News Summary
Generated by OK AI. Editorially reviewed.- जनकपुरमा निर्माण हुन लागेको २०० शय्याको विनयतारा क्यान्सर अस्पतालको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भएको छ।
७ जेठ, काठमाडौं । जनकपुरमा निर्माण हुन लागेको विनयतारा क्यान्सर अस्पतालको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत भएको छ । वन तथा वातावरण मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई पत्राचार गर्दै ईआईए प्रतिवेदन स्वीकृत गरिएको जानकारी दिएको हो।
२०० शय्याको यो अस्पताल धनुषाको जनकपुर उपमहानगरपालिका–२५ मा निर्माण हुन लागेको हो । अस्पतालको ईआईए प्रतिवेदन स्वीकृत भएसँगै अब निर्माण प्रक्रिया अघि बढ्ने संस्थापक डा. विनय शाहले जानकारी दिए ।
अस्पताल निर्माणपछि मधेश प्रदेश र आसपासका क्षेत्रका नागरिकले आफ्नै क्षेत्रमा विश्वस्तरीय तथा सहज क्यान्सर उपचार सेवा डा.साहले बताए । उनका अनुसार २०२४ देखि निर्माण सुरु गर्ने लक्ष्य राखिएको भए पनि वातावरणीय प्रभाव मूल्यांकनलगायत विभिन्न सरकारी स्वीकृतिमा समय लाग्दा परियोजना केही ढिला भएको हो ।
उच्च शिक्षा अध्ययनका लागि सन् २००३ मा अमेरिका पुगेका डा. शाहले नेपाल फर्किएर यो परियोजना अगाडि बढाएका हुन् । आफू भौतिक रूपमा अमेरिकामा रहे पनि मन सधैं नेपालमै रहेको उनी बताउँछन् । ‘म आज जे छु, त्यो नेपालले बनाएको हो। सरकारी विद्यालयमा पढें, सरकारी कोटामै एमबीबीएस गरें। अब यही देशको क्यान्सर उपचार क्षेत्रमा केही योगदान दिन चाहन्छु’ डा. साहले भने ।
अस्पताललाई अत्याधुनिक प्रविधिसहित दक्ष चिकित्सकीय सेवायुक्त बनाइने प्रतिवद्धता उनले व्यक्त गरे । अस्तपाल करिब ४ बिघा क्षेत्रफलमा निर्माण हुनेछ ।
विनयतारा फाउन्डेसनले हरेक वर्ष विश्वका चर्चित चिकित्सकलाई जनकपुर ल्याएर ‘क्यान्सर कंग्रेस’ आयोजना गर्दै आएको छ। यसपल्ट आगामी सेप्टेम्बरमा गर्ने तयारी गरिएको छ।
अमेरिकामा दर्ता भएको गैरनाफामुखी संस्था विनयतारा फाउन्डेसनले क्यान्सरसँग सम्बन्धित सम्मेलन, सीएमई कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया 4