News Summary
Generated by OK AI. Editorially reviewed.- धातु र खनिज प्रशोधन गरी बनाइने आयुर्वेदिक रस औषधि अत्यन्त शक्तिशाली हुने भएकाले यसलाई उचित शोधन गरेर मात्र प्रयोग गर्नुपर्छ ।
- चिकित्सकको सल्लाहविना आफैं आयुर्वेदिक औषधि किनेर सेवन गर्दा शरीरमा विभिन्न जटिल समस्याहरू आउन सक्छन् ।
काठमाडौँ । आयुर्वेदिक औषधिलाई लिएर अहिले समाजमा दुईथरी धारणा सुनिन्छन् । एकातिर यस्ता औषधिलाई प्राकृतिक र प्रभावकारी उपचारको रूपमा हेरिन्छ भने अर्कोतिर यी औषधिले कलेजो र मिर्गौला जस्ता अंगमा असर गर्न सक्छ भन्ने आशंका पनि गरिन्छ ।
विशेषगरी यस्ता औषधिमा प्रयोग गरिने पारा, गन्धक, धातु र खनिज प्रयोग हुने ‘रस औषधि’ बेला–बेला विवादको केन्द्रमा पर्ने गरेको छ ।
सामाजिक सञ्जालमा ‘१०० प्रतिशत निको हुने’ दाबीहरू पनि देखिन्छन् । तर आयुर्वेद चिकित्सकहरूका अनुसार रस औषधि सामान्य जडीबुटीजस्तो होइन, यसलाई निश्चित विधि र जटिल प्रक्रियाबाट तयार गरिन्छ ।
शोधन र मारणजस्ता प्रक्रिया पूरा गरेपछि मात्रै धातु तथा खनिज औषधिको रूपमा प्रयोग गरिने र विधिपूर्वक खाँदा यसका भरपूर फाइदा भएको उनीहरू दावी गर्छन् ।
आयुर्वेदिक औषधि कसरी बनाइन्छ ? कुन–कुन समस्यामा प्रयोग गरिन्छ ? के यी स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ ? किन विशेषज्ञको सल्लाहबिना औषधि सेवन नगर्न चिकित्सकहरू चेतावनी दिन्छन् ?
यिनै विषयमा आयुर्वेदिक चिकित्सक तथा उप–प्राध्यापक साहारा श्रेष्ठसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :
आयुर्वेदमा रस औषधि वा रसशास्त्र भनेर केलाई बुझाउँछ ?
रसशास्त्र आयुर्वेदको एक अत्यन्त महत्वपूर्ण र प्राचीन विधा हो । यो मुख्य रूपमा धातु, खनिज, पारा, गन्धक र केही विषाक्त पदार्थलाई औषधिका रूपमा प्रयोग गर्ने विज्ञान हो ।सामान्य आयुर्वेदिक औषधि (काष्ठ औषधि) जडीबुटीबाट बनेका हुन्छन् भने रस औषधि धातु र खनिजबाट तयार पारिन्छ।
रसशास्त्रको मुख्य सिद्धान्त कच्चा धातु वा खनिज विषलाई उचित शोधन गरेपछि त्यही पदार्थलाई शक्तिशाली औषधिमा परिवतर्न गर्नु हो । रसौषधि (पारा, गन्धक, अभ्रक, स्वर्ण, रजत, तामालगायतका पदार्थको) विभिन्न जडीबुटी, दूध, गोमूत्र, काढा लगायतमा पटक–पटक प्रशोधन गरी शोधन गरिन्छ।
शोधनका विभिन्न विधि छन् र उचित विधिको प्रयोगले तिनको विषाक्तता हटाउँछ र शरीरमा सजिलै अवशोषित हुने बनाउँछ । रस औषधि अत्यन्त शक्तिशाली हुन्छन् । यसले थोरै मात्रामा पनि छिटो प्रभाव पार्छ ।
‘रस औषधि’ र ‘काष्ठ औषधि’ बीचको भिन्नता के हो ? के के पर्छन् ?
