News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका सद्भाव आचार्यले भारतका भीभान उभायकारलाई पराजित गर्दै १२औं नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि रक्षा गरेका छन् ।
- महिलातर्फ नेपालकी तारा कार्की चित्रकारले समग्रमा २ सय ४१ स्कोर गर्दै स्वर्ण पदक प्राप्त गरिन् ।
- प्रतियोगितामा नेपालले सर्वाधिक ३ स्वर्ण, १ रजत र १ कास्यसहित कुल ५ पदक प्राप्त गरेको छ ।
१५ जेठ, काठमाडौं । साविक विजेता नेपालका सद्भाव आचार्य १२औं नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन् ।
आज इभन-पार ७२ को स्कोर सहित समग्रमा ९-अन्डर २ सय ७ को नतिजामा भारतका भीभान उभायकारलाई ४ स्ट्रोकले हराउँदै उपाधि रक्षा गर्न सफल भएका हुन् । सदभाव टिम र व्यक्तिगततर्फ दुई स्वर्ण जित्न सफल रहे । गत संस्करण पनि उनले दुई स्वर्ण जितेका थिए।
आज २-अन्डर ७० बनाउँदै ५-अन्डर २ सय ११ सहित भारतका भीभान दोस्रो भए । नेपालका राहुल विश्वकर्मा समग्रमा ३-अन्डर २ सय १३ सहित तेस्रो भए । उनले आज १-ओभर ७३ खेले ।
यस्तै के दानुसान, निखिल पाण्डे, निलोफर शिवमुर्ती, चनाका परेरा, डेचेन लेन्डुप, वाङ्छेन ढेन्डुप र तेन्जिङ्ग छिरिङले क्रमश चौथो देखि दशौं स्थानमा प्रतियोगिता सकाए ।
सदभावले तेस्रो, छैटौं र सातौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाल्दा फ्रन्ट नाइन २-अन्डर ३४ खेले । यसपछि १० औं, ११ औं र १७ औं होलमा बोगी खेप्दा १५ औं होलको बर्डीले ब्याक नाइन २-ओभर ३८ मा सकाए ।
भीभानले सातौं र नवौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले । फ्रन्ट नाइन १-अन्डर ३५ खेले। बोगी रहित ब्याक नाइन खेलेका उनले १३औं होलमा बर्डी प्रहार गरे । ब्याक नाइन १-अन्डर ३५ खेले ।
राहुलले तेस्रो होलमा बर्डी प्रहार गरे। पहिलो र आठौं होलमा बोगी प्रहार गर्दा फ्रन्ट नाइन १-ओभर ३७ खेले । बाँकी नौ होलमा पार जोगाएका उनले ब्याक नाइन इभन-पार ३६ मा सकाए ।
महिलातर्फ नेपालकी तारा कार्की चित्रकार समग्रमा २५-ओभर २ सय ४१ सहित सम्झना खत्रीलाई १४ स्ट्रोकले हराउँदै स्वर्ण जित्न सफल भइन् । आज ताराले १२-ओभर ८४ मा खेल सकाइन् ।
समग्रमा २ सय ५५ स्कोर जोडेकी सम्झना रजत पदक प्राप्त गरिन् । उनले आज १२-ओभर ८४ को प्रदर्शन गरिन्। भारतकी नयोनिका कपुरले काउन्ट ब्याकमा २ सय ६० सहित कास्य हात पारिन् । उनले आज १३-ओभर ८५ मा खेल पुरा गरिन् ।
यू-१७ तर्फ भारतका भीभान उभायकार समग्रमा ५-अन्डर २ सय ११ सहित भारतका निलोफर शिवमुर्तीलाई ७ स्ट्रोकले हराउँदै उपाधि जित्न सफल रहे । उनले आज २-अन्डर ७० को स्कोर बनाए ।
१-अन्डर ७१ को स्कोर बनएका निलोफर समग्रमा २-ओभर २ सय १८ सहित दोस्रो भए । भारतका अर्का खेलाडी प्रिन्स बैंन्सला तेस्रो भए । समग्रमा १२-ओभर २ सय २८ खेलेका उनले आज ३-ओभर ७५ मा खेल पुरा गरे ।
साविक विजेता सद्भाव आचार्य र राहुल विश्वकर्माको जोडीले १३-अन्डर २ सय ७५ को उत्कृष्ट स्कोरमा भारतको तरूण सरदेशाई एकेडेमीलाई १९ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उपाधिको जिते । भारतको तरूण सरदेशाई एकेडेमी दोस्रो हुँदा श्रीलंका तेस्रो भयो ।
प्रतियोगितामा नेपालले सर्वाधिक ३ स्वर्ण, १ रजत र १ कास्य सहित कुल ५ पदक हात पार्यो । भारतले १ स्वर्ण, ३ रजत र २ कास्य सहित ६ पदक प्राप्त गर्दा श्रीलंकाले एउटा कास्य हात पार्यो । भुटान र बङ्गलादेश पदकविहीन भए ।
प्रतियोगिताका विजयी खेलाडीहरूलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष टासी घले, नेपाल गल्फ संघका कोषाध्यक्ष किसन अग्रवाल र सदस्य चन्द्र टण्डनले पुरस्कार वितरण गरे ।
५४ होलको तीन दिने प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बङ्गलादेश र भुटान गरी ५ दक्षिण एसियाली राष्ट्रका ५२ खेलाडीको सहभागिता रहेको थियो ।
प्रतियोगिता आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, आरएण्डए, वागमती प्रदेश खेलकुद विकास बोर्ड, सूर्य नेपाल प्रालि, सिटी एक्सप्रेस मनि ट्रान्सफर, होटल रोयल सिंगी, एक्सट्रीम इनर्जी ड्रिंक्स, सिटिजन लाईफ इन्स्योरेन्स, सिटिजन बैंक र शिखर इन्स्योरेन्सले सहयोग गरेका छन् ।
प्रतिक्रिया 4