+
+
Shares

मानिसभन्दा एआई प्रविधि महँगो बन्दै गएपछि पश्चिमा कर्पोरेट क्षेत्रमा वित्तीय संकट

प्रविधि पत्रकार एन्ड्रयु ओर्लोव्स्कीका अनुसार एआईको अत्यधिक प्रयोगका कारण इतिहासमै पहिलो पटक प्रविधि चलाउने खर्च र मानिसलाई दिइने तलब बराबर हुन थालेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १४:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सञ्चालन खर्च तीव्र रूपमा बढेपछि पश्चिमा देशका ठूला प्रविधि कम्पनीहरू ठूलो वित्तीय दबाबमा परेका छन्।
  • अमेजनले एआईको अत्यधिक प्रयोगकै कारण एक महिनामा ५० करोड डलर खर्च गरेपछि आफ्ना कर्मचारीहरूलाई विनाकारण एआई प्रयोग नगर्न आग्रह गरेको छ।
  • विज्ञहरूले खर्च अनुसारको प्रतिफल नदेखिएकाले करोडौं डलरका टोकनहरू उपलब्धि विना नष्ट भइरहेको भन्दै एआईको बबल छिट्टै फुट्ने चेतावनी दिएका छन्।

१९ जेठ, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगसँगै यसको सञ्चालन खर्च तीव्र रूपमा बढेपछि पश्चिमा देशका ठूला प्रविधि कम्पनीहरू ठूलो वित्तीय दबाबमा पर्न थालेका छन्।

प्रविधि पत्रकार एन्ड्रयु ओर्लोव्स्कीका अनुसार एआईको अत्यधिक प्रयोगका कारण इतिहासमै पहिलो पटक प्रविधि चलाउने खर्च र मानिसलाई दिइने तलब बराबर हुन थालेको छ। कम्पनीहरूले आफ्ना कर्मचारीलाई एआईको अनावश्यक प्रयोग नगर्न र ‘टोकन’ बचाउन निर्देशन दिन थालेका छन्।

अमेजन जस्तो प्रतिष्ठित कम्पनीले एआईको अत्याधिक प्रयोगकै कारण मात्र एक महिनामा ५० करोड डलर खर्च गरेपछि आफ्ना कर्मचारीहरूलाई बिनाकारण एआई प्रयोग नगर्न आग्रह गरेको छ।

गुगल, उबर, सेल्सफोर्स, मेटा र माइक्रोसफ्ट जस्ता ठुला कम्पनीहरूले पनि एआईको बजेट नियन्त्रण गर्न विभिन्न प्रतिबन्धहरू लगाउन थालेका छन्। कर्पोरेट क्षेत्रमा कर्मचारीहरूले आफ्नो कार्यक्षमता देखाउन जथाभाबी एआई टोकन खर्च गर्ने विकृति बढेपछि यो संकट चुलिएको हो।

लगानी व्यवस्थापन फर्म ‘गोल्डम्यान स्याक्स’ को अध्ययन अनुसार इन्जिनियरिङ क्षेत्रमा एआईका लागि हुने खर्च मानिसलाई दिइने तलबको १० प्रतिशतको हाराहारीमा पुगिसकेको छ। हालकै वृद्धिदर कायम रहेमा केही महिनाभित्रै एआई चलाउने खर्च मानव कर्मचारीलाई राखिराख्ने खर्चभन्दा बढी हुने प्रक्षेपण गरिएको छ।

खर्च अनुसारको प्रतिफल (रिटर्न अन इन्भेस्टमेन्ट) नदेखिएकाले करोडौँ डलरका टोकनहरू विना उपलव्धि जलिरहेको भन्दै विज्ञहरूले एआईको यो ‘बबल’ छिट्टै फुट्ने चेतावनी दिएका छन्।

आर्थिक विश्लेषक विल सोमरका अनुसार ठुला एआई कम्पनीहरूले आफ्नो लगानी सुरक्षित गर्न आगामी तीन वर्षमा सात ट्रिलियन डलर आम्दानी गर्नुपर्ने हुन्छ । यसका लागि एआईको खपत हालको भन्दा एक लाख गुणाले बढ्नुपर्छ।

तर, व्यापारिक क्षेत्रले एआईबाट खासै उत्पादकत्व र फाइदा नदेखेपछि महँगो एआई पूर्वाधारमा भइरहेको लगानी डुब्ने खतरा बढेको छ। यसले गर्दा अन्ततः एआईले मानव रोजगारी खोस्ने संशयलाई गलत साबित गर्दै मानिसकै उपयोगिता बढी रहेको पुष्टि गरेको छ।

अर्कोतर्फ, चीनले भने एआई प्रविधिलाई फरक ढङ्गले उपयोग गरेर पश्चिमा पूँजीवादी प्रणालीलाई चुनौती दिएको छ। चिनियाँ अदालतहरूले एआईका कारण मानव कर्मचारीहरूलाई कामबाट निकाल्न प्रतिबन्ध लगाएका छन्। एआईबाट हुने सामान्य उत्पादकत्व वृद्धिभन्दा सामाजिक सन्तुलन बढी महत्त्वपूर्ण हुने चीनको बुझाइ छ।

विज्ञहरूका अनुसार चीनले पश्चिमा लगानीकर्ताहरूको लोभ र हतारोलाई हतियार बनाएर उनीहरूकै आर्थिक प्रणाली विरुद्ध प्रयोग गरिदिएको छ । जसका कारण अहिले पश्चिमा देशहरू गलत र खर्चिलो एआई मोडेल निर्माणको चक्रव्यूहमा फसेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?