+

काभा महिला भलिबलमा नेपाल पदकविहीन, नयाँ खेलाडीलाई एक्सपोजर मात्र

२०८३ जेठ  १६ गते १४:१० २०८३ जेठ १६ गते १४:१०

घरेलु कोर्टमा भएको काभा महिला च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेको नेपाल पहिलो पटक पदकविहिन बन्दा नयाँ खेलाडीका लागि अनुभव र एक्सपोजर लिने अवसर मात्र भयो ।

काभा महिला भलिबलमा नेपाल पदकविहीन, नयाँ खेलाडीलाई एक्सपोजर मात्र

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल तेस्रो स्थानको खेलमा भारतसँग पराजित हुँदै पदकविहीन बनेको छ ।
  • नेपालले काभा महिला भलिबलको इतिहासमा पहिलो पटक घरेलु कोर्टमै कुनै पनि पदक जित्न नसकेको हो ।
  • यसै प्रतियोगितामार्फत नेपाल पहिलो पटक एफआईभीबीको विश्व वरियतामा समावेश हुँदै ६१औं स्थानमा रहन सफल भएको छ ।

१६ जेठ, काठमाडौं । ८ जेठ अर्थात् नेपालमा ‘नेशनल भलिबल डे’ मनाइने दिननै काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदा नेपाली महिला भलिबल टोलीको लक्ष्य उपाधि जित्ने नै थियो । उपाधि जित्न नसकेपनि कम्तीमा शीर्ष तीनमा रहेर कुनै पदक जित्न सके त्यो उपलब्धि हुने आशा थियो ।

तर १५ जेठमा च्याम्पियनसिप समपन्न हुँदा नेपाल शीर्ष ३ भित्र पनि पर्न सकेन । तेस्रो स्थानको लागि भएको खेलमा भारतसँग पराजित भएपछि नेपाल घरेलु कोर्टमै पदकविहीन भयो । भारतसँग नै पहिलो खेलमा पराजित हुँदै प्रतियोगिता सुरुवात गरेको नेपाल अन्तिम खेलमा भारतसँगै ३-१ को सेटमा पराजित भएर प्रतियोगिता सकायो ।

नेपालले पछिल्लो सयम काभाको प्रतियोगितामा कुनै न कुनै पदक जित्दै आइरहेकोमा पहिलो पटक नेपालले कुनै पदक जित्न सकेन । यसले नेपाली टिम मात्र नभएर समग्र नेपाली भलिबल समर्थक र दर्शक पनि केही निराश बने ।

‘हाम्रो प्रदर्शन राम्रो भयो तर जुन हामीले अपेक्षा गरेको एउटा मेडल जित्नपर्छ भन्ने थियो त्यो सफल भएन । नेपाली भलिबल प्रेमीले राखेको अपेक्षा पूरा हुन सकेन । त्यसले दु:खी हुन सक्छ’ नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले भने ।

सन् २०२३ मा घरेलु कोर्टमा भएको काभा महिला च्यालेन्ज कपमा तेस्रो भएको नेपाल २०२४ मा भएको काभा महिला नेसन्स लिगमा दोस्रो बनेको थियो । त्यसअघि सन् २०१९ र २०२२ मा नेपालले बंगलादेशमा भएको एभिसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबलमा अपराजित रहँदै उपाधि जितेको थियो । सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा महिला टिमले रजत जितेको थियो ।

नेपालको यू-२० महिला टिमले पनि पछिल्लो समय काभाको जुनियर प्रतियोगिता खेल्दै कांस्य र रजत पदक जितिसकेको छ । तर यस पटक भने घरेलु कोर्टमै नेपालले पदक जित्न सकेन ।

वरियतामा समावेश, नतिजामा निराश

विश्व भलिबलको सर्वोच्च निकाय एफआईभीबीको विश्व वरियतामा मान्यता प्राप्त प्रतियोगिता भएको पनि यस प्रतियोगिताको विशेष महत्व थियो । प्रतियोगितामा पहिलो खेल खेलेपछि नै नेपाल एफआईभीबी वरियतामा समावेश हुनु, भारत भन्दा वरियतामा अघि रहनु र नेपाली भलिबल इतिहासमा पहिलो पटक विश्व वरियतामा मान्यता प्राप्त प्रतियोगिता नेपालमा आयोजना हुनु नेपाली भलिबलकै लागि सुखद क्षण बन्यो । यसका लागि नेपाल भलिबल संघ र काभाको प्रयास सराहनीय रह्यो ।

