+
+
Shares

ह्वीलचेयरमा बसेर ‘मितज्यू’ जन्माउने जनक

ह्वीलचेयरमा बसेर आज जनक घर्तीमगरले मितज्यू निर्माण गरेका छन्, तर एक दिन जनककै संघर्षमाथि पनि चलचित्र बन्नुपर्नेछ ।

मनोज घर्तीमगर मनोज घर्तीमगर
२०८३ जेठ २० गते ११:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सडक दुर्घटनामा मेरुदण्डको चोट लागेर ह्वीलचेयरमा पुगेका निर्माता जनक घर्तीमगरले तीन करोड रुपैयाँभन्दा बढी लगानीमा चलचित्र मितज्यू निर्माण गरेका छन्।

मित – लोकसंस्कृतिमा आधारित शक्तिशाली सामाजिक सम्बन्ध हो, जुन रगतको नाताभन्दा बाहिरको सबैभन्दा विश्वसनीय, आत्मीय र नजिकको हुन्छ । लोकसंस्कृतिमा दुई सम्बन्ध समानस्तरका हुन्छन्– मित र सम्धी मितमा एउटा मात्र सम्बन्ध समान हुँदैन, मितकी श्रीमतीलाई पनि मितसरह नै सम्मान दिइन्छ ।

सम्धीबाट सम्धीज्यू बन्यो, मितबाट मितज्यू । मित शब्दसँग मिल्ने चलचित्र अहिले देशैभर प्रदर्शनरत छ– मितज्यू । दयाहाङ राई र सौगात मल्ल अभिनीत उक्त चलचित्रमा टेरिया मगरले धमाकेदार डेब्यु गरेकी छिन् । नामका आधारमा चलचित्रले मितकै कथा बोलेको होला, हुन सक्छ अन्य कथा पनि ।

म यहाँ चलचित्रको कथा भन्दै छैन । चलचित्रका निर्माताको कथा भन्न खोजिरहेको छु, जो युवा अवस्थामै ह्वीलचेयरमा दोस्रो जीवन बाँचिरहेका छन् । छातीमुनिका आफ्ना अंगहरू आँखाले देख्छन्, तर महसुस गर्दैनन्– ती आफ्नै हुन् या अरूका ।

दोस्रो जीवन !

हो, मृत्युबाट फर्किएर दोस्रो जीवन बाँचिरहेका छन् रोल्पा खुमेलका जनक घर्तीमगर । पहिलो जीवनमा चलचित्र घरज्वाइँ बनाए । क्रेटा कार हुइँकाउँदै चलचित्रको काम सके ।

दोस्रो जीवनमा उनी क्रेटा कारमा छैनन्, ह्वीलचियरमा छन् । छातीमुनिको शरीर निष्क्रिय छ, तर उनका सपना जीवित छन् । चलचित्र बनाएको पहिलो जीवनले पुनर्जन्म लियो । र, जन्मियो –मितज्यू, तीन करोडभन्दा बढी लगानीका साथ ।

०००

भक्तपुर र काभ्रेको सीमा साँगामा रहेको स्पाइनल कर्ड इन्जुरी पुनर्स्थापना केन्द्रमा मेरो दैनिक आउजाउ चलिरहेको थियो । २०८१ भदौ १७ गते दुर्घटना परेर स्पाइनल कड इन्जुरी भएकी माहिली बहिनी सविना तीन महिनादेखि त्यहाँ थिइन् ।

स्पाइनल कर्ड इन्जुरी पुनर्स्थापना केन्द्र एउटा पारिवारिक थलो हो, जहाँ स्पाइनल कर्ड इन्जुरीका थरीथरीका बिरामी हुन्छन् । प्रायको शरिरको तल्लो भाग पूर्ण पक्षघात भएको हुन्छ । खुट्टा चल्दैनन्, कतिपयका हात । ह्वीलचेलयर, वाकर र एल्बो क्रचेजको सहायतामा हुन्छन् । भूगोल फरक, जात फरक, लिङ्ग फरक हुन्छन्, तर कथाहरू भने उस्तै । बिरामीका मात्र होइन् उनीहरूका परिवारको भोगाइ र व्यथा पमि प्राय: उस्तै हुन्छन् ।

