+

टिम डेभिडले आईपीएल २०२७ को पहिलो खेल गुमाउने

२०८३ जेठ  १९ गते ११:४६ २०८३ जेठ १९ गते ११:४६
टिम डेभिडले आईपीएल २०२७ को पहिलो खेल गुमाउने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईपीएल २०२६ को फाइनलमा अम्पायरतर्फ आइस ब्याग फ्याँकेका रोयल च्यालेन्जर्स बेंगलुरुका ब्याटर टिम डेभिडलाई आईपीएल २०२७ को पहिलो खेलमा प्रतिबन्ध लागेको छ ।
  • आचारसंहिता उल्लंघनको कसुरमा डेभिडलाई खेल शुल्कको ५० प्रतिशत जरिवाना र दुई डिमेरिट अङ्क समेत दिइएको छ ।
  • डेभिडले आईपीएल आचारसंहिताको धारा २.९ उल्लंघन गरेको स्वीकार गरेका छन् र उनले आईपीएल २०२६ मा ३०५ रन बनाएका थिए ।

१९ जेठ, काठमाडौं । आईपीएल विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) का ब्याटर टिम डेभिडलाई आईपीएल २०२७ को पहिलो खेलमा प्रतिबन्ध लागेको छ ।

आईपीएल २०२६ को फाइनलमा गुजरात टाइटन्सविरुद्धको खेलका क्रममा अम्पायरतर्फ आक्रामक रूपमा आइस ब्याग फ्याँकेको आरोपमा उनलाई एक खेलको प्रतिबन्धसहित जरिवाना गरिएको हो ।

यो सिजन डेभिडको तेस्रो लेभल–१ आचारसंहिता उल्लंघन भएकाले उनलाई खेल शुल्कको ५० प्रतिशत जरिवाना र दुई डिमेरिट अंक दिइएको छ । पछिल्ला ३६ महिनामा उनको डिमेरिट अंक संख्या पाँच पुगेपछि एक खेलको प्रतिबन्ध लागेको हो ।

घटना गुजरातको इनिङ्सको १०औं ओभरमा भएको थियो । वासिङ्टन सुन्दरको बलमा जोर्डन कक्सको क्याच आउटको अपिल अम्पायरले नटआउट दिएपछि डेभिडले आइस ब्याग फ्याँकेका थिए ।

डेभिडले आईपीएल आचारसंहिताको धारा २.९ उल्लंघन गरेको स्वीकार गरेका छन् । उक्त धाराअन्तर्गत खेलका क्रममा खेलाडी, टिम अधिकारी, अम्पायर, म्याच रेफ्री वा अन्य व्यक्तितर्फ अनुचित वा खतरनाक तरिकाले बल वा अन्य क्रिकेट सामग्री फ्याँक्न निषेध गरिएको छ ।

यसअघि उनले मुम्बई इन्डियन्सविरुद्धका दुई खेलमा पनि आचारसंहिता उल्लंघन गरेका थिए, जसबापत क्रमशः एक र दुई डिमेरिट अंक पाएका थिए ।

डेभिडले आईपीएल २०२६ मा आरसीबीको उपाधि यात्रामा महत्वपूर्ण योगदान दिएका थिए । उनले १६ खेलमा ३०५ रन बनाए थिए । उनको औसत ३३.८८ र स्ट्राइक रेट १८८.२७ रहेको थियो ।

आरसीबी टिम डेभिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय