News Summary
Generated by OK AI. Editorially reviewed.- पर्साको ठोरीका युवाहरूले लामो समयदेखिको मोबाइल नेटवर्क समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग गर्दै नेपाल टेलिकमलाई ज्ञापनपत्र बुझाएका छन् ।
- सामान्य वर्षा हुनासाथ नेटवर्क अवरुद्ध हुँदा ठोरीका करिब बीस हजार नागरिक सञ्चार सेवाबाट बञ्चित भएको अभियन्ता धिरसिंह घिमिरेले बताए ।
- स्थानीय बासिन्दाले तत्काल प्राविधिक अध्ययन गरी उपकरणको स्तरोन्नति गर्न र आवश्यक स्थानमा थप टावर जडान गर्न माग गरेका छन् ।
११ जेठ, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा लामो समयदेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको भन्दै त्यसको दीर्घकालीन समाधान गर्न माग राखेर युवाहरूले वीरगञ्जस्थित नेपाल टेलिकमको क्षेत्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
ठोरीका युवा सामाजिक अभियन्ता धिरसिंह घिमिरे नेतृत्वको टोलीले वीरगञ्जस्थित टेलिकमको क्षेत्रीय कार्यालयका निर्देशक श्रीभद्र घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा सामान्य वर्षा हुनासाथ नेपाल टेलिकमको मोबाइल नेटवर्क पूर्ण रूपमा अवरुद्ध हुने समस्याका कारण स्थानीय नागरिक फोन, इन्टरनेट तथा अन्य सञ्चार सेवाबाट बञ्चित हुँदै आएको उल्लेख छ ।
करिब एक दशकअघि नेपाल टेलिकमको टावर निर्माण गरिए पनि सेवा गुणस्तरमा अपेक्षित सुधार नभएको भन्दै ठोरीका करिब बीस हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा प्रभावित भइरहेको अभियन्ता घिमिरेले गुनासो गरे ।
नेटवर्क समस्याका कारण दैनिक जनजीवन, व्यवसाय, शैक्षिक गतिविधि, बैंकिङ कारोबार, अनलाइन सेवा तथा आकस्मिक अवस्थासमेत प्रभावित भइरहेको उल्लेख गर्दै स्थानीयले तत्काल प्राविधिक अध्ययन गरी स्थायी समाधान, उपकरण स्तरोन्नति तथा आवश्यक स्थानमा थप टावर जडान गर्न माग गरेका छन् ।
ठोरी क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको अवस्थामा कमजोर नेटवर्क सेवाले नकारात्मक सन्देश प्रवाह भइरहेको भन्दै ज्ञापनपत्रमार्फत गुणस्तरीय तथा भरपर्दो सञ्चार सेवा सुनिश्चित गर्न आग्रह गरिएको छ ।
युवा अभियन्ता घिमिरेको नेतृत्वमा गएको टोलीमा माधव बस्नेत, हिरा श्रेष्ठ, हिमाल कुवँर, राजकुमार कोइराला लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4