काष्ठ औषधि भनेको जडीबुटी, वनस्पतिबाट बनेका औषधि हुन् । जस्तै, त्रिफला, अश्वगन्धा, ब्राह्मी, चूर्ण, काढा आदि । यी धेरै मानिसमा परिचित पनि छन् । तर रस औषधि अलि फरक र जटिल हुन्छ । यसमा औषधिको उचित परियोजना गरी धातु, खनिज र केही विष वर्गका पदार्थ आदि प्रयोग गरीएको हुन्छ । पारा, गन्धक, स्वर्ण, रजत, अभ्रक, फलाम आदि जस्ता सामग्री यसमा पर्न सक्छन् ।
यही कारण मानिसहरू रस औषधिलाई लिएर डराउने गर्छन् । ‘धातु खाएर शरीर बिग्रिँदैन ?’, ‘मर्करीले कलेजो बिगार्दैन ?’ भन्ने प्रश्न धेरै आउँछन् । तर आयुर्वेदमा यी पदार्थ सिधै प्रयोग गरिँदैनन् । त्यसलाई शोधन र संस्कार गरेर मात्र औषधिका रूपमा प्रयोग गरिन्छ ।
समस्या कहाँ आउँछ भने बजारमा पाइने सबै उत्पादनको गुणस्तर समान हुँदैन । त्यसैले, चिकित्सकको निगरानी र विश्वसनीय उत्पादन मात्रै प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ ।
पारा वा हेभी मेटल प्रयोग हुने औषधि सुरक्षित छ भन्ने आधार के हो ?
वास्तवमा आयुर्वेदमा प्रयोग हुने धातु वा विष वर्गका पदार्थ कच्चा रूपमा प्रयोग गरिँदैनन् । त्यसको एउटा विस्तृत ‘शोधन प्रक्रिया’ हुन्छ । शोधन भनेको पदार्थको विषाक्तता कम गर्ने र शरीरलाई उपयोगी चिकित्सकीय गुण राखी प्रयोग गर्ने प्रक्रिया हो । उदाहरणका लागि पारा, गन्धक वा अन्य धातुलाई विभिन्न जडीबुटी, काढा, दूध, गोमूत्र वा अन्य माध्यममा पटक–पटक प्रशोधन गरिन्छ ।
रसशास्त्रमा स्पष्ट भनिएको छ, ‘अशोधित पदार्थ विष हो, शोधित पदार्थ औषधि हो ।’
तर यहाँ अर्को महत्त्वपूर्ण कुरा के हो भने सही तरिकाले बनाइएको औषधि र गलत तरिकाले बनाइएको औषधिबीच धेरै फरक हुन्छ । यदि शोधन प्रक्रिया ठीकसँग भएन भने समस्या आउन सक्छ ।
अहिले डर बढ्नुको अर्को कारण भनेको मानिसहरूले आफैं औषधि प्रयोग गर्नु पनि हो । रसऔषधि र रसायनको निम्ति क्षेत्रीकरण नगरी खान नमिल्ने हुन सक्छ । जथाभावी रस औषधि लामो समयसम्म लगातार खानु हुँदैन । मात्रा, अवधि, बिरामीको अवस्था र शरीरको प्रकृतिअनुसार प्रयोग गर्नुपर्छ । यही सावधानी नअपनाउँदा खराब इफेक्ट देखिन सक्छ ।
‘क्षेत्रीकरण’ भनेको के हो ? सुरु गर्नुअघि किन ‘क्षेत्रीकरण’ आवश्यक छ ?
आयुर्वेदमा रसायन र रसौषधि दिनुभन्दा पहिले शरीरलाई तयार बनाउने अवधारणा छ । यसलाई ‘क्षेत्रीकरण’ भनिन्छ । आयुर्वेद अनुसार शरीरमा ‘आम’ भन्ने अपचित विषाक्त पदार्थ जम्मा हुन सक्छ । जब खाना राम्रोसँग पच्दैन, त्यसको केही भाग शरीरमा रहिरहन्छ र दीर्घकालमा रोगको कारण बन्न सक्छ ।
यदि शरीरमा धेरै ‘आम’ छ भने औषधिले राम्रोसँग काम नगर्न सक्छ भन्ने मान्यता छ । त्यसैले, रस औषधि सुरु गर्नुअघि शरीरलाई रसायन र रसौषधि शोषण गर्न योग्य बनाउने प्रक्रिया गरिन्छ ।
यसका लागि पञ्चकर्म, विरेचन, वमन, आमपाचनजस्ता प्रक्रिया प्रयोग गरिन्छ । रोगीको अवस्था अनुसार उचित क्षेत्रिकरण विधिको प्रक्रियाबाट पनि शरीरलाई औषधि ग्रहण गर्न तयार बनाउने प्रयास गरिन्छ । तर अहिले धेरै मानिसले यी प्रक्रिया नगरी सिधै औषधि सुरु गर्छन् । त्यसपछि अपेक्षित परिणाम नआउने सम्भावना हुन्छ ।
आयुर्वेदमा ‘अनुपान’ र ‘पथ्य–अपथ्य’ भनिएको के हो ? यसलाई किन यति महत्वपूर्ण मानिन्छ ?
आयुर्वेदमा औषधि मात्र होइन, औषधि कसरी र कुन माध्यमसँग खाने भन्ने पनि महत्त्वपूर्ण हुन्छ । यसलाई ‘अनुपान’ भनिन्छ । जस्तै, कुनै औषधि महसँग, कुनै अदुवाको रससँग, कुनै दूधसँग, कुनै पानको पातसँग खान भनिएको हुन्छ ।
यसले औषधिको प्रभाव र शरीरले त्यसलाई ग्रहण गर्ने प्रक्रियामा फरक पार्छ । त्यस्तै, पथ्य–अपथ्य पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ । केही खानेकुरा औषधिको प्रभावसँग मेल नखान सक्छन् ।
त्यसैले, नुनिलो खाना, केही दाल, गेडागुडी, तारेको खाना, मदिरा आदि बार्न भनिन्छ । आजभोलि धेरै मानिस औषधि त खान्छन्, तर खानपान र जीवनशैलीमा ध्यान दिँदैनन् । त्यसपछि ‘औषधिले काम गरेन’ भन्ने गुनासो आउँछ । आयुर्वेदमा उपचार भनेको औषधि मात्र होइन, सम्पूर्ण जीवनशैली व्यवस्थापन पनि हो ।
अहिले आयुर्वेदिक औषधिलाई लिएर समाजमा सबैभन्दा ठूलो भ्रम र समस्या के देख्नुहुन्छ ?
अहिलेको सबैभन्दा ठूलो समस्या भनेको आयुर्वेदलाई लिएर दुईवटा अतिवादी धारणा बन्नु हो । एकथरी मानिस ‘आयुर्वेदिक हो भने शतप्रतिशत सुरक्षित हुन्छ’ भनेर जथाभावी प्रयोग गर्छन् । अर्काथरी भने ‘यसमा पारा र हेभी मेटल हुन्छ, शरीर बिगार्छ’ भनेर पूर्ण रूपमा डराउँछन् । वास्तविकता यी दुईको बीचमा छ ।
नेपालमा पनि आयुर्वेदिक औषधि उत्पादन हुन्छन्, तर विशेषगरी रस औषधि अझै धेरै बाहिरबाट आउने गर्छन् । रस औषधिमा पारा, गन्धक, अभ्रक, स्वर्ण, रजतजस्ता धातु र खनिज प्रयोग हुने भएकाले मानिसहरूमा शंका हुनु स्वाभाविक पनि हो । अहिले ‘मर्करी पोइजनिङ’ र ‘हेभी मेटल टक्सिसिटी’ को कुरा धेरै उठ्ने भएकाले डर झन् बढेको छ ।
तर समस्या औषधिमा मात्र छैन, प्रयोग गर्ने तरिकामा पनि छ । अहिले धेरै मानिसले चिकित्सकको सल्लाहबिना आफैं औषधि किनेर खाने चलन बढाएका छन् ।
कसैले युट्युब हेरेर खान्छन्, कसैले ‘पहिले खाएको थिएँ, राम्रो भएको थियो’ भनेर फेरि खान्छन् । रस औषधि भनेको सामान्य जडीबुटी होइन, यो अत्यन्त शक्तिशाली औषधि हो । त्यसैले, सही चिकित्सकीय निगरानी अत्यन्त आवश्यक हुन्छ ।
अहिले मानिसहरू आफैं औषधि किनेर खाने प्रवृत्ति कत्तिको जोखिमपूर्ण छ ?
