+
+
Shares

भारतको सहयोगमा बन्यो तीनतले विद्यालय भवन

सुरेश राय सुरेश राय
२०८३ जेठ ७ गते ७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको सुरुङ्गा–१ शिशुवारीस्थित जनता माध्यमिक विद्यालयको तीनतले भवन भारतको ८० प्रतिशत र नगरपालिकाको २० प्रतिशत लागतमा निर्माण सम्पन्न भएको छ।
  • भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले भारतले मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य, सडक, तटबन्ध, सिंचाइ र विद्युत क्षेत्रमा ८७ परियोजना सञ्चालनमा रहेको जानकारी दिनुभयो।
  • विद्यालयमा कक्षा १ देखि १२ सम्म ६२७ विद्यार्थी अध्ययनरत छन् र आगामी शैक्षिक सत्रदेखि कानुन संकाय सञ्चालन गर्ने तयारी भइरहेको छ।

७ जेठ, सप्तरी । भारतको सहयोगमा सप्तरीको सुरुङ्गा–१ शिशुवारीस्थित जनता माध्यमिक विद्यालयको तीनतले भवन निर्माण भएको छ ।

भारतीय दूतावासको ८० प्रतिशत र नगरपालिकाको २० प्रतिशत लागत साझेदारीमा तीन करोड १४ लाख ९ हजार ६४० रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

सूर्यकुण्ड/गोपीकृष्ण जेभीले निर्माण गरेको उक्त भवन समयमै सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक दिनेशकुमार यादवले जानकारी दिए ।

भवन उदघाटन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै नेपालका लागि भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले नेपाल–भारतबीचको बहुआयामिक विकास साझेदारी अन्तर्गत शिक्षा, स्वास्थ्य तथा पूर्वाधार क्षेत्रमा भारतले निरन्तर सहयोग गर्दै आएको बताए ।

प्रधानाध्यापक यादवका अनुसार नयाँ भवन निर्माणपछि कक्षा १ देखि १२ सम्म अध्ययनरत ६२७ विद्यार्थीका लागि कक्षा सञ्चालन, कार्यालय व्यवस्थापन तथा बैठक कक्ष सञ्चालन सहज भएको छ ।

विद्यालयमा व्यवस्थापन र शिक्षा संकायअन्तर्गत कक्षा ११ र १२ को पढाइ भइरहेको तथा आगामी शैक्षिक सत्रदेखि कानुन संकाय सञ्चालन गर्ने तयारी गरिएको छ ।

विद्यालयका पूर्वविद्यार्थी तथा सुरुङ्गा–१ का वडाध्यक्ष छत्रबहादुर राउतले स्थानीय समाजसेवी ध्रुवबहादुर राउतको पहलमा वि.सं. २००८ सालमा स्थापना भएको विद्यालय नगरकै उत्कृष्ट नतिजा दिने विद्यालयमध्ये एक रहेको बताए ।

उनले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको जानकारी दिए । कार्यक्रममा नगर प्रमुख गीता चौधरी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै महावाणिज्यदूत मीनाले  भारत सरकारको सहयोगमा मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य, सडक, तटबन्ध, सिंचाइ तथा विद्युत क्षेत्रसँग सम्बन्धित ८७ वटा परियोजना सञ्चालनमा रहेको जानकारी दिए । तीमध्ये ५४ शिक्षा, सात स्वास्थ्य, आठ सडक तथा पुल र एउटा तटबन्ध सम्बन्धी परियोजना रहेका छन् । सप्तरीका लागि स्वीकृत नौ परियोजनामध्ये सात सम्पन्न भइसकेका छन् भने दुई कार्यान्वयनको चरणमा रहेका छन् ।

उनले भारतीय दूतावासमार्फत विभिन्न जिल्लालाई उपलब्ध गराइएका २३२ एम्बुलेन्स र ४० स्कूल बसमध्ये सप्तरी जिल्लाले मात्रै २६ एम्बुलेन्स र ४० बस प्राप्त गरेको बताए । ती सवारीसाधनले शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको उनको विश्वास छ ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?