+
+
Shares

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति बागमती प्रदेशसभामा विरोध, खेद प्रस्तावको माग

‘मेयर हुँदा विशाल नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेको हैन ? त्यो नक्सा राखेर नागरिकको भावना भड्काउने काम गरेको र आज किन नेपालले भारतको भूमि मिचेको भन्नुहुन्छ ?’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १८:१३

१८ जेठ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा बोलेको ‘नेपालले पनि भारतको भूमि मिचेको’ अभिव्यक्तिलाई लिएर बागमती प्रदेशसभामा चर्को विरोध भएको छ ।

बागमती प्रदेशसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसदहरूले प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति खेद प्रस्तावको माग उठाएका छन् । सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाधीनतामाथि खलल पुगेको, विश्वसामु नेपालको शीर झुकेको भन्दै संसद्बाट देश र जनतासँग क्षमायाचना गर्न अनुरोध गरेका छन् ।

नेकपा एमाले संसदीय दलका नेता पूर्वमन्त्री जगन्नाथ थपलियाले विशेष समयमा बोल्दै भारतले पनि स्वीकारेको नेपालको जमिन र कहिल्यै कसैले नबोलेको विषयमा बोलेर प्रधानमन्त्रीले इतिहासमा कालो धब्बा पोतेको बताए । विश्वसामु भारतको भूमि मिच्ने नेपालीको रूपमा दर्ज गराउने कार्य प्रधानमन्त्रीबाट भएकोले संसदमार्फत जनतासँग माफ माग्न अनुरोध गरे ।

बागमती प्रदेशसभाबाट प्रधानमन्त्रीको अभिव्यक्तिप्रति खेद प्रकट गर्नुपर्ने थपलियाले माग राखेका छन् । प्रधानमन्त्री शाहको भूमिकाप्रति आशंका पैदा भएको नेता थपलियाको भनाइ छ ।

‘मेयर हुँदा विशाल नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेको हैन ? त्यो नक्सा राखेर नागरिकको भावना भड्काउने काम गरेको र आज किन नेपालले भारतको भूमि मिचेको भन्नुहुन्छ ?,’ नेकपाका सांसद गंगानारायण श्रेष्ठले प्रश्न गरे ।

परराष्ट्र मन्त्रालयको प्रष्टोक्तिमा पनि श्रेष्ठले प्रश्न उठाउँदै नेपालले एक ठाउँ, दुई ठाउँ नभई धेरै ठाउँमा भारतको भूमि मिचिएको भनेर प्रधानमन्त्रीले अभिव्यक्ति दिएकोमा आपत्ति जनाए । सीमा विवादको विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य, देशद्रोही र राष्ट्रघाती भएको श्रेष्ठले आरोप लगाए ।

नेकपाकै सांसद सरल सहयात्री पौडेलले काठमाडौं महानगरको मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेकोमा अप्रत्यक्ष रूपमा भारतसँग माफी मागेर आत्मसमर्पण गर्न खोजेको हो ? भन्दै प्रश्न गरेका छन् ।

राप्रपा संसदीय दलका नेता तथा पूर्वमन्त्री उद्धव थापाले देशको हरेक परिवर्तन पछाडि जनताले धेरै ठूलो आशा गरी परिवर्तन हुँदै गएको तर जनताले निराशा मात्रै पाएको बताए । आजसम्म कसैले प्रमाणित गर्न नसकेको विषयमा प्रधानमन्त्रीले संसद्मा नेपालले भारतको भूमि मिचेको अभिव्यक्तिलाई लिएर आपत्ति जनाए ।

सरकारले १०० दिन नपुग्दै जनताको मुटुमाथि बाँण हान्ने काम गरेको भन्दै खेद प्रकट गरे । ‘लिपुलेक, लिम्पियाधुराको विषयमा बोल्न छोडेर प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति दिनु खेदजनक छ,’ उनले भने ।

नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री पुकार महर्जनले प्रधानमन्त्रीले भारतले मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिको भर्त्सना गरे । प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रियता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधितनामाथि खलल पुग्न सक्ने उनले बताए ।

इतिहासमा पहिलो पटक राष्ट्रिय स्वाधीनतामाथि खतरा पुगेको महसुस भएको सांसद महर्जनको भनाइ छ । प्रधानमन्त्रीलाई बोली फिर्ता लिन महर्जनले अनुरोध गरे ।

प्रदेश सांसद तथा पूर्वमन्त्री कृष्णप्रसाद सिलवालले सारा नेपालीको शीर निहुरिने गरी नेपालले भारतको भूमि ठाउँठाउँमा मिचिएको भन्ने प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति प्रदेशसभाबाट खेद प्रस्ताव पारित गर्नुपर्ने माग राखे ।

एमाले सांसद उर्मिला सुनुवारले प्रधानमन्त्रीको अभिव्यक्ति कानुनी र कूटनीतिक हिसाबले राष्ट्रघाती र आत्मघाती भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?