यो निकै ठूलो समस्या बनिरहेको छ । अहिले सामाजिक सञ्जाल र विज्ञापनको प्रभावले धेरै मानिसले चिकित्सकसँग परामर्श नगरी औषधि खाने गरेका छन् ।
विशेषगरी रस औषधिमा यस्तो गर्नु जोखिमपूर्ण हुन सक्छ । किनकि, सबै बिरामीको शरीर, रोगको अवस्था र प्रकृति एउटै हुँदैन । कसैलाई वात बढी हुन्छ, कसैलाई पित्त, कसैलाई कफ । एउटै रोग भए पनि औषधि फरक हुन सक्छ ।
यही कारणले गर्दा कतिपयले ‘यो औषधिले फलानोको सुगर ठीक भयो’ भनेर आफैं सुरु गर्छन् । तर उसको शरीरले त्यसलाई कसरी प्रतिक्रिया दिन्छ भन्नेभन्न सक्दैन ।
रस औषधि धेरै समय लगातार खाँदा बीच–बीचमा ब्रेक आवश्यक हुन्छ । चिकित्सकले निगरानी नगरी लामो समय प्रयोग गर्दा शरीरमा असर पर्न सक्छ ।
एलोपेथिक औषधिजस्तो आयुर्वेदमा क्लिनिकल ट्रायल हुन्छ ?
हुन्छ, तर सीमित रूपमा । परम्परागत ‘क्लासिकल’ औषधिहरू त हजारौं वर्षदेखि प्रयोग हुँदै आएका छन् । त्यसैले, तिनको प्रभावबारे परम्परागत अनुभव धेरै छ ।
तर अहिले कम्पनीहरूले बनाउने नयाँ फर्मूलेशनहरूमा क्लिनिकल ट्रायल गरिन्छ । विशेषगरी भारतमा यसबारे अध्ययन भइरहेका छन् । नेपालमा पनि केही अस्पताल र संस्थाले सीमित अनुसन्धान गरिरहेका छन् ।
तर एलोपेथिक औषधिजस्तो ठूलो स्याम्पल साइज, व्यापक डेटा र अन्तर्राष्ट्रिय स्तरको ट्रायल भने कम छन् । यही कारण आयुर्वेदमाथि अझै धेरै वैज्ञानिक अनुसन्धान आवश्यक छ भन्ने देखिन्छ ।
‘क्यान्सर पूर्ण निको’, ‘मिर्गौला ठीक’, ‘१०० प्रतिशत उपचार’ जस्ता दाबी कत्तिको सही हुन् ?
यही ठाउँमा सबैभन्दा धेरै भ्रम छ । कतिपय ठाउँमा ‘१०० प्रतिशत निको’, ‘केही दिनमै रोग च्वाट्टै’ भन्ने जस्ता भ्रामक विज्ञापन गरिन्छ । नेपालमा पनि छ, भारतमा पनि छ । तर चिकित्सा पद्धतिले १०० प्रतिशत ग्यारेन्टी दिन सक्दैन ।
क्यान्सरजस्ता जटिल रोगमा आयुर्वेद सहायक उपचारमा पनि उपयोगी हुन सक्छ । जस्तै, भोक बढाउने, शरीर बलियो बनाउने, थकान कम गर्ने, मानसिक तनाव घटाउने, जीवनको गुणस्तर सुधार गर्ने तर ‘पूर्ण रूपमा निको हुन्छ’ भनेर ग्यारेन्टी गर्नु उचित होइन ।
विशेषज्ञ आयुर्वेद चिकित्सकको परामर्श अनुसार औषधि र थेरापीको प्रयोग गर्नुपर्छ ।
कतिपय बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल पुग्छन् । सुरुमै सही उपचार नगरी समय गुमाउँदा समस्या झन् जटिल हुन्छ । त्यसपछि ‘आयुर्वेदले काम गरेन’ भन्ने धारणा बन्न सक्छ ।
त्यसैले, आयुर्वेदलाई चमत्कारिक समाधानको रूपमा होइन, सही रोग, सही अवस्था र सही चिकित्सकीय परामर्शमा प्रयोग गर्नुपर्छ ।
प्रतिक्रिया 4