+
+
Shares

सपना, संघर्ष र सुकुमवासी

आज डोजर देख्दा ऐलानी आवास मात्र आत्तिएको छैन, सिंगो मानवता कम्पित भएको छ । ऐलानी आवासमा बस्ने ती सिमान्तकृत मानिसहरूको आँसुमा संसारको सबैभन्दा ठूलो सत्य लुकेको छ

ज्योतिकिरण ज्योतिकिरण
२०८३ जेठ १४ गते ८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विकासका नाममा चलाइने डोजरले सुकुम्वासी बस्ती भत्काउँदा नागरिकको उठिबास हुनुका साथै उनीहरूको थातथलो र बालबालिकाको सपना खोसिएको छ।
  • समानताका लागि गरिएको वर्ग सङ्घर्षले नेतृत्वलाई नवसामन्त बनाए पनि उत्पीडित वर्ग र पूर्वलडाकुहरू अझै सीमान्तकृत अवस्थामा बाँच्न विवश छन्।
  • शिक्षा, स्वास्थ्य र आवास नागरिकको नैसर्गिक अधिकार भए पनि पुँजीवादी व्यवस्थाले परोपकारका नाममा श्रम र मानवीय संवेदनाको शोषण गरिरहेको छ।

हरेक वर्ष आकाशबाट पानी झर्दा बर्सिने त्रासलाई मुद्दा बनाएर, वर्षा, भेल र बाढीसँगै बग्ने मानवताको दुःखलाई बहाना बनाएर, आज एउटा नयाँ शासनको गीत रचना गरिएको छ । र, यही गीत सुनाउन अहिले बस्ती भत्काएर नयाँ मानव शिविरको बिस्कुनमा सुकाइएको छ । एउटा घर भत्किनु भनेको केही थान जस्तापाता र ढुङ्गा ढल्नु मात्र होइन, एउटा परिवारको इतिहास, बालकको बाल्यकाल र वृद्धको स्मृति सखाप हुनु पनि हो ।

हाम्रो समयको सबैभन्दा ठूलो त्रासदी नै लाचार राजनीतिमा गिजोलिएको सपना हो । राजनीति जसले गन्तव्य देखाउनुपर्ने थियो, त्यो आज स्वार्थको एउटा यस्तो चक्रव्यूह बनेको छ जहाँ सामान्य मानिसको आशा अभिमन्यु झैँ मारिन्छ ।

जब सत्ताको रङ्गमञ्चमा सुकिला मुहारहरू क्रान्ति र परिवर्तनका नारा फलाक्छन्, त्यतिबेलै कुनै गल्लीको कुनामा एउटा सपनाको हत्या भइरहेको हुन्छ । यो स्वतन्त्रता पनि कस्तो ? जहाँ मानिस बोल्न त स्वतन्त्र छ, तर भोक र अभावको भयानक त्रासदीबाट मुक्त हुन सकेको छैन ।

हाम्रो समाज आज दुई धारमा विभाजित छ । एकातिर सुकिलो रवाफ छ, जहाँ विलासिताको अत्तरले पसिनाको गन्ध छोप्ने प्रयत्न गरिन्छ । अर्कोतिर धमिलो स्वाभिमान छ, जहाँ एक छाक टार्नका लागि आफ्नो आत्मसम्मानलाई साहुको तमसुकमा बन्धकी राख्नुपर्ने बाध्यता छ ।

बिछ्यौना हराएको मानिस र सपना पुरिएको बालक नै आजको वास्तविक चित्र हो देशको । जसको ओछ्यान छैन, उसलाई आकाशको जुन पनि टाढाको रोटी जस्तो लाग्छ । उसका लागि आजको सबैभन्दा डरलाग्दो ध्वनि भनेको डोजरको गर्जन भएको छ।