तर नेपालले घरेलु कोर्टमै उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्दै वरियतामा सकेसम्म माथि पुग्ने, एसिया कपमा छनोट हुने जस्ता लक्ष्य राखेपनि त्यो भने पूरा हुन सकेन ।

नेपालले कुल ५ खेल खेल्दा २ खेल जित्यो भने ३ खेलमा पराजित भयो । एकै प्रतियोगितामा यस पटक भारतसँग नेपाल दुई पटक पराजित भयो । भारतसँग पहिलो खेलमा पाँच सेट खेलेर पराजित भएको नेपाल तेस्रो स्थानको लागि भएको खेलमा ३-१ ले पराजित भयो ।

नेपालले कीर्गिस्तान र माल्दिभ्सलाई मात्र हराउन (सोझो सेटमा)सक्यो । यस्तै दुई वर्षअघि नेपालले काठमाडौंमै पराजित गरेको इरानसँग यस पटक नेपाल सहजै (सोझो सेटमा) पराजित भयो ।

नेपालका मुख्य प्रशिक्षक जगदिश भट्टले भारतलाई हराएर तेस्रो पदक जित्ने लक्ष्य राखेपनि केही गल्ती हुँदा त्यो पूरा हुन नसकेको बताए । ‘हामीले तेस्रो मेडल आशा गरेका थियौं । सकेसम्म सोझो हान्ने लक्ष्य थियो । तर सर्भिसमा मिस्टेक भयो । सिल्ली मिस्टेकहरु भयो । महत्वपूर्ण समयमा गल्ती भयो’ उनले भने ।

भट्टले भारतविरुद्ध नेपालले राम्रो खेलेको तर नतिजा ल्याउन नसकेको बताए । ‘हामीले धेरै राम्रो खेलेको हो । भारतले पनि आज धेरै राम्रो खेल्यो । खासमा हामीले ओपनिङ खेल नै जित्नुपर्ने थियो, भट्टले भारतसँग हारपछि उनले भने, ‘दोस्रो सेट जित्नुपर्ने । एक खेलाडी घाइते भयो । २३-२४ हुँदा प्रेसरले सर्भिस आउट भयो हामी त्यहाँ चुक्यौँ जस्तो लाग्छ । दुवै टिमले नेक टु नेकमा प्रतिस्पर्धा गरेको छ । त्यो गेमको हिसावले राम्रो हो ।’

८ टोली सहभागी प्रतियोगितामा इरानले अपराजित रहँदै उपाधि जित्दा कजाखस्तान दोस्रो र भारत तेस्रो भयो भने नेपाल चौथो स्थानमा रह्यो । प्रतियोगितामा पहिलो खेल खेलेपछि एफआईभीबी वरियतामा ६२औं स्थानमा समावेश भएको नेपाल त्यसपछि ५८औं, ५६औं हुँदै फेरि अन्तिममा ६१औं स्थानमा रह्यो ।

६ नयाँ खेलाडीको इन्ट्री

६ नयाँ खेलाडीलाई समावेश गर्दै निरुता ठगुन्नालाई नयाँ कप्तान बनाएर कोर्टमा उत्रेको नेपाली टोलीका लागि यस पटकको प्रतियोगिता उपाधि वा पदक जित्ने भन्दा पनि धेरै हदसम्म सिक्ने, बलिया टिमसँग खेलेर अनुभव बटुल्ने र नयाँ खेलाडीलाई एक्सपोजर दिनेमा सिमित रह्यो ।

पहिलो पटक राष्ट्रिय टिममा समावेश भएका ६ वटै खेलाडीले सिनियर टिमबाट डेब्यू गर्नु सुखद पक्ष रह्यो । मिना सुनार, सुनिता खत्री, सलिना बुढा मगर, जसना महतो, बसन्ती साउदीले भारत विरुद्धको पहिलो खेलमै डेब्यू गरे भने एलिशा मानन्धरले माल्दिभ्स विरुद्ध डेब्यू गरिन् । पहिलो खेलमा राम्रो प्रदर्शनपछि स्पाइकर मिना र मिडल ब्लकर सुनिताले त्यसपछि लगातार अवसर पाएका थिए ।

