+

बर्ड फ्लू अलर्ट : पन्छीबाट मानिससम्म सर्न सक्ने भाइरस कति खतरनाक ?

२०८३ जेठ  १३ गते १३:५२ २०८३ जेठ १३ गते १३:५२

यदि संक्रमित कुखुरा जोगाएर राखियो भने संक्रमण नियन्त्रण बाहिर जान सक्छ । यही कारणले विश्वभर संक्रमित क्षेत्रका पन्छी नष्ट गर्ने अभ्यास अपनाइन्छ,

बर्ड फ्लू अलर्ट : पन्छीबाट मानिससम्म सर्न सक्ने भाइरस कति खतरनाक ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ७० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा राम्ररी पकाएको मासु र अण्डा खान सुरक्षित हुने बताए।

अहिले देशका विभिन्न भागमा बर्ड फ्लू देखा परिरहेको छ । काठमाडौंको पनि गोकर्णेश्वर नगरपालिका वडा नं. २, ३ र ४ मा बर्ड फ्लू पुष्टि भएपछि अहिले स्थानीय तहले उच्च सतर्कता अपनाएको छ ।

संक्रमित क्षेत्रमा कुखुरा, हाँस, बट्टाई, लौकाटजस्ता पन्छी नष्ट गर्ने, खोर निसंक्रमण गर्ने र पन्छीजन्य वस्तुको ओसारपसारमा नियन्त्रण गर्ने काम भइरहेको छ ।

विशेषगरी कुखुरा फार्ममा संक्रमण फैलिन थालेपछि सर्वसाधारणमा त्रास बढेको हो । यही घटनाले फेरि धेरैमा चासो बढेको छ, बर्ड फ्लू के हो ? यो कसरी सर्छ ? मानिसलाई कति खतरनाक हुन्छ ? र, यसबाट कसरी जोगिने ?

यही विषयमा सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरिएको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय फेरि बर्ड फ्लूको चर्चा किन बढिरहेको छ ?

पछिल्ला केही महिनायता विभिन्न देशमा कुखुरा तथा अन्य पन्छीमा बर्ड फ्लूको संक्रमण बढिरहेको छ । नेपालमा पनि केही क्षेत्रमा संक्रमण पुष्टि भएपछि फेरि जनचासो बढेको हो ।

अहिले देखिएको भाइरस मुख्यतः एचफाइभवान समूहसँग सम्बन्धित मानिन्छ, जुन विश्वभर निगरानीमा राखिएको प्रकार हो ।

बर्ड फ्लू सामान्य मौसमी रुघाखोकीजस्तो रोग होइन । यो पन्छीमा तीव्र रूपमा फैलिने र ठूलो आर्थिक क्षति गराउने रोग हो । विशेषगरी कुखुरा फार्ममा एकपटक संक्रमण प्रवेश गरेपछि धेरै कुखुरा छोटो समयमै मर्न सक्छन् ।

के हो बर्ड फ्लू ? वास्तवमा यो कति खतरनाक रोग हो ?

बर्ड फ्लू अर्थात् ‘एभियन इन्फ्लूएन्जा’ एउटा भाइरल संक्रमण हो, जसले मुख्य रूपमा पन्छीहरूलाई असर गर्छ । यो रोग इन्फ्लूएन्जा ‘ए’ भाइरसबाट हुन्छ । खासगरी एचफाइभ १ र एचसेभेनएननाइन जस्ता प्रकार धेरै खतरनाक मानिन्छन् ।

यो भाइरस सामान्यतया जंगली चराचुरुङ्गी, हाँस र पानीमा बस्ने पन्छीहरूमा पाइन्छ । ती पन्छीहरूबाट घरेलु कुखुरा, हाँस वा फार्मका अन्य पन्छीमा संक्रमण फैलिन्छ । कतिपय अवस्थामा मानिसमा पनि सर्न सक्छ ।

सबै प्रकारका बर्ड फ्लू उत्तिकै घातक हुँदैनन् । तर एचफाइफवानएन जस्ता केही भाइरसले मानिसमा संक्रमण भए गम्भीर निमोनिया, श्वासप्रश्वास समस्या र मृत्यु समेत गराउन सक्छन् ।

मानिसमा संक्रमण दुर्लभ भए पनि एकपटक गम्भीर संक्रमण भयो भने बिरामीको अवस्था छिट्टै बिग्रिन सक्छ । त्यसैले, यसलाई सामान्य फ्लू सम्झेर बेवास्ता गर्नु हुँदैन ।

मानिसमा यो रोग कसरी सर्छ ? कस्ता व्यक्ति बढी जोखिम पर्छन् ?