बिरामीको छेउमा ‘सञ्चो हुन्छौ, नआत्तिऔ, हामी छौँ’ भनेर ढाडस दिने परिवारका सदस्यहरू एकान्तमा आँसु थाम्न सक्दैनन् । आँसुका धारा चुहाउँदै, आ–आफ्ना पीडा साझा गर्छन्, आफूलाई हल्का बनाउन कोसिस गर्छन्।

०००

मेरुदण्डको नसामा गम्भीर चोट लागेपछि शरीरका भाग चल्न वा महसुस गर्न छोड्छन् । यस्ता बिरामीलाई महिनौसम्म राम्रो स्याहार चाहिन्छ । मेरी कान्छी बहिनीले आफ्नी दिदीकी स्याहारका लागि जागिर नै छोडिन् ।

पुनर्स्थापना केन्द्रमा हरेक साँझ नयाँ बिरामी को आयो, को घर फर्कियो, कस्तो अवस्थामा आयो र कस्तो अवस्थामा फर्कियो भन्ने कुराकानी भइरहन्छ।

२०८१ पुसको मध्यतिर माहिली बहिनीका लागि खाना पुर्‍याउन पुगेको थिएँ । कान्छी बहिनीले सुनाइ ‘दाइ रोल्पाबाट एकजना आएका छन्, घरज्वाइँ फिल्म बनाउनेवाला रे !’

म विक्षुब्ध बनेँ । उनै जनक घर्तीमगर पुनर्स्थापना केन्द्रको माथिल्लो तलामा छिमेकी बन्न आइपुगेछन् । स्पाइनल कर्ड इन्जुरी दुस्मनलाई पनि नहोस् भनिन्छ ।

०००

शरीर हलचल गर्न नसक्ने अवस्थामा पल्टिरहेका जनकसँगको भेटका कथा सुनाउनुअघि मलाई आफ्नै बहिनीको स्पाइनल कर्ड इन्जुरीको कथा जोड्न मन लाग्यो । कथा पनि के भन्नु, भयंकर दुर्घटना र त्यसबाट भोग्नुपरेका पीडाहरूको सङ्ग्रह ।

२०८१भदौ १७ गते अपराह्न सिंहदरबारभित्र थिएँ । साथी वीरबहादुर घर्तीको फोन आयो, ‘दुर्घटनामा पर्‍यो, सविना तल भीरमा पुगेकी छ । वडाध्यक्षलाई फोन गर्नुहोस्, उद्धारमा छन् ।’

४९ वर्षको उमेरमै बुबाको निधन हुँदै सानै रहेकी बहिनी सविना घर्तीमगर हाम्रो घर–परिवारको मूल खम्बा थिइन् । उनी त्यस दिन युवा क्लवको कार्यक्रममा जाँदै थिइन् ।

माडी–५, जङबाङ नजिकको पहरोबाट खसेको खबरले मलाई लाग्यो, बहिनी हामीबाट बिदा भइन् । त्यो पहरोबाट मोटरसाइकलसँगै झरेको मानिस बाँच्ने अनुमान गाह्रो हुन्छ ।

बहिनीको उद्धारको खबर आयो – शिरदेखि पाउसम्म घाउ नै घाउ । कम्मरभन्दा मुनिको भाग नचल्ने । छोएको पनि थाहा नपाउने ।

लिबाङ, भैरहवा हुँदै ट्रमा सेन्टरमा ल्याइपुर्‍याएपछि थाहा भयो– स्पाइनल कर्ड इन्जुरी भयो, टी–१० मा पूर्ण क्षति । टी–१० मा पूर्ण क्षति भएपछि के हुन्छ ?