समय एउटा यस्तो निर्दयी नदी हो, जसले किनारमा बसिरहेका मानिसहरूका पाइला मात्र होइन, उनीहरूको अस्तित्वको आधार नै बगाएर लैजान्छ । आजको विश्व-मानचित्रमा मानिस एउटा यस्तो यात्री बनेको छ, जोसँग बाटो त छ, तर गन्तव्य छैन; जोसँग शरीर त छ, तर विश्राम गर्ने बिछ्यौना छैन । जब एउटा वयस्क मानिसको बिछ्यौना हराउँछ र एउटा अबोध बालकको सपना पुरिन्छ, तब मानवताको आँखाबाट झर्ने आँसुले इतिहासका पानाहरू भिज्ने गर्छन् ।

बिछ्यौना केवल कपास र कपडाको थुप्रो होइन । यो त एउटा विश्वास हो, एउटा सुरक्षा हो र दिनभरिको थकाइ बिसाउने एउटा पवित्र मन्दिर हो । तर आधुनिकताको अन्धवेग र विस्थापनको त्रासदीले आजको मानिसलाई उसको बिछ्यौनाबाट वञ्चित गरिदिएको छ ।

विश्वमा युद्ध, गरिबी र राजनीतिक दाउपेचका कारण लाखौँ मानिसहरू आफ्नै घरबाट लखेटिएका छन् । तिनीहरूका लागि आकाश ओढ्ने र भुइँ ओछ्याउने विवशता नै नियति बनेको छ । हुन त भौतिक सुख-सुविधा भएर पनि शान्ति नपाउने मानिस पनि बिछ्यौना हराएको मानिस नै हो ।

करोडौँको नरम ओछ्यानमा पल्टेर पनि निद्रा नपाउने आँखाले हराएको बिछ्यौना खोजिरहेका हुन्छन् । त्यो बिछ्यौना, जहाँ निर्धक्क भएर सुत्न सकिन्थ्यो।

मानिस जब आफ्नो थातथलो र आत्मीयताबाट टाढा हुन्छ, ऊ ब्रह्माण्डको एउटा सानो धूलोको कण जस्तै बन्न पुग्छ । उसको अस्तित्वको जरा उखेलिएको छ, र ऊ हावाको झोक्कासँगै कता पुग्ने हो, उसैलाई थाहा छैन । यदि बिछ्यौना हराएको मानिस वर्तमानको करुण तस्बिर हो भने, सपना पुरिएको बालक भविष्यको एउटा विभत्स चित्र हो ।

दिनभरि श्रमिकको पसिनामा कमिसन खानेहरू बेलुका अनाथालयमा फलफूल बाँडेर आफ्नो अन्तहृदयको छटपटी शान्त पार्न खोज्छन् । यो परोपकार होइन, यो त पाप पखाल्ने आधुनिक गङ्गाजल हो ।

बालकका आँखाहरू सपनाका कारखाना हुन् । त्यहाँ रंगीन पुतलीहरू उड्छन्, त्यहाँ ताराहरू समात्ने अभिलाषा हुन्छ । तर जब ती आँखाहरूमा पीडाको धुवाँ पस्छ वा घर भत्किएको, किताब पुरिएको, खेलौना लुटिएको, साथी छुटेको र बाबुआमा रोएको कालो छायाँ मडारिन्छ, तब ती सपनाहरू बालुवामा गाडिएका सिसाका टुक्राहरू झैँ हुन्छन् । कोमल हातहरूमा कलम हुनुपर्ने ठाउँमा जब भत्किएका आफ्नै घरका इँटा, च्यातिएका छाना र झुत्रिएका आफ्नै लुगाका टुक्राहरू थामिन्छन् तब त्यहाँ एउटा बालकको मात्र होइन, सिंगो मानवताको सपना पुरिन्छ ।

डोजरको दाराले घर मात्र भत्काउँदैनन्, बालबालिकाका कल्पनाका महलहरूलाई पनि माटोमा मिलाइदिन्छन् । आज भग्नावशेषमुनि पुरिएका खेलौनाहरूले सोधिरहेका छन् , हाम्रो के गल्ती थियो ?

