News Summary
Generated by OK AI. Editorially reviewed.- सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको अन्तिम दिन आइतबार विभागीय टोलीहरू एपीएफ र त्रिभुवन आर्मी क्लब विभिन्न स्पर्धामा च्याम्पियन बनेका छन् ।
- प्रतियोगिताअन्तर्गत सिनियर पुरुष फोयल र एपी टिम इभेन्टतर्फ त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जित्न सफल भएको छ ।
- सिनियर महिलातर्फको फोयल र एपी टिम इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै विभागीय टोली एपीएफले स्वर्ण पदक प्राप्त गर्यो ।
१७ जेठ, काठमाडौँ । सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन आइतबार सिनियर महिला फोयलको टिम इभेन्टमा एपीएफ र सिनियर पुरुष फोयल टिम इभेन्टमा त्रिभुवन आर्मी च्याम्पियन बनेका छन् ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा भएको प्रतियोगिताअन्तर्गत महिला फोयल टिम इभेन्टमा अनिता अधिकारी, उर्मिला लामा, उर्मिला माझी र आइसा श्रेष्ठ रहेको एपीएफ टिमले स्वर्ण पदक जितेको हो । निश्चल मगर, सुबिना मगर, समृद्धि मगर र आयुस्का पोखरेल सहभागी गण्डकी टिमले रजत पदकमा चित्त बुझायो । सुदूरपश्चिमले काश्य पदक हासिल गरे । सुदूरपश्चिमको टिमबाट इशारा थापा, लक्ष्मी चौधरी र पुजा कुँवरले प्रतिस्पर्धा गर्नुभएको थियो ।
सिनियर पुरुष फोयल टिम इभेन्टमा स्वर्ण पदक जित्ने आर्मीबाट अनुप भण्डारी, नरेन्द्र धामी, भुवन मलिक र वीरसिंह शाहीले खेलेका थिए । गण्डकी पुरुष टिम इभेन्टमा पनि रजत पदकमा चित्त बुझाउन बाध्य बन्यो । बागमती र सुदूरपश्चिमले संयुक्तरुपमा तेस्रो स्थान हासिल गरे ।

एपीएफले सिनियर महिला एपी टिम इभेन्टमा पनि स्वर्ण पदक जित्यो । इपीमा एपीएफलाई स्वर्ण पदक दिलाउने खेलाडीमा तुलसा बुढाथोकी, माया चौधरी, अनिता कार्की र जानुका स्याङतान थिए । सो स्पर्धामा त्रिभुवन आर्मी क्लब दोस्रो तथा सुदूरपश्चिम र गण्डकी प्रदेश संयुक्तरुपमा तेस्रो स्थान रहे ।
यसैगरी सिनियर पुरुष एपी टिम इभेन्टमा त्रिभुवन आर्मी च्यामिपयन बन्यो । पूर्णराज गिरी, मिन कार्की, हर्क खड्का र सुरज सिंहले आर्मीलाई विजेता बनाए । सो स्पर्धामा कोशी प्रदेश उपविजेता बन्यो । यसैगरी एपीएफ र सुदूरपश्चिमले तेस्रो स्थान हासिल गरे ।
पहिलो दिन सिनियर पुरुष इपीमा बागमती प्रदेशका सोयब श्रेष्ठ र महिला इपीमा एपीएफकी जानुका स्याङतान तथा सिनियर पुरुष फोयलमा एपीएफका ज्ञानेन्द्र तिमल्सिना र महिला फोयलमा एपीएफकी अनिता अधिकारीले स्वर्ण पदक जितेका थिए ।
नेपाल फेन्सिङ संघको आयोजनामा भएको प्रतियोगितामा व्यक्तिगततर्फ सिनियर पुरुष इपी, सिनियर महिला फोयल, सिनियर पुरुष टिम र सिनियर महिला टिम इभेन्टमा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशसँगै विभागीय टोली एपीएफ र आर्मी गरी छ टोलीका ९६ खेलाडी सहभागी थिए ।
विजेता खेलाडीहरुलाई शिक्षा तथा खेलकुदमन्त्रीका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार, कामनपा वडा २२ का अध्यक्ष चिनिकाजी महर्जन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठ, महासचिव सुजनलाल श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।
प्रतिक्रिया 4