ पनि उठे र भने –यसरी हुँदैन । हामीले उठाएका प्रश्नको जवाफ नदिएर हुँदैन । के चाहिँ गर्नुहुन्छ गर्नुहोस् । यस्तो हुँदैन ।

सभामुख साम्पाङलाई जवाफ दिए, सभा सञ्चालन भइरहेको बेला कुनै पनि सदस्यले बोल्नचाहनु भएमानियमावलीमा टेकेर बोल्न समयमा माग गर्नुभएमा र सभामुखबाट समय प्राप्त भएमासभामुखले आवश्यकताको आधारमा समय दिए पछि मात्रै बोल्नुपर्छ ।

सभामुखले यसो भन्दै गर्दा आरेनले बोल्न छोड्नन् ।

आरेनले भने, ‘हाम्रा गम्भीर प्रश्न छन् । लाखौं युवा रोजगारीका लागि विदेशमा छन् । उहाँहरूका कुरा हामीले यहाँ नउठाएर कहाँ उठाउने ?’

सभामुखले फेरि सम्झाउन खोज्दै भने, ‘दुई जना मन्त्रीले जवाफ दिनुभयो । त्यसमा पनि छुटेको भए आगामी दिनमा जवाफ दिन्छौं भनेर रोष्ट्रमबाट स्पष्ट पारिसक्नुभएको छ । मन्त्रालयबाट समेत सम्बोधन गर्न तयार छौं भनिसक्नुभएको छ ।

आरेन राई रोकिएनन् । भने, ‘अघिल्लो मन्त्रीले जवाफ दिएर जानुभयो । पछिल्लोले किन नदिने ?’

सभामुखले सवालको जवाफ दिइरहे । हरेक मन्त्रीले बोल्ने भाषाको शैली पनि एउटै हुनुपर्छबोल्ने तरिका पनि एउटै हुनुपर्छकसैले टुक्का भन्नुभयो भने त्यो अर्कोमा पनि लागु हुनुपर्छ भनेर माग गर्नुभयो भने त्यही गरिरहने हो सभाले ?’ सभामुखले भने ।

हर्क साम्पाङ फेरि बोले,  ‘सभामुख महोदयहाम्रा प्रश्न छन् ।

सभामुखले भने, ‘माननीय सदस्यलाई मैले आज तीन चोटी रुलिङ गरिसकेँ । मर्यादामा बस्नुस् ।

हर्क साम्पाङ र आरेन राई सँगसँगै बोलिरहे,  हामीले प्रश्न सोध्न पाउनुपर्छहामी प्रश्न सोध्छौं ।

सभामुखले नियमका कुरा सम्झाइरहे, माननीय सदस्यहरूले प्रश्न सोध्न पाउनुहुन्छम समय दिन्छु ।’

‘माननीय सदस्यहरूले हरेक दिन सदनमा गर्नुभएको व्यवहार हाम्रो संविधानकानुननियमावली भन्दा फरक छ । मर्यादाभन्दा विपरीत छ । सदन सञ्चालन गर्ने नियमावली भन्दा फरक व्यवहारअभद्र व्यवहार यहाँहरुले गरिरहनुभएको छ । यस विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मैले माननीय सदस्यहरूलाई पटक-पटक सभ्य भाषामा समय माग्नुस्विषयवस्तुको आधारमा समय दिन्छु भनिरहेको छु‘, सभामुखले अगाडि भने ।

हर्क साम्पाङ फेरि कड्किए हामीले सदन अवरुद्ध कहिले गरेका छौं ?

सभामुख जवाफ दिए, जुनसुकै बेला पनि बोल्ने होइन । सदनको आफ्नो मर्यादा हुन्छ ।

हर्कले उल्टै मर्यादाको र विधिको कुरा सभामुखलाई सम्झाउन खोजे, विधि मान्ने हो भने सबैले मान्नुपर्छ । प्रतिपक्षले प्रश्न सोध्न पाउँछ । मन्त्री/प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।

सभामुखले नियममावलीको कुरा राख्न छोडेनन् , ‘माननीय सदस्यहरू नियमावलीको नियम २० को खण्ड झ तर्फ ध्यानाकर्षण गराउँदछु । त्यसैगरी नियमावलीको नियम २१ को खण्ड क प्रति पट्टि पनि ध्यानाकर्षण गराउँदछु ।’

सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई सम्झाएको प्रतिनिधिसभा नियमावलीको नियम २० मा बैठकमा पालन गर्नु पर्ने नियम छ । जसको (झ) मा ‘कुनै सदस्यले बोलिरहेको समयमा वाधा पुग्ने वा बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने’ उल्लेख छ ।

यस्तैनियमावलीको नियम २१ मा छलफलमा भाग लिने सदस्यले पालन गर्नु पर्ने नियम छ । जसको (क) मा ‘सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नु पर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नु पर्ने’ भनिएको छ ।

नियमावलीका यी व्यवस्थाको पालना नगरेको भनेर सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई सचेत गराएका हुन् ।

खोजीमा बालेन

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेको दुइ महिना हुन लाग्यो । हालसम्म संसद्लाई सम्बोधन गरेका छैनन् ।  यसलाई सरकार संसद्प्रतिउत्तरदायी नभएको रुपमा व्याख्या गर्दै हरेक दिन संसद्‌मा प्रश्न उठ्छ ।