हामीले बनाएका अग्ला भवनहरू, आविष्कार गरेका प्रविधिहरू र सहरको सुन्दरताका लागि बनाएका बगैंचाहरूको के अर्थ ? यदि हामीले एउटा मानिसलाई ओत लाग्ने ठाउँ र एउटा बालकलाई सपना देख्ने आँखा दिन सक्दैनौँ भने ।

यहाँ चेतनाको विस्फोट हुनु जरुरी छ । हामीले बुझ्नुपर्छ कि अर्काको आँसुमा आफ्नो खुसी खोज्ने सभ्यता कहिल्यै अमर हुन सक्दैन । करुणा भनेको केवल सहानुभूति देखाउनु होइन, बरु ती पुरिएका सपनाहरूलाई उत्खनन गर्ने आँट गर्नु र हराएको बिछ्यौना फिर्ता गर्ने प्रयत्न गर्नु हो । भनिन्छ, ‘जहाँ एउटा बालक रुन्छ, त्यहाँ ईश्वरको सिंहासन पनि हल्लिन्छ ।’

जबसम्म विश्वको कुनै पनि कुनामा एउटा मानिस बेघर रहन्छ र एउटा बालकको सपना बन्धक बन्छ, तबसम्म हाम्रो स्वतन्त्रता अधुरो छ ।

डोजर देख्दा आत्तिने ऐलानी आवासहरूले सोधिरहेका छन् के यो धर्तीमा टाउको लुकाउने अधिकार केवल लालपुर्जा हुनेहरूसँग मात्र छ ? पुस्ताौँदेखि बसेको थातथलो जब अवैध घोषित गरिन्छ, तब कानुनले त जित्छ तर न्याय भने हारेकै हुन्छ ।

मानव सभ्यताको विकासक्रममा विकास आफैँमा एउटा सुन्दर सपना हुनुपर्ने थियो तर, कसैका लागि विकास जीवन उजाड बनाउने काल बनेको छ अहिले । घर भत्काएर खोजिने विकास र देश जलाएर गरिने राजनीति दुवै आतंक हो मेरा लागि । डोजर देख्दा दानव देखे जस्तो हुँदैछ मान्छेको मन ।

अहिले डोजर केवल एउटा मेसिन होइन । यो त एउटा कठोर राज्यसत्ताको प्रतीक बनेको छ । जसले गरिबका पसिनाले भिजाइएका माटाका भित्ताहरूलाई एकै निमेषमा धुलोमा परिणत गरिदिने सामर्थ्य राख्छ । ऐलानी जग्गा, जहाँ पुस्तौँदेखि ओत लागेका मानिसहरूले आफ्नो पहिचानको बीउ रोपेका थिए, त्यहाँ आज विकासको नाममा संवेदनशीलताको हत्या भइरहेको छ । जसको नाममा लालपुर्जा छैन, के उसको मुटुमा व्यथा पनि हुँदैन र ?

ती ऐलानी बस्तीका झुप्रामा ओत लागेका वृद्धवृद्धा, काखमा शिशु च्यापेकी आमा र स्कुल जाने तयारीमा रहेका बालबालिकाहरूका लागि डोजरको गर्जन कुनै विकासको धुन होइन, बरु यो त उनीहरूको भविष्यको चिहान खन्ने आवाज भएको छ । दुनियाँले बुझ्नु पर्छ ऐलानी आवासमा बस्नेहरूको माटोको नाता रगतसँगको हुन्छ, कागजको हुँदैन ।

जब पसिना बगाउने हातहरू रित्ता हुन्छन् र औंला नचाउनेहरूका तिजोरी भरिन्छन्, त्यहाँ मानवीय संवेदनाको हत्या हुन्छ । वर्ग संघर्षको नाममा हजारौँ युवाहरूका काँधमा बन्दुक राखिए ।