चिकित्सकले भने, ‘ह्वीलचेयरको जिन्दगी । शल्यक्रिया गरेर भाँचिएको हड्डी निकाल्ने, स्टिल राखेर मेरुदण्ड सिधा बनाउने । बाँकी जीवन सहज बनाउन पुनर्स्थापनासम्बन्धी सीप सिक्न काभ्रे जाने ।’

उनी पूरा होसमा थिइनन् । बर्बराउदै एउटै कुरा भनिरहेकी थिइन्,– मलाई बचाउनुहोस् ।

हिजोसम्म परिवारका लागि, समाजका लागि रातदिन हिँडिरहेकी, दौडिरहेकी मेरी बहिनी अब ह्वीलचेयरमै सीमित सत्य मेरै अगाडि थियो ।

त्यो ह्वीलचेयरको दैनिकी, शौचालय व्यवस्थापन र दैनिक जीवनको म कल्पना गर्थें । तर उनलाई भने भन्थें, ‘सबै कुरा ठीक हुन्छ, नआत्तिऊ ।’ घरमा आमालाई निद्रा थिएन, आँसु थामिएको थिएन । परिवार, आफन्त र छिमेकीका आँसु थामिएका थिएनन् ।

म बहिनीको अगाडि आफूलाई दह्रो बनाउँथेँ । तर एक्लै हुँदा आँसु थाम्न सक्दिनथें । ट्रमा सेन्टरमा कैयौँ दिन लुकेर रोएँ । बहिनीको आँसु थाम्न अनेक हौसलाका कुरा गर्थ्यौं । उनी बाँचेकी छिन् भन्ने तथ्यलाई नै ठूलो खुसी बनाएर हँसाउने प्रयास गर्थ्यौं ।

ट्रमा सेन्टरमा शल्यक्रिया भयो । थेरापी र पुनर्स्थापनासम्बन्धी सीपका लागि काभ्रे पुर्‍यायौँ । शल्यक्रिया भएको थियो, तर उनी बेडमा आफैँ पल्टिन सक्दिनथिन । दुईजनाको सहयोग चाहिन्थ्यो । केही घण्टाको फरकमा पल्टाइदिनुपर्ने । दिसा–पिसाब निकालिदिनुपर्ने । यो क्रम रातदिन चल्थ्यो ।

०००

भदौ अन्तिम सातादेखि पुनर्स्थापना केन्द्रमा पुगेको माघको मध्यतिरसम्म त्यतै बित्यो । आत्मबल, मेहनत, हौसला, थेरापी र सिकाइले बहिनीको जीवन विस्तारै सहज बन्दै गयो ।

पुनर्स्थापना केन्द्रमा एक आदर्श व्यक्ति छन्– डा. राजु ढकाल । नवजात शिशु अवस्थामै पोलियो भएका डा. राजु आफैँ ह्वीलचेयरमा छन् र स्पाइनल इन्जुरी भएर ह्वीलचेयरमा रहेका मानिसलाई जीवन जिउन सिकाउँछन् । जब बिरामीहरू मुस्कुराउँदै फर्कन्छन्, सबैभन्दा खुसी हुने व्यक्ति हुन्छन् उनै डा. राजु ।

मेरी बहिनी महिनौको थेरापीपछि विस्तारै ह्वीलचेयरबाट वाकर र एल्बो क्रचेजसम्म आइपुगिन् । अहिले पनि एएफओको सहायताले खुट्टालाई नियन्त्रण गर्दै एल्बो क्रचेजको सहारामा लत्रिरहेकी छिन् घरमा ।

कम्मर अडिदैन । भुइँमा बस्न उठ्न गाह्रो छ । खुट्टाका औँला चल्दैनन्, चाल पनि पाउँदैनन् । तर, पनि उनी निरन्तर घिस्रिरहेकी छिन्, एकदिन निको भएर हिंड्ने आशाले । त्यहीं आशाले आत्मविश्वास दिइरहेको छ । टी–१० को पूर्ण क्षति । तर एल्बो क्रचेजसम्मको यात्रालाई चिकित्सक र थेरापिष्टले भनेका थिए कि, ‘तिम्रो मेहनत, साहस र आशावादीता ।’