मुख्य प्रशिक्षक भट्टले नयाँ खेलाडीले अझै धेरै अवसर नपाएको र यस पटक राम्रो खेल्ने खेलाडीलाई अवसर दिएको बताए । उनले १७ वर्षीय मिनाले राम्रो प्रदर्शन गरेको बताए । ‘गेममा जो चल्यो उसैलाई खेलाउने हो । मिनाले अपेक्षित रुपमा रिसिभ पनि राम्रो गर्‍यो । डिफेन्स र सर्भिसमा अली कमजोर भयो । पहिलो पटक सिनियर टिम डेब्युमै मिनाले जुन कन्फिडेन्स देखाएको छ निकट भविष्यमा राम्रो प्रदर्शन गर्छ जस्तो लाग्छ’ उनले भने ।

जुनियर खेलाडीलाई नियमित ट्रेनिङ र एक्सपोजर चाहिने भट्टले बताए । ‘जुनियर खेलाडीहरुका लागप नियमित ट्रेनिङ र अनुभव भयो भने राम्रो हुन्छ । निरन्तर खेल्यो भने एक्सपोजर दियो भने यो नेपाली टिमले भविष्यमा राम्रो गर्छ ।’

नयाँ खेलाडीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै सम्भावना देखाउँदा अनुभवी तथा पुराना खेलाडीहरुको प्रदर्शन सोचेजस्तो हुन सकेन । दुई वर्षअघि डेब्यु गरेकी मिडल ब्लकर सुमित्रा रेग्मीले यस पटक नेपालबाट राम्रो प्रदर्शन गरिन् ।

बलियो टिमसँग अनुभव लिन सकिन्छ

नेपालले यसपटक काभामा पाँच खेल खेल्दा तीन टिम एसियन स्तरमा नियमित जस्तो खेल्दै आएका थिए । इरान, काजखस्तान र भारतले काभा भन्दा माथिल्लो प्रतियोगिताहरु पनि खेल्दै आएका छन् ।

यी टिमहरुमध्ये भारतलाई छाडेर अन्य टिमसँग नेपालले धेरै खेल खेल्न पाएको छैन । त्यसैले प्रशशिक्षक भट्टले यस पटक नेपालमा आएका टिमहरुको स्तर धेरै माथि रहेको र कमजोरी टोलीलाई जित्नु भन्दा पनि बलियो टोलीसँग खेलेर अनुभव लिनु सकारात्मक रहेको बताए ।

‘अहिले हामी धेरै उच्च स्तरको टिमसँग खेलिरहेका छौं । हिजोको भन्दा अहिलेको टिम धेरै माथि छ । सहभागी टिममा एक-दुई टिम बाहेक अरु टिमको स्तर माथि छ’ भट्टले भने, ‘हामीलाई कमजोर टिमसँग खेल्नुभन्दा पनि बलियो टिमसँग खेलेर अनुभव लिनुले महत्व राख्छ । यसलाई हामी आउने दिनमा सुधार गर्छौं ।’

भारतसँग अहिलेसम्म १२ खेल खेल्दा नेपालले जम्मा १ खेल जितेको छ भने इरानसँग ३ खेल खेल्दा १ जित र २ हारको नतिजा छ । कजाखस्तानलाई नेपालले हराउन सकेको छैन ।

अब नेपालले तत्काल खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता छैन । तर नेपालले आगामी सेप्टेम्बरमा जापानको आइची नागोयामा हुने २०औं एसियन गेम्स खेल्ने पक्का भएको नेपाल भलिबल संघले जनाएको छ ।

एसियन गेम्स आउन केही महिना बाँकी भएकोले योजना बनाएर अघि बढ्यो भने यो भन्दा राम्रो प्रदर्शन गर्न सकिने प्रशिक्षक भट्टको भनाइ छ ।

काभा महिला भलिबल च्याम्पियनसिप नेपाली महिला भलिबल टिम
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय