News Summary
Generated by OK AI. Editorially reviewed.- शनिबार रातिको हावाहुरीले बाराको जितपुरसिमरा उपमहानगरपालिकाका ४५ घरमा पूर्ण क्षति पुर्याएको छ ।
- हावाहुरीले रुख ढलेर अवरुद्ध अमलेखगञ्ज–चकरी सडकखण्ड नगरप्रहरीले रुख पन्छाएर सुचारु गरेको छ ।
- नगरप्रमुख राजन पौडेलले भने, \'कतिपय रुख जरैदेखि ढलेको छ, हावाहुरी अत्यन्तै शक्तिशाली टोर्नाडो जस्तो देखियो ।\'
१० जेठ, काठमाडौं । शनिबार रातिको हावाहुरीले बाराको जितपुरसिमरा उपमहानगरपालिकाका ४५ घरमा क्षति पुर्याएको छ ।
जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले आइतबार स्थलगत अवलोकन गरी ४५ घरमा पुर्ण तथा अन्य केही घरमा आंशिक क्षति पुगेको जानकारी दिए ।
अमलेखगञ्ज-चकरी खण्डमा हावाहुरीले रुख ढालेपछि आवागमन बन्द भएको थियो । आइतबार उपमहानगरको नगरप्रहरीले रुख पन्छाएर बाटो खोलेको नगरप्रमुख पौडेलले बताए ।
जितपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिका जोड्ने चकरी-डम्बरपुर खण्डमा रुख ढलेकाले सडक पूर्णरूपमा बन्द छ ।

कतिपय रुखहरू जरैदेखि ढलेकाले बारामा केही वर्ष अघि आएको टोर्नाडोकै झल्को दिने हावाहुरी देखिएको नगरप्रमुख पौडेलले बताए ।
‘कतिपय रुख जरैदेखि ढलेको छ, हावाहुरी अत्यन्तै शक्तिशाली टोर्नाडो जस्तो देखियो,’ पौडेलले भने ।
शनिबारदेखि त्यस क्षेत्रमा विद्दुत् सेवा अवरुद्ध छ । बस्ती बाहेकका वनक्षेत्रमा पनि ठूलो संख्यामा रुखहरू ढलेको सूचना आएको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

उपमहानगरपालिकाले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ ।
‘हामी क्षतिको विवरण संकलन गरेर उपमहानगरपालिका कार्यालयलाई पठाउने तयारीमा छौं,’ जितपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठले भने ।
आइतबार बिहानै बारा-४ का संघीय सांसद रहबर अंसारीले पनि हावाहुरी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका थिए ।

प्रतिक्रिया 4