पुनर्स्थापना केन्द्रको बसाइले बिरामी र आफन्तलाई स्पाइनल कर्ड इन्जुरीबारे गहिरो ज्ञान दिन्छ, किनकि त्यो एउटा पाठशाला र परिवारजस्तै हो । त्यहाँ पुग्ने हरेक व्यक्ति त्यस परिवारको सदस्य बन्छ । अर्काको कथा आफ्नैजस्तो लाग्छ, अर्काको पीडा आफ्नैजस्तो महसुस हुन्छ । त्यो अनुभूति त्यहाँ गहिरोसँग हुन्छ ।

०००

पुसको दोस्रो साता बहिनी बसेकोदेखि तेस्रो नम्बरमा रहेको क्याबिनमा मैले जनक घर्तीमगरलाई भेटेँ । उनी पल्टिन सक्दैथे । उनलाई आमा र श्रीमतीले सघाइरहेका थिए । छातीमुनि पूर्णपक्षघात थियो ।

त्यतिबेला बिरामीसँग भन्न सक्ने धेरै कुरा हुँदैनन् । सान्त्वना र हौसलाका कुरा मात्रै गर्ने हो । जनकको पीडा मैले महसुस गर्न सक्थेँ । उनको अवस्था र त्यसमा हुने प्रगतिबारे पनि म जानकार भइसकेको थिएँ । उनका आमा र श्रीमतीको जनक सञ्चो हुने आशामा म नाजावाफ सुन्थेँ ।

मैले मेरो बहिनीको दुर्घटना र पुनर्स्थापना केन्द्रको बसाइका कथा सुनाएँ । थोरै भए पनि प्रगति भएको कुरा सुनाएँ । ती कुराले जनककी आमालाई निकै आशावादी बनाउँथ्यो । म भन्थेँ, ‘नआत्तिनुहोस्, सञ्चो हुन्छ, विस्तारै हुन्छ, समय लाग्छ ।’

म भन्न सक्दैन थिए की छातीमुनि छोएको थाहा नपाउनेलाई ह्वीलचेयरको विकल्प छैन ।

जनकले आँसु बगाएको मैले देखिनँ । आमा, श्रीमती र साथीका अगाडि आफूलाई कठोर बनाउने प्रयास गरिरहेका थिए उनी । उनकी आमा र श्रीमती पनि जनकका अगाडि आँसु बगाउँदैनथे । तर जनकभन्दा अलि पर पुगेपछि आँसु थामिन्थेन ।

‘कसरी दुर्घटना भयो ?’ मैले जनकलाई सोधेँ ।

२०८१ साल मंसिर २३ गते राति जनक बुटवलबाट दाङ जाँदै थिए । उनले चलाएको क्रेटा कार अनियन्त्रित भएर रुखमा ठोक्कियो । एयरब्यागले समेत जोगाउन सकेन । त्यहाँबाट हेलिकोप्टरमा ह्याम्स अस्पताल र त्यसपछि ट्रमा सेन्टर पुर्‍याएर उनको शल्यक्रिया भयो । उनको टी–४ र टी–५ मा पूर्ण चोट छ ।

०००

जनक बेडमै थिए । उनी अरूको सहायताले मात्रै पल्टिन सक्थे ।

तर उनमा अचम्मको साहस, आँट र स्वीकारोक्ति मैले देखेँ । एकछिन घरज्वाइँ चलचित्रको कुरा भयो । त्यसपछि उनले भने, ‘म अब अर्को चलचित्र बनाउँछु । त्यो चलचित्रको छायांकन ढोरपाटनमा गर्छु ।’

म आश्चर्यचकित बनेँ । उनले सिधै भने, ‘मेरो उपचार अहिलेलाई थप सम्भव छैन । प्रविधिको विकासले एक दिन अवश्य सहज होला । अहिलेलाई मैले यो कुरा स्वीकार गर्नुपर्छ र काममा लाग्नुपर्छ ।’

उनले यो पनि भने, ‘अब ह्वीलचेयरमै हुने हो । जीपमा ढोरपाटन पुग्ने, ह्वीलचेयरमै वरपर गर्ने ।’