उनीहरूले त्यो बाँझो र उपेक्षित जमिनलाई आफ्नै पौरखले बस्न लायक बनाएका हुन्छन् । जब डोजरले झुप्राको एउटा कुना भत्काउँछ, त्यहाँ केवल ढुङ्गा र माटो झर्दैन, त्यहाँ एउटा परिवारले दशकौँसम्म सँगालेका यादहरू र भित्तामा कोरिएका बालबालिकाका चित्रहरू पनि पुरिन्छन् ।

त्यो दृश्य देख्दा कठोर हृदय भएकाहरूको पनि आँखा रसाउँछ । मानवीय संवेदनशीलताको यो भन्दा ठूलो पराजय अरू के हुन सक्छ र ? के विकास भनेको केवल चिल्ला सडक र ठूला भवन मात्र हुन् ? यदि विकासले मानिसलाई घरबारविहीन बनाउँछ र आँसुको भेल बगाउँछ भने, त्यो विकास होइन, त्यो त सभ्यताको विद्रूप रूप हो ।

हामीले बुझ्नुपर्छ कि आवासको हक आधारभूत मानव अधिकार पनि हो । ऐलानी शब्दले मानिसको अस्तित्वलाई अवैध बनाउन सक्दैन । डोजरले बस्ती भत्काएर खाली भएको चौरमा भोलि सुन्दर बगैँचा निर्माण होला, सहरको सुन्दरता फर्किएला तर एउटा नागरिकले आफ्नो राज्यप्रति गुमाएको विश्वास कहिल्यै फर्कन सक्दैन ।

आज डोजर देख्दा ऐलानी आवास मात्र आत्तिएको छैन, सिंगो मानवता कम्पित भएको छ । ऐलानी आवासमा बस्ने ती सिमान्तकृत मानिसहरूको आँसुमा संसारको सबैभन्दा ठूलो सत्य लुकेको छ । राज्यले सार्वजनिक सम्पतिको अस्तित्व खोज्न मात्र होइन, नागरिकको आँसुको मर्म पनि पढ्न सक्नुपर्छ ।

आज तमसुक, साहु र सुकुमवासीको एउटा यस्तो त्रिकोण बनेको छ जहाँ गरिब, सुकुमवासी जति नै दौडिए पनि ऋणको घेराभन्दा बाहिर निस्कन सक्दैन त्यसमाथि राज्य लाग्नु आफैंमा अर्को दशा भएको छ । प्रकृतिले मानिसलाई जन्म दिँदा रित्तो हात र एउटा सग्लो धड्कन दिएर पठाएको थियो । तर, सभ्यताको विकासक्रमसँगै मानिसले धड्कनभन्दा मूल्यवान् कागज बनायो र मानवताभन्दा अग्लो अहंकार उभ्यायो ।

यही कागज र अहंकारको चेपमा एउटा यस्तो त्रिकोण निर्मित छ, जहाँ एकातिर तमसुकको मृत अक्षर छ, अर्कातिर साहुको कठोर तुलो, र बीचमा निरीह सुकुमवासीको रक्ताम्मे सपना छ । तमसुक केवल एउटा कागजको टुक्रा होइन, यो त गरिबको पसिना र पुस्ताको रगत सोस्ने एउटा आधुनिक कानुनी पासो हो । आधारभूत अभावहरुका निम्ति त्यो सेतो कागजमा कालो मसीले लेखिएका अक्षरहरू ‘नार्कीय ढोका’ का ताल्चा बन्न पुगेका छन् ।

ती अक्षरहरूमा न कुनै करुणा हुन्छ, न कुनै व्याकरण । त्यहाँ हुन्छ त केवल ब्याज ,स्याजको गणित र निरीहताको हस्ताक्षर । तमसुकका ती काला अक्षरहरू बिस्तारै गरिबको आँखाको ज्योति बन्छन्, निधारको पसिना बन्छन् र अन्ततः उसको अस्तित्व मेटाउने हतियार बन्छन् ।

साहु अर्थात् जोसँग पुँजी छ र उ भित्र सायद हृदय को खडेरी पनि हुन्छ । उसले मानिसलाई मानिसका रूपमा होइन, केवल एउटा लगानी र मुनाफाका रूपमा देख्छ । साहुको तराजुमा कहिल्यै पनि मानवीय संवेदना जोखिँदैन । उसले सुकुमवासीको झुपडीमा बलेको मधुरो दियो देख्दैन, उसले त केवल त्यो दियो बाल्न लिएको ऋणको अंक देख्छ ।

साहु प्रतीक हो— त्यो सामन्ती सोचको । जसले अर्काको अभावलाई आफ्नो वैभवको भर्‍याङ बनाउँछ । उसले सुकुमवासीको रगतलाई ‘ब्याज’ मा रूपान्तरण गर्छ र उसको आँसुलाई सम्पत्तिमा बदल्छ । साहुको हाँसोभित्र कतिवटा सुकुमवासीका परिवारको रुवाबासी लुकेको हुन्छ, त्यसको हिसाब कुनै बहीखातामा हुँदैन ।

सुकुमवासी, जसको शिरमा आकाश त छ, तर खुट्टा टेक्ने आफ्नै जमिन छैन । उ आफ्नै देशको भूगोलमा अनागरिक जस्तै बाँच्न विवश छ । उसको नाममा न कुनै लालपुर्जा छ, न कुनै पहिचान । छ त केवल एउटा जीर्ण शरीर र कैयौँ पुस्तादेखि बोकिआएको अभावको भारी ।

उसले माटो खन्छ, तर त्यो माटो उसको हुँदैन । उसले सहरका महलहरू बनाउँछ, तर रात बिताउन उसलाई त्यही महलको पेटी पनि वर्जित हुन्छ । सुकुमवासीको जीवन भनेको एउटा यस्तो नदी हो, जो किनार खोज्दाखोज्दै समुद्रमा मिसिनुअघि नै बालुवामा सुकिसकेको हुन्छ । उसको आँखामा देखिने शून्यताले विश्वको पुँजीवादी व्यवस्थालाई गिज्याइरहेको छ ।

के एउटा मानिसको भोक अर्को मानिसको व्यापार हुन सक्छ ? के माटोमाथिको अधिकार केवल कागजको टुक्राले मात्र तय गर्ने हो?
के सुकुमवासीले भोक भन्दा माथिको सपना देख्न नमिल्ने हो र ?

हामीले कस्तो समाज बनायौँ, जहाँ मानिसभन्दा कागज बलियो भयो ?

इतिहास साक्षी छ भुइँ मान्छेहरुको मुक्तिका निम्ति भनेरै वर्ग सङ्घर्षको नाममा युद्ध चलेको हो हाम्रो धरतीमा । आजका सुकुमवासी जस्तै समाजको पिँधमा ठूलो एउटा यस्तो वर्ग छ, जसको बिहानी सूर्यको किरणले होइन, पेटको आवाजले सुरु हुन्छ । अर्कोतिर एउटा यस्तो वर्ग छ, जसका लागि आकाशका ताराहरू पनि सजावटका सामग्री मात्र हुन् ।

यी दुई किनारा बीच बग्ने नदीको नाम हो वर्ग । मार्क्सले भनेझैँ, इतिहासका पानाहरू वर्ग संघर्षका रगतले निथ्रुक्क भिजेका छन् । तर, के यो संघर्ष केवल आर्थिक हो ? होइन ,यो त संवेदनाको भोकमरी पनि हो । जब एउटा बालकले महलको झ्यालबाट फालिएको रोटीको टुक्रामा आफ्नो भविष्य देख्छ, त्यहाँ वर्ग जन्मिन्छ ।

