+
+
Shares

जबरजस्ती संसद् चलाएकोबारे सभामुखसँग सांसदहरूको सवालजवाफ

विपक्षीको वेल घेराउ नाराबाजीकाबीच विगतमा केही बैठक चले । यो विषयमा मंगलबार सभामै सभामुखसँग विपक्षी दलका सांसदहरूको सवालजवाफ भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्रीले नेपाल-भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा बैठकमा वेल घेराउ र नाराबाजी गरेका छन् ।
  • विपक्षीको अवरोधका बीच सभामुख अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सदनलाई जानकारी गराए ।
  • विपक्षीको नाराबाजीका कारण बैठकको बाँकी कार्यसूची अगाडि नबढाई प्रतिनिधिसभाको अर्को बैठक आगामी २५ जेठका लागि सारिएको छ ।

१९ जेठ, काठमाडौं । जबरजस्ती संसद् चलाएको भनेर विपक्षी दलका सांसदहरू सभामुखसँगै सवालजवाफमा उत्रिएका छन् ।

विपक्षीको वेल घेराउ नाराबाजीकाबीच विगतमा केही बैठक चले । यो विषयमा मंगलबार सभामै सभामुखसँग विपक्षी दलका सांसदहरूको सवालजवाफ भएको हो ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक दुई बज्न दुई मिनेट बाँकी छँदा सुरु भएको थियो । निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वत: स्थगित हुने कानुनी व्यवस्था छ । यसकारण दुई मिनेट छिटो घण्टी बजाएर सदन सुरु गरिएको हो ।

सभामुखले ‘प्रतिनिधिसभा बैठकको कारबाही प्रारम्भ हुन्छ’ भने लगत्तै विपक्षी दलका सांसदहरू उठे ।

त्यसपछि सभामुख अर्यालले विपक्षी दलका सांसदहरू दुई/तीन दिनदेखि उठिरहेको स्मरण गर्दै बजेटमाथिको छलफल गर्ने कार्यसूची रहेको त्यसमा अगाडि बढ्नका निम्ति सहयोग गर्न अनुरोध गरे ।

विपक्षीले मानेनन् ।

सभामुखले ‘हिजो पनि कुरा राखेकै हो, आज पनि अनौपचारिक छलफलमा राखिरहेकै हो’ सभालाई कार्यसूचीमा प्रवेश गर्नका निम्ति अनुरोध गरे ।

आकस्मिक समय, शून्य समयमा आफ्ना कुरा राख्न सकिने भनेर विपक्षीलाई मनाउने प्रयास गरे ।

तर, विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य संसदले थाहा पाउनुपर्ने बताए ।

विपक्षी दलका सांसदहरू उठिरहेपछि सभामुख अर्यालले कांग्रेसका प्रमुख सचेतक बासना थापालाई बोल्न समय दिए ।

तर कांग्रेसले सुरुमा अभिषेक प्रताप साहलाई बोल्न अगाडि सार्यो ।

साहले प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको जमिन मिचेको भनेर बोलेको र यो तथ्यहिन रहेको भन्दै विरोध जनाए । यो विषय राष्ट्रिय सुरक्षासँग समेत गाँसिएको भन्दै यसमा सरकारले जवाफ दिनुपर्ने माग गरे ।

शाहले भने, ‘प्रधानमन्त्रीले कि त त्यो स्टेममेन्ट फिर्ता लिनुपर्छ । कि आम माफी माग्नुपर्छ । यो नहुन्जेल संसद् सञ्चालन हुँदैन ।.’

गत आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यस्तो अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले लगातार प्रतिनिधिसभाको बैठकमा विरोध गर्दै आएका छन् ।

विरोधका बीच प्रतिनिधिसभा बैठक संचालन हुँदै आएको छ । विपक्षीको विरोधका बीच प्रतिनिधिसभाले प्रतिनिधिसभा नियमावली पारित गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन संशोधन विधेयक, मतदाता नामावली ऐन संशोधन विधेयक पारित गरेको छ । वैकल्पिक विकास कोष सम्बन्धी विधेयक पनि विरोधका बीच पारित भएर अगाडि बढेको छ ।

विपक्षीले विरोध गरे पनि सभा सञ्चालन भइरहने र कार्यसूची अगाडि बढिरहने भएपछि विपक्षी दलका सांसदहरूले सभामुख माथि नै समेत प्रश्न उठाएका हुन् ।

यसक्रममा सभामुख र सांसदहरू सवालजवाफ नै भएको हो ।

नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुललाले भने सदन सहज रूपमा चलोस् भन्ने विपक्षीहरूको मनसाय रहेको बताए ।

