News Summary
Generated by OK AI. Editorially reviewed.- एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ ।
- नेपालले दिएको १२७ रनको लक्ष्य मलेसियाले ८ बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गर्यो ।
- नेपालले अब तेस्रो स्थानका लागि हुने खेलमा चीनलाई पराजित गरेमा एसियन गेम्समा छनोट हुनेछ ।
१६ जेठ, काठमाडौं । एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत नेपाल सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ ।
नेपालले दिएको १२७ रनको लक्ष्य मलेसियाले ८ बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टायो । एल्सा हन्टरले २४ बलमा १० चौका र १ छक्कासहित ४८ रन बनाएर मलेसियाको जितको आधार तय गरिन् ।
उनले यसअघि सन् २०२४ को एसीसी प्रिमियर कप सेमिफाइनलमा पनि नेपालविरुद्ध शानदार प्रदर्शन गर्दा मलेसियाले नेपाललाई ४ विकेटले हराएको थियो ।
धनुश्री मुहुननले २१, आइना हमिजाले १८ तथा माहिरा इजातीले १४ रन बनाइन् । नेपालले अन्त्यतिर बलिङमा पुनरागमन गरेपनि जित्न सकेन ।
१५ ओभरमा ११४-४ को अवस्थामा थियो । १६औं ओभरमा रिया शर्माले २ विकेट लिइन् भने १७औं ओभरमा सीता रानामगरले १ अनि १८औं ओभरमा रियाले १ विकेट लिएपछि मलेसिया ११९-८ को अवस्थामा पुगेको थियो ।
त्यसपछि ब्याटिङमा आएकी वान जुलियाले अविजित ६ रन बनाएर खेल जिताइन् । नेपालका लागि रिया शर्माले ३ विकेट लिँदा मनिषा उपाध्याय र रुबिना क्षेत्रीले २-२ तथा सीता रानामगरले १ विकेट लिइन् ।
त्यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएको थियो ।
कप्तान इन्दु बर्माले सर्वाधिक ४६ रन बनाएर अविजित रहिन् । कविता कुँवरले १५ बलमा ३३ रन बनाइन् । १८ ओभरमा ९२-५ को अवस्थामा रहेको नेपालले अन्तिम २ ओभरमा ३४ रन जोड्यो ।
मलेसियाका लागि विनिफ्रेड दुराइसिंगामले २ तथा आइसा एलिसा र माहिरा इजातीले १-१ विकेट लिए ।
यो खेल जितेमा नेपाल एसियन गेम्समा छनोट हुने थियो । अब तेस्रो स्थानका लागि हुने खेलमा चीनलाई हराएमा एसियन गेम्समा पुग्न सक्छ ।
अर्को सेमिफाइनलमा थाइल्यान्डले चीनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ र एसियन गेम्समा पनि छनोट भएको छ ।
प्रतिक्रिया 4