जब पसिना बगाउने हातहरू रित्ता हुन्छन् र औंला नचाउनेहरूका तिजोरी भरिन्छन्, त्यहाँ मानवीय संवेदनाको हत्या हुन्छ । वर्ग संघर्षको नाममा हजारौँ युवाहरूका काँधमा बन्दुक राखिए । उनीहरूलाई एउटा यस्तो संसारको सपना देखाइयो, जहाँ कसैले कसैलाई थिच्ने छैन, जहाँ न्यायको घाम सबैका आँगनमा बराबर लाग्नेछ । ती निर्दोष आँखाहरूमा साम्यवाद वा समानता एउटा आध्यात्मिक स्वर्गजस्तै देखियो ।

मुठ्ठी कसेर हिँडेका ती लडाकुहरूले आफ्ना सपनाहरूलाई बारुदमा मिसाए । उनीहरूले सोचेका थिए एउटा अन्तिम लडाइँले सारा विभेदका पर्खालहरू भत्काउनेछ । तर बिडम्बना! लडाइँ सकिँदा पर्खालहरू भत्किएनन्, बरु ती अझ अग्ला र मजबुत भए । केवल रङ फेरियो, शासक फेरिए, तर शोषणको शैली फेरिएन ।

आज ती लडाकुहरू कहाँ छन् ? तीमध्ये धेरै त युद्धको मैदानबाट होइन, आफ्नै सपनाको पराजयबाट भागेका हुन् । जब उनीहरूले देखे कि जसको मुक्तिका लागि उनीहरूले रगत बगाए, ती त अझै उस्तै अन्धकारमा छन्, तर जसले कमान्ड सम्हालेका थिए, उनीहरू ‘नव-सामन्त’ बनेर विलासिताको शिखरमा पुगे ।

लडेका लडाकुहरूका पैतालामा अझै पनि युद्धका ठेलाहरू छन्, तर मनमा भने एउटा गहिरो शून्यता छ । तिनीहरू न त घर फर्कन सके, न त गन्तव्य नै भेट्टाए । कोही खाडीको तातो बालुवामा पसिना बेच्दै होलान् , त कोही आफ्नै देशको गल्लीमा च्यातिएको लुगा र धुमिल सपना बोकेर सुकुमवासी बस्तीमा बाँचिरहेका होलान् । उनीहरूका लागि वर्ग संघर्ष एउटा यस्तो चक्रव्यूह बन्यो, जहाँ छिर्न त सजिलो थियो, तर बाहिर निस्कँदा आफ्नो अस्तित्व नै गुमाउनुपर्‍यो । जसले संसार बदल्न हिँडेको थियो, आज ऊ आफ्नै परिवारको भोको पेट भर्न नसक्ने विवशतामा छ । यो नै इतिहासको सबैभन्दा ठूलो व्यङ्ग्य हो ।

वर्ग संघर्ष केवल राजनीतिक नारा होइन, यो त एउटा गहिरो मानवीय त्रासदी हो । जबसम्म मानिसले अर्को मानिसको दुःखमा आफ्नो प्रतिविम्ब देख्दैन, तबसम्म जतिसुकै क्रान्ति भए पनि वर्ग जीवितै रहने रहेछ ।

साँचो क्रान्ति त हृदयभित्रको करुणामा हुनुपर्छ । आज विचार र वर्ग छोडेर भागेका लडाकुहरू ‘कायर’ होइनन्, उनीहरू त त्यो व्यवस्थाका साक्षी हुन् जसले मानिसलाई साधन मात्र ठान्यो, साध्य ठानेन ।

वर्ग संघर्षको जटिल यात्रा र थकानमा पनि सुस्केरा हाल्न नपाएको सुकुम्बासी बस्तीले फेरि पनि एउटा सन्देश छोडेको छ कि अबको चेतनाले बन्दुकको नालबाट होइन, प्रेम र सहअस्तित्वको धरातलबाट समानता खोज्नुपर्छ । वर्ग,विचार, सिद्धान्त, आदर्श र मूल्य मान्यता सबै छोडेर आज भागेका भगौडा लडाकुहरूलाई पनि समाजले घृणा होइन, सहानुभूति र न्याय दिनुपर्छ ।