सांसद दुलालले भनेका छन्, ‘हामी यो सदन सहज ढंगले सञ्चालन होस्, बजेट छलफल भएर पारित होस्, कानुन निर्माणको जिम्मा नेपाली जनताले दिएर पठाउनुभएको छ । यसकारण यो सदन निर्वाध रूपमा चल्नुपर्छ भन्ने कुरामा कहीँ कन्फ्युजनमा छैनौं, सदनमा डिस्टर्ब गर्ने हाम्रो नियत छैन ।’

यहाँनेर दुलालले सभामुखलाई विपक्षीले उठाएको सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्ति भनदा बजेट ठूलो विषय हो भनेर सदन जबरजस्ती चलाएको हो भनेर सभामुखलाई नै प्रश्न गरे ।

‘साउन १ गतेबाट लागु हुने नयाँ आर्थिक वर्षको बजेट भन्दा देशको सिमानाको बारेमा प्रधानमन्त्रीज्यूले बोल्नुभएको विषय असाध्धै संवेदनशील र गम्भीर विषय भएको हुनाले उच्च स्तरीय राजनीतिक छलफल, बहस, बैठक र सदनको तर्फबाट सभामुखको पहल अविलम्ब होस्’ दुलालले भने, ‘सभामुखबाट प्रधानमन्त्रीजीलाई रुलिङ होस् । यसको समस्याको समाधान होस् ।’

जवाफमा सभामुखले विपक्षीले उठाएका विषय भन्दा बजेट गम्भीर विषय हो भनेर आफूले नभनेको प्रष्टीकरण दिए ।

‘मैले यो विषय गम्भीर होइन् । त्यो भन्दा गम्भीर विषय बजेट हो भनेर सभामुखले भनिरहेको होइन,’ सभामुखले भनेका छन्, ‘हामीले हाम्रो कार्यसूचीमा राखेका विषयलाइ अगाडि लिएर जाऔं, यहाँहरूले राख्नु भएको विषयमा मेरो ध्यानाकषण भएको छ, सरकारको ध्यानाकषण भएको मैले बुझेको छु । त्यसकारण कार्यसूची अगाडि बढाऔं । र यहाँले राखेको विषयमा पनि संवाद गर्दै जाऔं ।’

राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले पनि सभामुखलाई पेलेरै सदन चलाउने अभ्यास नगर्न भनिन् ।

‘म यहाँलाई निवेदन गर्न चाहन्छु– आज फेरि पेलेर सदन चलाउनु भन्दा पनि सबै दलका शीर्ष नेताहरूलाई डाकेर, विधायकहरूलाई डाकेर एउटा छलफल राख्नुस्,’ उनले भनिन्, ‘हामीले यो मुद्दालाई राष्ट्रको गरिमासँग जोडेर हेरौं ।’

जवाफमा सभामुख अर्यालले आफ्नो तर्फबाट आफूले संवाद गरिरहेको बताए ।

‘माननीय सदस्यहरूले राख्नुभएको विषयमा मेरो ध्यानाकर्षण भएको छ । सरकाले पक्कै पनि यहँहरूले राखेको विषयलाई गम्भीर रूपमा लिएकै छ,’ सभामुख अर्यालले भनेका छन्, ‘यसको समाधानको विषय त सरकारले आफ्नो तर्फबाट जवाफ दिने र माननीय सदस्यहरूले उठाएको विषयमा सरकारसँग मैले सभामुखको हैसियतले गर्ने संवाद, विपक्षी दलका नेताहरूसँग गर्ने संवाद पक्कै पनि हामीले यो विषय उठेदेखि गरिरहेका छौं र त्यो निरन्तर गरेर यसको निषकर्षमा त पुगि नै हालिन्छ ।’

संसद् सञ्चालनका विषय जति सवालजवाफ भए पनि कुरा मिलेन ।

सभामुखले आकस्मिक समयमा बोल्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्दाम्बेलाई समय दिए । विरोधका बीच सभा अगाडि बढाउन खोजेको भनेर विपक्षी दलका सांसदहरूले वेल घेरे ।

आङदाम्बे नबोलेपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । जसमा राष्ट्रपतिले प्रमाणिकरण भएका विधेयकबारे जानकारी थियो ।

प्रतिनिधिसभा निर्वाचन ऐन संशोधन विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेका छन । मतदाता नमावली निर्वाचन ऐन संशोधन विधेयक पनि प्रमाणीकरण गरेका छन ।

विपक्षी दलका सांसदहरूको वेल घेराउ र नाराबाजीकाबीच सभामुखले राष्ट्रपतिबाट विधेयक प्रमाणिकरण भएकोबारे राष्ट्रपतिको कार्यालयको पत्र बाचन गरेर सदनलाई जानकारी गराएका हुन् ।

त्यसपछि बाँकी कार्यसूची भने अगाडि बढाएनन् । प्रतिनिधिसभाको अर्को बैठक जेठ २५ गतेका लागि राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?