मुख्यतः संक्रमित पन्छीबाट मानिसमा सर्छ । संक्रमित कुखुरा, हाँस वा अन्य पन्छीको दिसा, र्‍याल, प्वाँख वा शरीरबाट निस्किने तरल पदार्थमार्फत भाइरस फैलिन सक्छ ।

विशेषगरी फार्ममा काम गर्ने, कुखुरा काट्ने, मरेका पन्छी व्यवस्थापन गर्ने वा संक्रमित खोर सफा गर्ने व्यक्तिमा जोखिम बढी हुन्छ । भाइरस दूषित धुलो वा हावासँग मिसिएर पनि शरीरमा प्रवेश गर्न सक्छ ।

कुखुरामा संक्रमण भएको कसरी थाहा हुन्छ ?

संक्रमित कुखुरामा केही लक्षण देखिन्छन् । जस्तै, अचानक धेरै कुखुरा मर्नु, दाना कम खानु, सुस्त हुनु, अण्डा कम दिनु, टाउको वा घाँटी सुन्निनु, सास फेर्न गाह्रो हुनु, निलो रङ देखिनु आदि । यदि फार्ममा अचानक धेरै कुखुरा बिरामी परे वा मर्न थाले तत्काल पशु सेवा कार्यालयमा खबर गर्नुपर्छ ।

कुखुरा फार्ममा काम गर्नेहरू कसरी सुरक्षित रहने ? त्यसका पनि उपाय होलान् नि ?

बर्ड फ्लूबाट सबैभन्दा बढी जोखिममा कुखुरा फार्ममा काम गर्ने व्यक्तिहरू हुन्छन् । त्यसैले, फार्ममा जैविक सुरक्षा प्रणाली कडाइका साथ लागू गर्नुपर्छ ।

खोरभित्र जाँदा मास्क, ग्लोभ्स, बुट र एप्रोन प्रयोग गर्नुपर्छ । एउटा फार्ममा प्रयोग गरिएको सामान अर्को फार्ममा लैजानु हुँदैन । खोर नियमित रूपमा निसंक्रमण गर्नुपर्छ ।

यदि फार्ममा अचानक धेरै कुखुरा बिरामी परे वा मर्न थाले तुरुन्त पशु सेवा कार्यालयमा जानकारी दिनुपर्छ ।

यस्तो संक्रमण पुष्टि भइरहेको खबर सुनिरहँदा कुखुराको मासु र अण्डा खान सुरक्षित छ ?

बर्ड फ्लू लागेको कुखुरा खाँदैमा मानिसमा संक्रमण गराउँछ भन्ने भ्रम छ, जुन गलत हो । राम्ररी पकाएर खाँदा त्यसमा भएको भाइरस बाँच्न सक्दैनन् । र, सामान्यतया सुरक्षित हुन्छ । समस्या काँचो वा राम्ररी नपाकेको खानेकुरामा हुन्छ ।

यो भाइरस कम्तीमा ७० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा निष्क्रिय हुन्छ । त्यसैले, मासु र अण्डा राम्ररी पकाएर खाइयो भने डराउनुपर्ने अवस्था हुँदैन ।

तर काँचो मासु छोएपछि साबुनपानीले हात धुनु, काँचो र पाकेको खानेकुरा अलग राख्नु र भान्सामा सरसफाइमा ध्यान दिनु आवश्यक हुन्छ ।

अहिले सर्वसाधारण डराउनुपर्ने अवस्था छ ?

अत्यधिक आत्तिनुपर्ने अवस्था छैन । तर सतर्कता भने अनिवार्य छ । संक्रमण देखिएको क्षेत्रको सूचना बेवास्ता गर्ने, बिरामी पन्छी लुकाउने वा सुरक्षा मापदण्ड नअपनाउने कामले जोखिम बढाउन सक्छ ।

अहिले अधिकांश संक्रमण पन्छीमै सीमित रहेको देखिन्छ । मानिसमा संक्रमणका घटना निकै कम छन् र तीमध्ये धेरैजसो संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिमा देखिएका छन् ।

बर्ड फ्लूका संक्रमण शरीरमा प्रवेश गरेको कसरी पहिचान गर्ने ?

बर्ड फ्लूको भाइरस शरीरमा प्रवेश गरेपछि मुख्यतः श्वासप्रश्वास प्रणालीमा असर गर्छ । ज्वरो, खोकी, घाँटी दुख्ने, शरीर दुख्ने र आँखा रातो हुने सुरुवाती लक्षणसँगै संक्रमण गम्भीर भएमा निमोनिया, सास फेर्न गाह्रो, फोक्सोमा गम्भीर संक्रमण,अक्सिजन कमी, अंग फेल हुने र मृत्यु समेत हुन सक्छ । त्यसैले, यो सामान्य रुघाखोकीजस्तो रोग होइन ।

यदि संक्रमित पन्छीसँग सम्पर्क भएको छ र त्यसपछि ज्वरो वा श्वासप्रश्वासको समस्या देखिएको छ भने तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ ।

बर्ड फ्लू भएको पुष्टी भएको फार्म र त्यसआसपासको क्षेत्रका संक्रमित कुखुरा नष्ट गरिन्छ ? यसको कारण के हो ?