किनकि मानवताको एउटै मात्र वर्ग होस् अब ‘करुणाको वर्ग’ । जहाँ कोही शासक हुँदैन, कोही शोषित हुँदैन, केवल मानिस हुन्छ र उसको धड्किरहेको संवेदनशील हृदय हुन्छ । हुनत यो आजको नयाँ कुरा होइन हिजो आदर्शको नारा दिने ती ओठहरू पनि आज पूँजीवादी परोपकारको गुलियोमा लटपटिएका छन् । शोषणको दया अहिले बजारको समाज सेवा भएको छ । यो समाज सेवा यस्तो विष हो, जसले मानिसलाई मार्दैन तर बाँच्न पनि दिँदैन । यो त केवल दाता हुनुको अहङ्कार तुष्टि गर्ने माध्यम मात्र बनेको छ ।

आजको युगमा शोषणले आफ्नो स्वरुप बदलेको छ । यो अब केवल कोर्रा र साङ्लोमा सीमित छैन । यसले त अब परोपकारको सुगन्धित अत्तर लगाएर समाजको गर्भगृहमा प्रवेश गरेको छ । पुँजीवादी परोपकार वास्तवमा त्यही सुगर-कोटेड तीतो औषधि हो, जसले रोग निको पार्ने भ्रम दिन्छ तर बिरामीलाई आजीवन परनिर्भरताको सघन उपचार कक्षमा कैद गरिरहेको हुन्छ ।

पुँजीवादले आज श्रमको मूल्य मात्र होइन, संवेदनाको मूल्य पनि तोक्न थालेको छ । हिजोका सामन्तहरूले खुल्लमखुल्ला रगत पसिना चुस्तथे, तर आजको कर्पोरेट सामन्तवादले पहिले मानिसको अस्तित्वलाई रित्तो बनाउँछ र त्यसपछि त्यही रिक्तता भर्न दानको जलप लगाउँछ । जब एउटा हातले खोसेर करोडौँको साम्राज्य खडा गरिन्छ र अर्को हातले त्यही साम्राज्यको एउटा सानो अंश बक्सिसका रूपमा फालिन्छ, के त्यसलाई करुणा भन्न मिल्छ?

यो त शोषणको त्यो परिष्कृत रूप हो, जहाँ शोषकले नै मुक्तिदाताको मकुण्डो पहिरिन्छ । यहाँ गरिबीको निवारण होइन, गरिबीको व्यवस्थापन गरिन्छ ताकि व्यवस्था चलिरहोस् र दाताहरूको देवत्वकरण भइरहोस् ।

पुँजीवादी संरचनामा परोपकार अक्सर एउटा रणनीतिक लगानी मात्र हो । ठूला कर्पोरेट घरानाहरूले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरूमा कति करुणा लुकेको छ र कति कर छुटको दाउपेच, त्यो कसैबाट छिपेको छैन । दिनभरि श्रमिकको पसिनामा कमिसन खानेहरू बेलुका अनाथालयमा फलफूल बाँडेर आफ्नो अन्तहृदयको छटपटी शान्त पार्न खोज्छन् । यो परोपकार होइन, यो त पाप पखाल्ने आधुनिक गङ्गाजल हो । शिक्षा र स्वास्थ्यमा गरिने दानले अन्ततः उनीहरुकै लागि दक्ष र स्वस्थ कामदार तयार पारिदिन्छ । यो चक्रमा मानवीय संवेदनशीलता भन्दा बढी मुनाफाको गणित सक्रिय हुन्छ ।

