+

विश्वकपमा नेपाल : छनोट पार गर्नै मुस्किल

२०८३ जेठ  ११ गते ८:०८ २०८३ जेठ ११ गते ८:०८

फिफा विश्वकप छनोट खेल्न थालेको ४ दशक पुगिसक्दा पनि नेपाल दोस्रो चरणभन्दा माथि उक्लिन सकेको छैन ।

विश्वकपमा नेपाल : छनोट पार गर्नै मुस्किल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत दोस्रो चरणबाट नेपाल जितविहीन बन्दै बाहिरिएको छ ।
  • दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाएका कारण नेपालले आफ्ना घरेलु खेलहरू विदेशमा खेल्नुपरेको थियो ।
  • फुटबल विकासका लागि घरेलु लिगको निरन्तरता र दीर्घकालीन योजना आवश्यक रहेको प्रशिक्षकहरूले बताएका छन् ।

७ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ सुरु हुन करिब तीन साता बाँकी छ । अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा यसपटक ४८ देश सहभागी हुँदैछन् ।

फुटबलको महाकुम्भ मानिने विश्वकपको चर्चा सहभागी देशभन्दा कम छैन नेपालमा । सामाजिक सञ्जालदेखि चिया गफसम्म विश्वकप छलफलको विषय बन्दै आएको छ ।

विश्वकपमा नेपाली समर्थकको उपस्थिति जत्तिको उल्लेखनीय हुन्छ, त्यति देशको उपस्थिति भएको भने देखिँदैन । फिफा विश्वकप छनोट खेल्न थालेको चार दशकमा नेपाल अधिंकाश पटक पहिलो चरणबाटै बाहिरिएको छ । एकाध पटक दोस्रो चरणमा पुग्दा पनि नेपाल प्रदर्शनमा निरीह बन्दै आएको छ ।

नेपालले पहिलो पटक सन् १९८६ मा मेक्सिकोमा भएको फिफा विश्वकपका लागि छनोट खेलेको थियो । त्यसयता नेपालले दुई पटक बाहेक सबै विश्वकपमा छनोट खेलेको छ । तर हालसम्म दोस्रो चरणभन्दा बढी पुग्न सकेको छैन । सन् १९९४ मा सहभागी नभएको नेपालले सन् २००६ को विश्वकपमा नाम दर्ता गराएर पछि फिर्ता लिएको थियो । जसका कारण १० हजार डलर जरिबाना तिर्नुपरेको थियो ।

सन् २०१४ मा ब्राजिलमा भएको फिफा विश्वकपको छनोटअन्तर्गत पहिलो चरणमा टिमोर लिस्टेलाई पराजित गर्दै नेपाल पहिलो पटक दोस्रो चरणमा प्रवेश गर्‍यो । नेपालले टिमोर लिस्टेलाई ७–१ को गोलअन्तरले पराजित गरेको थियो । जोर्डनसँग ११–१ को गोलअन्तरले पराजित हुँदै नेपाल दोस्रो चरणबाटै बाहिरियो ।

सन् २०१८ मा भएको रुसमा भएको फिफा विश्वकप छनोटको पहिलो चरणबाट बाहिरिएको नेपालले सन् २०२२ मा भएको फिफा विश्वकप छनोटमा सोझै दोस्रो चरणमा प्रवेश पायो ।

एसियाको वरियतामा शीर्ष–३४ भित्र परेपछि नेपालले दोस्रो पटक दोस्रो चरण खेल्ने अवसर पाएको थियो । छनोटको दोस्रो चरणमा नेपाल अष्टे«लिया, कुवेत, जोर्डन र ताइवान रहेको ग्रुपमा रह्यो । ८ मध्ये २ खेलमा मात्रै जित निकालेको नेपाल दोस्रो चरणबाटै बाहिरियो ।

फिफा विश्वकप छनोट २०२६ मा नेपालले पहिलो चरणमा पार गर्दै लगातार दोस्रो पटक दोस्रो चरणमा पुग्न सफल भयो । छनोटअन्तर्गत पहिलो चरणमा नेपालले लाओसलाई पराजित गर्न सफल भयो । होम एन्ड अवेको आधारमा भएको खेलमा नेपाल लाओसलाई २–१ को गोलअन्तरमा पराजित गर्दै दोस्रो चरणमा पुगेको हो । पहिलो खेल १–१ को बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा १–० को जित निकाल्दै दोस्रो चरणको छनोटमा पाइला चाल्यो ।

दोस्रो चरणको समूह ‘एच’ मा रहेको नेपाल जितविहीन बन्दै बाहिरियो । समूह विजेता र उपविजेता एएफसी एसियन कप र फिफा विश्वकप छनोटको तेस्रो चरणमा पुग्थे । तर नेपाल समूहको अन्तिममा रहँदै विश्वकप छनोटको यात्रा टुंग्यायो ।