बर्ड फ्लूको भाइरस अत्यन्त छिटो फैलिन्छ । एउटा खोरबाट अर्को खोर र एउटा फार्मबाट अर्को फार्ममा छोटो समयमै पुग्न सक्छ ।

यदि संक्रमित कुखुरा जोगाएर राखियो भने संक्रमण नियन्त्रण बाहिर जान सक्छ । यही कारणले विश्वभर संक्रमित क्षेत्रका पन्छी नष्ट गर्ने अभ्यास अपनाइन्छ, जसलाई ‘कुलिङ’ भनिन्छ ।

संक्रमित पन्छी नष्ट गरेर, खोर निसंक्रमण गरेर र ओसारपसार रोकेर मात्रै रोग नियन्त्रण सम्भव हुन्छ ।

बर्ड फ्लू महामारी बन्न सक्ने सम्भावना कत्तिको छ ?

अहिलेको अवस्थामा बर्ड फ्लू मानिसबाट मानिसमा सहज रूपमा फैलिने रोग बनेको छैन । यही कारण अहिले विश्वव्यापी महामारीको अवस्था छैन । तर भाइरस निरन्तर परिवर्तन भइरहने भएकाले वैज्ञानिकहरू सतर्क छन् ।

यदि भविष्यमा भाइरसले सजिलै मानिसबाट मानिसमा सर्ने क्षमता विकास गर्‍यो भने ठूलो समस्या आउन सक्छ । त्यसैले, अहिले विश्वभर बर्ड फ्लूको निगरानी बढाइएको छ ।

सुरुमा कहाँ देखियो ? त्यसपछि के भयो ?

बर्ड फ्लूको इतिहास हेर्दा सन् १९९७ मा हङकङ मा पहिलोपटक एचफाइभवान भाइरस मानिसमा पुष्टि भएको थियो । त्यसपछि यो भाइरस एशिया, युरोप, अफ्रिका र अमेरिकासम्म फैलियो ।

पछिल्ला वर्षहरूमा विशेषगरी यो भाइरसले विश्वभर ठूला पोल्ट्री फार्महरूमा संक्रमण फैलाइरहेको छ । लाखौं कुखुरा नष्ट गरिएका छन् । अमेरिकामा समेत पछिल्लो समय गाईमा समेत संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार २००३ यता विभिन्न देशमा मानिसमा पनि सयौं संक्रमण पुष्टि भएका छन् ।

नेपालमा पनि बेलाबेलामा कुखुरा फार्ममा बर्ड फ्लू देखिने गरेको छ । संक्रमण फैलिन नदिन सरकारले प्रायः संक्रमित कुखुरा नष्ट गर्ने नीति अपनाउने गरेको छ ।

सर्वसाधारणलाई तपाईंको मुख्य सन्देश के हो ?

अहिले आवश्यक कुरा डर होइन, सचेतना हो । बिरामी वा मरेका पन्छी नछुने, मासु तथा अण्डा राम्रोसँग पकाएर खाने र सरसफाइमा ध्यान दिने बानी नै सबैभन्दा ठूलो सुरक्षा हो ।

यदि कतै असामान्य रूपमा धेरै पन्छी बिरामी परेको वा मरेको देखिए तुरुन्त स्थानीय तह वा पशु सेवा कार्यालयलाई खबर गर्नुपर्छ । संक्रमण लुकाउने वा बेवास्ता गर्ने कामले ठूलो समस्या निम्त्याउन सक्छ ।

पन्छी बर्ड फ्लू
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बर्ड फ्लू अलर्ट : पन्छीबाट मानिससम्म सर्न सक्ने भाइरस कति खतरनाक ?

बर्ड फ्लू अलर्ट : पन्छीबाट मानिससम्म सर्न सक्ने भाइरस कति खतरनाक ?

इबोलाको नयाँ प्रजातिविरुद्ध खोप विकास गरेको रुसको दावी

इबोलाको नयाँ प्रजातिविरुद्ध खोप विकास गरेको रुसको दावी

चर्को घामबाट भित्र पस्नेबित्तिकै धेरै चिसो पानी पिउनु हुँदैन किन  ? ५ कारण

चर्को घामबाट भित्र पस्नेबित्तिकै धेरै चिसो पानी पिउनु हुँदैन किन ? ५ कारण

परदेशको तनाव : मानसिक अस्पतालमा बढ्दै युवाको भीड

परदेशको तनाव : मानसिक अस्पतालमा बढ्दै युवाको भीड

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

४० कटेसी रमाउने होइन, जीवनशैली सुधार गर्ने हो

४० कटेसी रमाउने होइन, जीवनशैली सुधार गर्ने हो