अर्को दिनतिर मैले चलचित्र पत्रकार हुँदै निर्देशक बनेका मित्र दिपेन्द्र लामालाई त्यहाँ भेटेँ । लक्ष्मण सुवेदीलाई पनि भेटेँ । घरज्वाइँका निर्देशक अनिल बुढामगरलाई पनि मैले त्यहाँ भेटेँ । आफ्नो स्वास्थ्य लाभको कामना गर्नेसँग जनक चलचित्र निर्माणको कुरा गर्थे ।

०००

पुनर्स्थापना केन्द्रले चुडिएका नसा जोड्दैन । पूर्ण इन्जुरी भएकालाई दौडिने बनाएर घर फर्काउँदैन । निस्क्रिय बनेका नसाहरूलाई थेरापी गरेर सक्रिय बनाउँछ । बेडबाट पल्टिन, उठ्न, ह्वीलचेयरमा बस्न, झर्न र हिँड्न सिकाउँछ । शौचालय व्यवस्थापन सिकाउँछ । जीवन जिउने तरिका सिकाउँछ । र, सबैभन्दा प्रमुख कुरा त सत्य स्वीकार गर्ने वातावरण बनाइदिन्छ । यो कथा व्यक्तिगत होइन, समाजको साझा कथा हो भन्ने महसुस गराउँछ ।

स्पाइनल कर्ड इन्जुरीको सबैभन्दा अप्ठ्यारो पक्ष भनेकै बिरामी र घरपरिवारले वास्तविकतालाई स्वीकार गर्नु र त्यससँग बाँच्न सिक्नु हो । यो केवल शरीरको चोट होइन, मानसिक र भावनात्मक रूपमा ठूलो परीक्षा हो ।

बिरामी र परिवारले एकअर्कालाई गहिरोसँग बुझ्न, साथ दिन र निरन्तर हौसला दिन सक्नुपर्छ । त्यही साथ, विश्वास र सहयोग नै जीवनलाई फेरि अघि बढाउने शक्ति हो । यो स्वीकार गर्न ४ वर्ष लाग्छ भनिन्छ । जनकले भने पुनर्स्थापना केन्द्र पुगेको केही दिनमै आफूलाई स्वीकार गरिसकेका थिए ।

०००

दुर्घटनाहरू यस्ता पनि हुन्छन्, जसले एउटा मानिसको शरीर, एउटा परिवारको सपना र भविष्यका हजारौँ योजनालाई एकैपटक बदलिदिन्छन् । सम्पन्नलाई क्षणभरमै गरिब बनाइदिन सक्छ ।

जसले आफ्नो वास्तविकतालाई स्वीकार गर्दै सपनालाई जीवित राख्छ र आशा छाड्दैन, ऊ शारीरिक रूपमा ढले पनि गन्तव्यतर्फको यात्रामा कहिल्यै ढल्दैन ।

दुर्घटनाले मेरी माहिली सविनाको जस्तै जनक घर्तीमगरको जीवन तोड्यो, तर उनका सपना तोड्न सकेन ।

त्यही सपनाको मेरुदण्ड हो – मितज्यू ।

जनक केवल एक चलचित्र निर्माता होइनन्, संघर्षका जीवित प्रतीक बनेका छन् । उनी आफैँ कसैको सहारामा सर्छन्, तर नेपाली सिनेमामा ठूलो प्रेरणा र साहारा दिने नाम बनेका छन् ।

त्यसैले त सुमन स्मारिकाले जनकबारे कवितामा लेख्छिन्:

‘ऊ ह्वीलचेयरमा बसेर
सिङ्गो समाजलाई गुडाइरहेको छ ।
ऊ रात–दिन कसैको सहारामा सर्छ,
तर सिङ्गो नेपाली सिनेमा
आज उसकै हिम्मती काँधमा अडिएको छ ।’

०००

स्पाइनल कर्ड इन्जुरीको उपचार निकै महंगो छ । यो महंगो उपचार पछि जनक किन तीन करोड बढी लगानीमा मितज्यू निर्माणमा लागे ?

