News Summary
Generated by OK AI. Editorially reviewed.- उरुग्वेका मिडफिल्डर फेडेरिको भालभर्डेले फिफा विश्वकप २०२६ मा आफ्नो टोलीको नेतृत्व गर्नेछन् ।
- भालभर्डेले जोस सान्टामारियाको कीर्तिमान तोड्दै रियल मड्रिडका लागि सबैभन्दा धेरै खेल खेल्ने उरुग्वेली खेलाडी बनेका छन् ।
- दक्षिण अमेरिकी छनोटमा चौथो स्थान हासिल गर्दै उरुग्वे फिफा विश्वकप २०२६ का लागि सिधै छनोट भएको छ ।
१८ जेठ, काठमाडौं । उडेजस्तै दौडिने शैलीका कारण उरुग्वेका मिडफिल्डर फेडेरिको भालभर्डेलाई ‘सानो चरा’ भनेर चिनिन्थ्यो । समयसँगै उनी शारीरिक रूपमा अझ बलियो र परिपक्व बन्दै गएपछि उनको उपनाम पनि परिवर्तन भयो । त्यसपछि उनलाई ‘बाज’ भनेर बोलाउन थालियो । उनै ‘बाज’ फिफा विश्वकप २०२६ मा उरुग्वे टोलीको नेतृत्व गर्दै मैदानमा उत्रिँदै छन् ।
भालभर्डेले आफ्नो १७औं जन्मदिनको भोलिपल्ट नै पेनारोलबाट सिनियर टोलीमा डेब्यु गरेका थिए । तर उनको त्यहाँको यात्रा लामो हुन पाएन । किनभने त्यसबेलासम्म युरोपका ठूला क्लबहरू उनको पछि लागिसकेका थिए । अन्ततः उनी १८ वर्ष पुग्नेबित्तिकै रियल मड्रिडले उनलाई अनुबन्ध गर्ने सम्झौता गरिसकेको थियो ।
भालभर्डे रियल मड्रिडका महत्वपूर्ण खेलाडी बने । उनले क्लबका लागि ३६० भन्दा बढी खेल खेलिसकेका छन् भने करिब ४० गोल पनि गरेका छन् । यस अवधिमा उनले तीन फिफा इन्टरकन्टिनेन्टल कप, दुई युइएफए च्याम्पियन्स लिग र ३ लालिगा उपाधि जितेका छन् । उनले फिफा इन्टरकन्टिनेन्टल कपमा दुई पटक सिल्भर बलसमेत जितेका थिए ।
भालभर्डे आधुनिक फुटबलरका रूपमा चिनिए पनि उनी उरुग्वेली फुटबलको संघर्षशील चरित्रका उत्कृष्ट प्रतिनिधि मानिन्छन् । असाधारण ट्याक्टिकल समझ, अथाह स्टामिना र मैदानभर दौडिन सक्ने क्षमताका कारण उनी विभिन्न पोजिसनमा प्रभावशाली प्रदर्शन गर्न सक्षम छन् ।
उनले मैदानको हरेक भाग कभर गर्दै टोलीका लागि निरन्तर रक्षात्मक र आक्रमणात्मक योगदान दिने गर्छन् । उरुग्वे राष्ट्रिय टोलीमा पनि भालभर्डेको नेतृत्व क्षमतालाई उच्च मूल्यांकन गरिएको छ । उनलाई टोलीका आफ्नै खेलाडीहरूले कप्तानका रूपमा चयन गरेका थिए ।
बल प्रहार गर्ने उत्कृष्ट क्षमता भए पनि रियल मड्रिडमा सुरुवाती केही सिजनमा भालभर्डेलाई गोल गर्न भने संघर्ष गर्नुपरेको थियो । त्यसपछि सन् २०२२ को सेप्टेम्बरमा प्रशिक्षक कार्लाे एन्सेलोटीले भनेका थिए, ‘अचम्मको कुरा के हो भने उनले गएको सिजन केवल एक गोल गरे । यदि मैले उनलाई एक सिजनमा १० गोल पुर्याउन सकिनँ भने म आफ्नो कोचिङ ब्याज च्यातिदिन्छु ।’
भाग्यवश एन्सेलोटीका लागि भालभर्डेले चाँडै आफ्नो गोल गर्ने लय फेला पारे । उनले २०२२/२३ सिजनमा रियलका लागि १२ गोल गरे । जुन अहिलेसम्म उनको करियरकै उत्कृष्ट गोल संख्या बनेको छ ।
२०२४/२५ सिजनमा भालभर्डेले आफूलाई ‘मिस्टर रिलाइलेबल’का रूपमा झन् स्थापित गरे । क्लब र देश दुवैका लागि उनले विश्वका शीर्ष लिगका कुनै पनि खेलाडीभन्दा धेरै मिनेट मैदानमा बिताए ।

सन् २०२५ को सेप्टेम्बरमा ‘बाज’ उपनामले चिनिने भालभर्डेले अर्काे ऐतिहासिक उपलब्धि हासिल गरे । उनले जोस सान्टामारियाको कीर्तिमान तोड्दै रियलका लागि सबैभन्दा धेरै खेल खेल्ने उरुग्वेली खेलाडी बने ।
रियल मड्रिडका महत्वपूर्ण खेलाडी भालभर्डेको पहिलो विश्वकप अनुभव कतार विश्वकप २०२२ हो । उक्त प्रतियोगितामा उनले उरुग्वेका तीनवटै समूह चरणका खेलमा सुरुआती रोजाइमा स्थान पाएका थिए । तर, उरुग्वे समूह चरणबाटै बाहिरिन पुग्यो ।
उरुग्वेले दक्षिण कोरियासँग गोलरहित बराबरी खेलेको थियो भने पोर्चुगलसँग २–० ले पराजित भएको थियो । अन्तिम खेलमा घानामाथि २–० को जित निकाले पनि गोल अन्तरका आधारमा टोली नकआउट चरणमा पुग्न असफल भयो । त्यस विश्वकपमा भालभर्डेले मिडफिल्डमा ऊर्जा, संघर्ष र निरन्तर दबाब सिर्जना गर्दै प्रभावशाली प्रदर्शन गरेका थिए ।
उरुग्वेले प्रारम्भिक चरणमा चौथो स्थान हासिल गर्दै फिफा विश्वकप २०२६ का लागि सिधै छनोट भएको छ । सुरुआती चरणमा टोलीको प्रदर्शन निकै उत्साहजनक थियो । जहाँ उनीहरूले आफ्ना परम्परागत प्रतिद्वन्द्वी अर्जेन्टिनालाई ब्युनस आयर्समा तथा ब्राजिललाई मोन्टेभिडियोमा पराजित गर्दै सबैको ध्यान आकर्षित गरेका थिए ।
तर त्यसपछि प्रशिक्षक मार्सेलो बिएल्साको टोलीको प्रदर्शन केही समयका लागि कमजोर देखियो । यद्यपी अन्तिम चरणमा टोलीले आफ्नो लय पुनः सम्हाल्दै विश्वकप टिकट सुरक्षित गर्न सफल भयो ।
अब उरुग्वे समूह चरणमा केप भर्डे, साउदी अरेयिबा र स्पेनसँग भिड्नेछ । आफ्नो गौरवशाली इतिहासबाट प्रेरणा लिँदै तेस्रो विश्वकप उपाधिको सपना बोकेर उत्तर अमेरिकातर्फ प्रस्थान गर्नेछ । जहाँ फेडेरिको भालभर्डे टोलीका मुख्य आधारस्तम्भका रूपमा रहनेछन् ।
प्रतिक्रिया 4