+
+
Shares

इन्धन मूल्य र डलर दबाबले वैशाखमा दाल-चामलको मूल्य बढ्यो, तरकारीमा ३३४ प्रतिशत

विशेषगरी तरकारी बजारमा देखिएको मूल्यवृद्धिले न्यून र मध्यम वर्गीय उपभोक्ताको भान्सा प्रत्यक्ष प्रभावित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको मासिक समीक्षा प्रतिवेदन अनुसार वैशाख महिनामा स्थानीय घिउसिमीको मूल्य सबैभन्दा बढी ३३४.७८ प्रतिशतले बढेको छ ।
  • इरान–इजरायल द्वन्द्व, पेट्रोलियम पदार्थको मूल्य वृद्धि र अमेरिकी डलर बलियो हुँदा ढुवानी भाडा र आयातित उपभोग्य वस्तुको मूल्य बढेको हो ।
  • विभागले बजारमा कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रण गर्न बेमौसमी कृषि उत्पादनमा जोड दिँदै नियमित अनुगमन गर्नुपर्ने सुझाव दिएको छ ।

१० वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख महिनाको मासिक मूल्य समीक्षा प्रतिवेदनले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा अस्वाभाविक वृद्धि क्रम जारी रहेको देखाएको छ ।

विभागले देशभरिका ६ प्रमुख सहर विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढी र काठमाडौं उपत्यकाको बजार विश्लेषण गर्दा तरकारी र खाद्यान्नको मूल्यमा तीव्र उतारचढाव आएको पाइएको हो ।

विशेषगरी तरकारी बजारमा देखिएको मूल्यवृद्धिले न्यून र मध्यम वर्गीय उपभोक्ताको भान्सा प्रत्यक्ष प्रभावित भएको छ ।

वैशाखमा मूल्यमा अत्यधिक उतारचढाव आएका प्रमुख ५ तरकारीमध्ये घिउसिमी लोकलको मूल्यमा सबैभन्दा बढी अर्थात् ३३४.७८ प्रतिशतको वृद्धि भएको छ ।

महिनाको सुरुमा प्रतिकिलो न्यूनतम २३ रुपैयाँ रहेको घिउसिमी महिनाको अन्त्यतिर अधिकतम १ सय रुपैयाँसम्म पुगेको तथ्यांकले देखाउँछ ।

घिउसिमी मात्र होइन, तने बोडीको मूल्यमा २ सय ५० प्रतिशतले वृद्धि भई प्रतिकिलो १ सय ५ रुपैयाँ पुगेको छ भने लौकाको मूल्य १ सय ६५ प्रतिशतले बढेर किलोको ५३ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी फर्सी हरियो लामोमा १३८.८९ प्रतिशत र काँक्रो हाइब्रिडमा १ सय २५ प्रतिशतको वृद्धि देखिएको छ ।

विभागका अनुसार गोलभेँडा सानो (लोकल), काउली स्थानीय, ब्रोकाउली र जिरीको सागजस्ता वस्तुमा समेत १ सय प्रतिशतभन्दा बढीको मूल्यवृद्धि भएको छ ।

खाद्यान्नमा पनि उपभोक्ताले राहत पाउन सकेका छैनन् । भारतबाट आयात हुने कच्चापदार्थको मूल्यमा भएको सामान्य वृद्धि र पेट्रोलियम पदार्थमा भएको तीव्र मूल्य वृद्धिका कारण ढुवानी खर्च बढ्दा चैतको तुलनामा वैशाखमा चामलको मूल्य बढेको छ ।

तथ्यांक अनुसार सोना मन्सुली चामलको मूल्य प्रतिकिलो ६४ देखि ९५ रुपैयाँको बीचमा छ भने बासमती चामल काठमाडौं उपत्यकामा सबैभन्दा महँगो अर्थात् १ सय ९० रुपैयाँ किलो पुगेको छ ।

दाल तथा गेडागुडीतर्फ मासको दाल प्रतिकिलो अधिकतम २ सय ७ रुपैयाँ र रहरको दाल २ सय ७० रुपैयाँसम्ममा बिक्री भएको छ । गेडागुडीमा राज्माको मूल्य सहर अनुसार प्रतिकिलो १ सय ७० देखि ३ सय रुपैयाँसम्म पुग्दा उपभोक्तामा थप भार परेको छ ।

प्रतिवेदन अनुसार कुखुराको मासु (ब्रोइलर) र खसीको मासुको औसत मूल्य यो महिना स्थिर छ । अन्डाको मूल्य प्रतिक्रेट ६ सय पुगेको छ भने माछाको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ ।

तेल र घिउका हकमा खुद्रा बजारमा तोरीको तेल प्रतिलिटर ३ सय ६० र भटमासको तेल २ सय ९३ रुपैयाँसम्म पुगेको छ । यद्यपि, केही वस्तु जस्तै भारतीय रातो आलु, घिउसिमी राज्मा, तोफु, इमली र तरबुजाको मूल्यमा भने महिनाभरि पूर्णस्थिरता देखिएको छ, जसले बजारमा केही सन्तुलन कायम गर्ने प्रयास गरेको छ ।

यो अस्वाभाविक मूल्यवृद्धिको पछाडि वाह्य र आन्तरिक दुवै कारण प्रमुख देखिएका छन् । विभागका अनुसार समीक्षा अवधिमा पेट्रोलियम पदार्थको मूल्यमा ६ पटकसम्म भएको परिवर्तनले ढुवानी भाडा, गाडी भाडा र हवाई भाडामा भारी वृद्धि गराएको छ ।

२ वैशाखमा पेट्रोलको मूल्य २ सय १९ र डिजेल २ सय ३७ रुपैयाँ प्रतिलिटरसम्म पुगेको थियो । यद्यपि, १७ वैशाखमा घटेर पेट्रोल २ सय १७ र डिजेल २ सय २५ रुपैयाँ कायम भए पनि समग्र ढुवानी भाडा महँगो पर्न गएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको भूराजनीतिक तनाव (इरान–इजरायल द्वन्द्व) ले आपूर्ति शृङ्खलामा अवरोध सिर्जना गरेको छ ।

त्यस्तै अमेरिकी डलरको विनिमय दरमा आएको २.१३ प्रतिशतको उतारचढावले पनि आयातित वस्तुको मूल्य बढाउन मद्दत गरेको छ । वैशाखमा अमेरिकी डलरको अधिकतम बिक्री दर १५२.१६ रुपैयाँसम्म पुग्दा त्यसको प्रत्यक्ष असर नेपाली बजार मूल्यमा परेको प्रतिवेदनको ठहर छ ।

विभागले आफ्नो निष्कर्षमा बजारको यो अस्थिरता व्यवस्थापन गर्न बेमौसमी कृषि प्रणाली विकास र उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याएको छ ।

साथै, बजारमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न प्रचलित कानुन अधीनमा रही नियमित र प्रभावकारी बजार अनुगमन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?