‘म चलचित्रकै लागि जन्मेको हुँ जस्तो लाग्छ । अहिले पनि चलचित्रकै लागि दोस्रो जीवन पाए जस्तो लाग्छ ‘

जनकको कथाले भन्छ, जीवन भनेको कहिल्यै नढल्नु होइन, ढलेपछि पनि फेरि उठ्ने साहस राख्नु हो ।

०००

हरेक बिहान मेरी बहिनी खुट्टा चल्छ कि भनेर जाँच गर्छिन्, तर उस्तै हुन्छ । मेरी आमाले छोरी जुरुक्क उठेर दौडिरहेको सपना देख्छिन्, तर बिहान उठ्दा छोरीको शरीर उस्तै हुन्छ ।

जनक पनि हरेक बिहान ‘छोएको थाहा पाउँछु कि’ भनेर आफ्नो शरीर चिमोट्छन् होला, तर पक्कै थाहा पाउँदैनन् । उनकी आमाले पनि छोराको खुट्टा चलेको, पहिलेजस्तै हिँडिरहेको सपना देख्छिन् हालो, तर बिहान छोराको अवस्था फेरि उस्तै हुन्छ ।

करिब १० हजार नेपालीहरूको व्यथा यस्तै छ । उनका परिवारका कथाहरू उस्तै छन् । नेपालमा अहिले वार्षिक ५00 देखि ७00 सम्म स्पाइनल कर्ड इन्जुरीका बिरामी थपिइरहेका छन् ।

स्पाइनल कर्ड इन्जुरीको अहिलेसम्म पूर्णउपचार देखिएको छैन । तर, बिरामीहरू सधैँ आशावादी भएर बाँच्नुपर्छ । पछिल्ला अनुसन्धानहरूले स्पाइनल इन्जुरीका बिरामी र परिवारका लागि नयाँ आशा देखाइरहेका छन् ।

०००

स्पाइनल इन्जुरी कुनै व्यक्तिगत घटना मात्रै होइन, यो समाज र राज्यले गम्भीरतापूर्वक हेर्नुपर्ने मानवीय प्रश्न हो ।

स्पाइनल कर्ड इन्जुरीका बिरामी र उनीहरूका परिवार एकअर्काका मित हुन्, मितिनी हुन्, जहाँ पीडा, संघर्ष र आशाले जोडिएका सम्बन्ध छन् । यो आफैँमा साझा र विशाल परिवार हो । सरकार र सबै क्षेत्रले स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई मित बनेर माया, सम्मान, उपचार र साथ दिन सक्नुपर्छ ।

जनक घर्तीमगर यही विशाल परिवारका सदस्य बनिसकेका छन् । उनले निर्माण गरेको चलचित्र मितज्यू स्पाइनल कर्ड इन्जुरी परिवारकै हो । यस परिवारका सदस्यले मितज्यूलाई आफ्नै सम्झेर साथ र सहयोग दिनुपर्दछ ।

आम नेपालीहरूले जनक घर्तीमगरको र स्पाइनल कर्ड इन्जुरीका बिरामीका पीडामा मलम लगाउन पनि साथ दिनुपर्दछ ।

ह्वीलचेयरमा बसेर आज जनक घर्तीमगरले मितज्यू निर्माण गरेका छन्, तर एक दिन जनककै संघर्षमाथि पनि चलचित्र बन्नुपर्नेछ । किनकि यो केवल जनकको होइन, स्पाइनल कर्ड इन्जुरी भएका १० हजार नेपालीको साझा सपना र साहस हो।

मेरी बहिनीलाई मैले भनेकै छु – ‘तिम्रो वर्षमा दुई जन्मदिन छन् ।’

जनकका लागि पनि मैले भने – ‘मंसिर २३ दुर्घटनाको दिन होइन, तिम्रो दोस्रो जीवनको जन्मदिन हो ।’

नजिकको हलमा गएर मितज्यू हेर्नुहोस्, जनकको दोस्रो जीवनको जन्मदिनका लागि अग्रिम शुभकामना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?