वास्तविक करुणा त्यो होइन, जसले माछा किनेर दिन्छ, वास्तविक करुणा त त्यो हो, जसले माछा मार्ने अधिकार र जलाशयमाथिको स्वामित्व फिर्ता गराउँछ । पुँजीवादी परोपकारले सधैँ लिन सिकाउँछ, दाबी गर्न सिकाउँदैन । यसले मानिसको स्वाभिमानलाई मगन्तेको कचौरामा बदलिदिन्छ ।

हाम्रो चेतनाले अब यो बुझ्न जरुरी छ कि! स्वास्थ्य, शिक्षा र गास-बास मानिसको नैसर्गिक अधिकार हो, यो कसैको दयाको भिक्षा होइन । दोस्रो जबसम्म स्रोत र साधनमा मुठ्ठीभर मानिसको कब्जा रहन्छ, तबसम्म जतिसुकै ठूलो दान गरे पनि विश्वबाट अभाव हट्दैन ।

शोषकको हातबाट झरेका केही सिक्काहरूले कसैको पेट एक छाक भरिएला, तर त्यसले मानवीय गरिमाको भोक मेटाउन सक्दैन । जबसम्म एउटा मानिस अर्को मानिसको श्रममा बाँच्छ र उसलाई परोपकारको लट्ठी टेकाएर हिँडाउन खोज्छ, तबसम्म सभ्यताको यो यात्रा अधुरै रहन्छ ।

साँचो परोपकार त त्यो व्यवस्थाको निर्माण गर्नु हो, जहाँ कसैले कसैको अगाडि हात फैलाउनु नपरोस् । जहाँ करुणा प्रदर्शनको विषय नभएर जीवनको सहज स्पन्दन बनोस् । पुँजीवादको यो स्वार्थी दयाको घेरा तोडेर जब हामी समता र न्यायको धरातलमा उभिन्छौँ, तब मात्रै यो धर्तीमा न्यायको अनुभूति हुनेछ । तर आज यहाँ भएको घरबासमा डोजर लगाइदिएर पुँजीवादी परोपकारको नाटक चलिरहेको छ ।

वास्तवमा हाम्रो ‘आज’ यति अन्यौलपूर्ण छ कि यहाँ भोलि नभएको आज र आज नभएको भोलिको आभास हुन्छ । हामी एउटा यस्तो सुरुङमा छौँ जहाँ उज्यालोको भ्रम त छ, तर स्रोत छैन । हामी ‘आज’ बाँचिरहेका छैनौँ, बरु भोलिको तयारीमा आजलाई खर्चिरहेका छौं । एउटा बालकलाई ‘भोलि’ ठूलो मान्छे बन्ने लोभमा उसको ‘आज’ को निर्दोष मुस्कान खोसिन्छ । एउटा युवा ‘भोलि’ को सुरक्षित भविष्यका लागि ‘आज’ का ऊर्जावान क्षणहरूलाई पसिनाको धारामा बगाउँछ ।

यो कस्तो विडम्बना हो जहाँ भोलि नभएको आज केवल एउटा यन्त्रवत् अस्तित्व बनेको छ । जब हामी आजलाई ‘भोलि’ प्राप्त गर्ने माध्यम मात्र ठान्छौं, तब आजको घामको न्यानोपन, चराको चिरबिर र आफ्नै मुटुको धड्कन सुन्न बिर्सिन्छौं ।

यदि आजको सूर्योदयलाई हामीले यो सोचेर हेरेनौँ कि यो नै अन्तिम हुन सक्छ, तब त्यो हेराइमा कुनै प्राण हुँदैन । ‘भोलि’ को कुनै सुनिश्चित नभएको यो अनिश्चित संसारमा, ‘आज’ लाई पूर्णतामा नबाँच्नु भनेको ईश्वरले दिएको सबैभन्दा ठूलो उपहारको अपमान गर्नु पनि हो । ‘भोलि’ एउटा यस्तो क्षितिज हो, जसको नजिक पुग्दा ऊ झन् टाढा भाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?