६ खेलमा नेपालले एक खेल बराबरी खेल्दा ५ खेल गुमाउन पुग्यो । दोस्रो चरणको ६ खेलमा २० गोल खाँदा नेपालले मात्र २ गोल गर्‍यो । होम एन्ड अवेको आधारमा भएको खेलमा नेपाल समग्रमा यूएईसँग ८–०, यमनसँग ४–२ र बहराइनसँग ८–० ले पराजित हुन पुग्यो । यमनबाहेक अन्य टोलीसँग नेपालले घरेलु मैदानमा खेल खेल्न पाएन ।

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउँदा यूएई र बहराइनविरुद्धको खेल नेपाली खेलाडीले विदेशमा गएर खेल्नुपर्ने अवस्था बन्यो । खेलाडीले घरेलु मैदानमा खेल्न त पाएनन् नै दर्शकले पनि विश्वकप छनोटको स्वाद चाख्न पाएनन् ।

विश्वकप छनोट खेल्न थालेको ४ दशकमा ३ संस्करणमा मात्रै दोस्रो चरणमा पुगेको छ । त्यसबाहेक अरू छनोटमा नेपाल पहिलो चरणबाट बाहिरिँदै आएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वको विवाद, नियमित लिग नहुँदा खेलाडीहरू निरन्तर पलायन भइरहेका छन् । जसका कारण पनि नेपाली फुटबल खस्कँदो अवस्थामा छ ।

‘दीर्घकालिन योजना विना असम्भव’

नेपालकै सफल प्रशिक्षक बालगोपाल महर्जन अहिलेको अवस्थामा नेपाल विश्वकपमा छनोट हुने कुरा असम्भव जस्तै रहेको बताउँछन् । ‘फुटबलको नेतृत्व गर्नेहरू नै ४ वर्षमा खाली झैझगडा मात्रै भएको छ । फुटबल सञ्चालन नै नगर्ने । देशभरका युवा पिँढी कुन ठाउँमा कुन किसिमको टे«निङ, एकेमेडी, प्रतियोगिता, ट्यालेन्ट हन्ट गराउने कुरा कहाँ भइराखेको छ ? यू–१६, १७, १९, सिनियर टोलीको रिजल्ट खोई, कार्यक्रम खोई ?,’ उनी भन्छन्, ‘त्यसअनुसार प्रष्ट हुन सकिन्छ कि, नेपाल विश्वकपमा छनोट हुने मिध्या कथा हो । बोल्न सजिलो हुन्छ । तर यथार्थमा यो सम्भव छैन ।’

नेपाली फुटबल उकासिनुको सट्टा झन्पछि झन् तल झरेको प्रशिक्षक महर्जनको टिप्पणी छ । ‘कुनै पनि राष्ट्रको फुटबल राम्रो बनाउनका लागि मेरुदण्ड भनेको लिग स्ट्रक्चर नै हो । नेपालमा ४ वर्षमा एक पटक लिग भएको अवस्था छ । त्यस कारण नेपाली फुटबल उकास्नु पर्नेमा झन्पछि झन् तल झारिरहेका छौं,’ उनी भन्छन् ।

ग्रासरुट र एकेडेमीहरूको उचित व्यवस्थापन नभएसम्म र नेतृत्वमा रहेकाहरूबीचको विवाद अन्त्य नभएसम्म नेपाली फुटबलको विकास हुन नसक्ने प्रशिक्षक महर्जनको बुझाइ छ ।

खेलाडी, कप्तान र प्रशिक्षकका रूपमा दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा स्वर्ण जिताएका राजुकाजी शाक्य दीर्घकालीन योजनाबिना विश्वकप पुग्न नसकिने बताउँछन् ।

‘दीर्घकालीन योजना बनाएर गयो भने ढिलो–छिटो जान्छ । तर प्लान चाहिँ हुनुपर्‍यो,’ उनी भन्छन्, ‘महिलाको विश्वकप २०३१ मा हुँदैछ । ५ वर्ष बाँकी छ । अहिलेदेखि नै हामीले एउटा सोच बनाएर, प्लानिङ बनाएर, लगानी गरेर, राम्रो सेवा–सुविधा दिएर, राम्रो प्रशिक्षक राखेर, गेम एक्प्रोजर दिएर गयो भने हामी विश्वकप पुग्न सक्छौं ।’

नेपाली फुटबलको विकासका लागि ग्रासरुटदेखि नै निश्चित र दीर्घकालीन योजना बनाउन आवश्यक रहेको शाक्यको बुझाइ छ ।

‘जापान जस्तो बलियो देशले सन् २०५० मा विश्वकप जित्ने लक्ष्य राखेर काम गरिरहेको छ । नेपालले पनि यस्तै किसिमको योजना बनाउनुपर्छ,’ उनी भन्छन्, ‘भारत जस्तो ठूलो देशलाई पनि फुटबलमा संघर्ष गर्नु परिरहेको अवस्थामा नेपालले झन् बढी मिहिनेत र योजनाबद्ध काम गर्नुपर्ने देखिन्छ ।’

नेपाल विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय