News Summary
Generated by OK AI. Editorially reviewed.- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंका चार पानी उद्योगमा अनुगमन गरी मापदण्ड विपरीतका १४९ पुराना तथा कुच्चिएका जार नष्ट गरेको छ ।
- अनुगमन गरिएका उद्योगमध्ये गोठाटारको ओसियन ड्रिंकिङ वाटर इन्डस्ट्रिज अनुमतिपत्र नवीकरण नगरी र फुटेका पाइपलाइन प्रयोग गरेर सञ्चालन भएको पाइएको छ ।
- विभागले तीन उद्योगको पानीको नमुना संकलन गरी प्रयोगशालामा पठाएको छ भने सबै उद्योगलाई भौतिक पूर्वाधार र सरसफाइ सुधार गर्न निर्देशन दिएको छ ।
११ जेठ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंका विभिन्न जार तथा बोतलका पानी उद्योगमा अनुगमन गरी कारबाही अघि बढाएको छ ।
विभागले कागेश्वरी मनोहरा र गोठाटार क्षेत्रमा गरेको अनुगमन क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेका ४ वटा पानी उद्योगबाट १ सय ४९ वटा पुराना, कुच्चिएका र फुटेका जार नष्ट गरिएको छ ।
विभागका अनुसार ती उद्योगले फुटेका र प्वाल परेका जारमा पानी भर्ने गरेको, अनुमतिपत्र नवीकरण नगरेको र उत्पादन कक्षको पूर्वाधार तथा सरसफाइमा चरम लापरबाही गरेको पाइएको छ ।
विभागले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ बमोजिम तीन वटा उद्योगको पानीको नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाएको छ ।
कुन उद्योगमा कस्तो कारबाही ?
गोठाटार–७ मा रहेको ओसियन ड्रिंकिङ वाटर इन्डस्ट्रिजले खाद्य अनुमतिपत्र समेत नवीकरण नगरी व्यवसाय सञ्चालन गरिरहेको पाइएको छ । अनुगमन क्रममा उद्योगका पाइपलाइनहरू फुटेको अवस्थामा रहेको र अरू नै कम्पनीका जार प्रयोग गरेको भेटिएको थियो ।
विभाग टोलीले त्यहाँबाट पुराना, प्वाल परेका र कुच्चिएका ७३ वटा जार नष्ट गरेको छ । पानीको नमुना संकलन गर्दै विभागले उद्योगलाई कैफियत सुधार गरी ७ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
कागेश्वरी मनोहरा-७ मा रहेको भद्रकाली पानी उद्योग परिसरमा वर्षायाममा पानी जम्ने (डुबान हुने) जोखिम रहेको र जार भर्ने कक्ष बाहिरको टायल फुटेको पाइएको छ ।
विभागले पुराना र कुच्चिएका ४१ वटा जार नष्ट गर्दै पानी नजम्ने गरी संरचना मर्मत गर्न निर्देशन दिएको छ । यस उद्योगबाट पनि पानीको नमुना संकलन गरिएको छ ।
यस्तै कागेश्वरी मनोहरा-७ बिरेगाउँमा रहेको मनोहरा फुड एन्ड बेभरेज प्रालिमा एउटै कक्षभित्र जार पखाल्ने र पानी भर्ने काम भइरहेको भेटिएको थियो ।
यसले गर्दा पानीमा सम्भावित संक्रमण जोखिम हुने भन्दै विभागले तत्काल जार सफा गर्ने र भर्ने कक्ष छुट्याउन निर्देशन दिएको छ । अनुगमन टोलीले यहाँबाट १९ वटा पुराना जार नष्ट गरी पानीको नमुना परीक्षणका लागि लगेको छ ।
कागेश्वरी मनोहराकै सिद्धकाली अक्वा पानी उद्योगबाट १६ वटा कुच्चिएका पुराना जार नष्ट गरिएको छ । साथै, पानी भर्ने ठाउँको ठिक अगाडि अनिवार्य हुनुपर्ने ‘यूभी लाइट’ नराखिएको पाइएपछि तत्काल त्यसको व्यवस्था मिलाउन विभागले निर्देशन दिएको छ ।
बजारमा पानीको माग उच्च हुने समयमा उद्योगहरूले जस्तो पायो त्यस्तै जारमा पानी भरेर पठाउने र सरसफाइमा ध्यान नदिने जनगुनासो बढेपछि विभागले अनुगमनमा कडाइ गरेको हो ।
संकलित नमुनाको प्रयोगशाला रिपोर्ट आएपछि थप कारबाही प्रक्रिया अगाडि बढ्ने विभागले जनाएको छ ।
प्रतिक्रिया 4