+
+
Shares

सहिद पुत्रीको सपनामा गोल्यान ग्रुपको साथ, एसईईमा ए ग्रेड ल्याएकी आकृतिको नर्सिङ पढ्ने चाहना

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनका सहिद सारकुमार राईकी छोरी आकृति राईले चितवनको मनशिक्षा मन्दिर आवासीय माध्यमिक विद्यालयबाट ३.४० जीपीए ल्याई एसईई उत्तीर्ण गरेकी छन् ।
  • सहिदका सन्तानलाई पढाउने घोषणा अनुरूप गोल्यान ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्यानले भरतपुरस्थित आकृतिको घरमै पुगेर बधाई तथा शुभकामना दिनुभयो ।
  • गोल्यान ग्रुपले जेनजी आन्दोलनका ३२ जना सहिदका सन्तानको शिक्षाका लागि जनही वार्षिक ४ लाख ८० हजार रुपैयाँ खर्च व्यहोर्दै आएको छ ।

१० जेठ, चितवन । उदयपुर चौदण्डीगढीका सारकुमार राईको सपना छोरी आकृतिसँग जोडिएको थियो । छोरीलाई राम्रो शिक्षा दिने, उनले चाहेको विषय पढाउने । छोरीको सपना पूरा गर्नका लागि उनी काठमाडौंमा बसेर पेन्टरको काम गर्थे । आकृति भने आमा सुनितासँग चितवनमै बसेर पढ्थिन् । २०८२ भदौ २३–२४ को जेनजी आन्दोलनमा सारकुमार सहिद बने । यसले आकृतिको सपनामाथि बज्र प्रहार भयो ।

पतिवियोगमा रहेकी सुनितालाई सबैभन्दा ठूलो चिन्ता भयो– अब छोरीलाई कसरी पढाउने ? सारकुमारको सहादतसँगै सुनिताको सहारा गुमेको थियो भने आकृतिको सपना टुहुरो भएको थियो ।

यस्तैमा २०८२ असोज अन्तिम साता गोल्यान ग्रुपले सहिदका सन्तानलाई १२ कक्षासम्म पढाउने घोषणा गर्‍यो । दुःखका बेला गरिने यस्ता घोषणा र प्रतिवद्धता केबल सहानुभूतिमै सीमित हुन्छन् । सुनितालाई पनि सुरुमा त्यस्तै लाग्यो । गोल्यान ग्रुपको घोषणालाई खासै वास्ता गरिनन् । तर, जब गोल्यानले एक सातामै प्रतिवद्धता पूरा गर्नको लागि उनीसँग लिखित सम्झौता गर्‍यो, तब सुनिताले राहतको सास फेरिन् ।

शनिबारको बिहान सुनिताको लागि विशेष बन्यो । छोरीको शिक्षाको दायित्व बहन गरेको गोल्यान ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्यान एकाबिहानै उनको भरतपुर–११, बसेनीस्थित निवासमा पुगे ।

‘छोरीलाई बधाई दिन आएका अक्षयले कारण खोतल्दै भने, ‘उहाँ (सहिद सारकुमार)ले छोडेर गएको सपना पूरा गर्न हाम्रो भरपूर साथ छ, त्यसैले खुसी साट्न हामी यहीं आयौं ।’ गोल्यानले अहिले आकृतिसहित ३२ जना जेनजी आन्दोलन सहिदका सन्तानलाई पढाइरहेको छ । उनीहरूको शिक्षामा जनही मासिक ४० हजारको दरले वार्षिक ४ लाख ८० हजार रुपैयाँ शैक्षिक–खर्च व्यहोर्नेछ ।

गोल्यानबाट शैक्षिकवृत्ति पाएकामध्ये यसपटक १५ वर्षीया आकृति एसईई उत्तीर्ण गर्ने पहिलो सहिद–सन्तान हुन् । उनले चितवनको मनशिक्षा मन्दिर आवासीय माध्यमिक विद्यालयबाट ३.४० जीपीए ल्याएर उत्तीर्ण गरिन् ।

आकृतिले एसईईमा प्राप्त गरेको उपलब्धि विशेष भएकोले घरमै पुगेर बधाई दिएको ग्रुपको भनाइ छ । ‘आकृतिले राम्रो अंक ल्याएर एसईई उत्तीर्ण गरिन्, यसले हामीलाई पनि खुसी तुल्याएको छ,’ गोल्यान ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेसन्स एण्ड पीआर प्रमुख ज्योति गैह्रेले भनिन् ।

आकृतिले प्लस–टुमा विज्ञान संकाय पढ्ने निर्णय गरेकी छन् । उनी चितवनकै आरोमा इंलिस सेकेण्डरी स्कुलमा भर्नासमेत भइसकेकी छन् । विज्ञान संकाय पढेर नर्सिङमा स्नातक गर्ने उनको चाहना छ ।

‘तपाईंहरुको सहयोगले मलाई दुःखको बेला सम्हालिएर अघि बढ्न निकै साहस मिलेको छ, आगामी दिनमा पनि राम्रो गर्ने प्रयास गर्नेछु,’ आकृतिले घरमै पुगेका अक्षयलाई भनिन्, ‘तपाईंको साथ र सहयोगको कुनै मूल्य छैन, म आफ्नो लक्ष्यमा पुग्न सकेँ भने सायद यस सहयोगको सम्मान होला ।’

आमा सुनिताले छोरीमाथि आफ्नो श्रीमानले देखेको सपना पूरा गर्नुपर्ने दायित्व गोल्यान ग्रुपले लिएकोमा खुसी व्यक्त गरिन्। ‘अब मेरो सपना भनेकै छोरीले चाहेको पढ्न पाओस्, प्रगति गरोस् भन्ने छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?