सत्तारुढ रास्वपा र सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित गराउन सकेका छैनन् । यसैलाई मुख्य आधार बनाएर श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा निरन्तर प्रश्न गरिरहेको हो ।

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका ७ जना सांसद छन् । रास्वपा दुइ सिट कम दु तिहाइ बहुमतमा छ । रास्वपाबाटै डोलप्रसाद अर्याल सभामुख छन् ।

सोमबारको प्रतिनिधिसभामा यस पार्टीका सांसदहरू प्ले कार्ड र पर्चासहित उपस्थित भएका थिए । त्यसदिन सुरुमै सभामुख अगाडि गएर प्ले कार्ड देखाएर आफ्नो आसनमा फर्किएर बसेका थिए ।

प्ले कार्डमा लेखेका थिए, ‘प्रधानमन्त्री संसद्प्रति जवाफदेही बन्नैपर्छ । प्रश्न देखि भाग्न पाइँदैन !’,  ‘जनमतलाई सम्मान गर । संसद् छलेर अध्यादेश ल्याउन बन्द गर् ! संसदीय जिम्मेवारी बहन गर् !’

यस्तो शैली नदोहोर्‍याउन त्यसैदिन सभामुखले आदेश दिएका थिए । उनले भनेका थिए, ‘विरोध गर्ने विभिन्न शैलीहरू हुन्छन् । तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ । मर्यादामा बसेर विरोध गरिदिन म यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रूपमा पनि लिइदिन म जानकारी गराउँछु ।’

सभामुखको आदेश उनले मानेनन् । श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ छातीमा पर्चा टाँसेरै रोष्ट्रम पुगेका थिए । त्यसयता साम्पाङको पार्टीले निरन्तर पर्चासहित विरोध गरिरहेका छन् ।

बुधबार पनि श्रम संस्कृति पार्टीले पर्चा लिएरै सभामा पुग्यो । सभामुखले सदनको कामकारबाही प्रारम्भ भएको घोषणा गरे लगत्तै उठे ।

सभामुखले किन उठेको भनेर सोधेपछि श्रम संस्कृति पार्टीका सातै जना सांसदले पालैपालो आफ्नो पर्चामा लेखिएका नाराहरू पढे अनि बसे ।

उनीहरूका पर्चामा लेखिएका  नारा छन् : 

संसदीय सर्वोच्चता कायम गर,

सरकार संसदप्रति जवाफदेही बन्नैपर्छ ।

विधिको शासन लागु गर ।

प्रतिपक्षीको आवाज सुन्नैपर्छ ।

संसदीय समितिमा सहभागी गर ।

बोल्ने समय बृद्धि गर ।

सुकुम्वासीलाई बाँच्न दे ।

नेपाली बनेर हाँस्न दे ।

गरिबलाई मार्न पाइँदैन् ।

झुटो आश्वास चाहिँदैन् ।

विदेशी ऋण बन्द गर ।

सरकार जवाफदेही बन्दैपर्छ ।

जवाफ वा राजीनामा दे ।

संसदीय सर्वोच्चता कायम गर ।

निलम्बित हुन तयार

निरन्तर संसद्‌मा प्ले कार्ड देखाउनेनारा लगाउनेसमय नलिएरै बोल्ने गरेपछि सभामुख हैरान छन् । उनले पटक-पटक आदेशनिर्देश र रुलिङ गरेका छन् । तर उनको रूलिङले काम गरेको छैन ।

अर्यालले सभामुखको आसनबाट भनेका छन्, ‘माननीय सदस्य हर्कराज राईसहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादाविपरीत संसद्‌‌मा प्ले कार्ड देखाउनेअभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई म प्रतिनिधिसभा नियमावलीको नियम ३० बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु ।’

चेतावनीलगत्तै साम्पाङले सभामै भनेका छन्, ‘हामीले तोडफोड गरेका छैनौंआगजनी गरेका छैनौं । जनताका प्रश्न राख्न खोजेका हौंराखिरहन्छौं । माग पूरा नभएसम्म सँधैभरी हामी पर्चा देखाइ नै रहन्छौं । यो तरिकाको विरोध भइ नै रहन्छ ।’

बैठकपछि पत्रकाहरूसँग साम्पाङले आफूहरूले प्रधानमन्त्रीको जवाफ खोजिरहेको बताए । सुकुमवासीको व्यवस्थापनलगायतका विषयमा गृहमन्त्रीको जवाफ खोजेको बताए । गृहमन्त्रालय प्रधानमन्त्रीले आफैँ सम्हालिरहेकाले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने उनको माग छ ।

विदेशी ऋण लिइरहेको सन्दर्भलिपुलेकसहित सीमा विवादको बारेमा प्रश्नहरू रहेको बताए । आफूहरूको उद्देश्य सरकारलाई संसद्प्रति जवाफदेही बनाउनु रहेको र यो काम गरिरहने उनको अडान छ ।

निलम्बनको खतरा होला नि ?’ भन्ने प्रश्नमा साम्पाङ भन्छन्, ‘ठीक छ तहामी रेडी छौं । जनताको लागिसार्वभौम संसद्को लागिसंसद्को विधि र विधानका लागि निलम्बन हुन हामी तयार छौं ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?