+
+
Shares

मुख्यमन्त्री शाह भन्छन्– संसदीय दल एकताबद्ध भएको सन्देश दिन्छु

चुनाव फेस गर्न असन्तुष्ट पक्षको चेतावनी

शाहलाई संसदीय दलको नेताबाट हटाउने अभियानको नेतृत्व गरेका सांसद दिवानसिँह विष्टले भने आफू दलको नेताको चुनाव लड्ने बताउँदै मुख्यमन्त्रीलाई तयार रहन सन्देश दिएका छन् ।  

जनक विष्ट जनक विष्ट
२०८३ जेठ १९ गते १९:२१

१९ जेठ, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसँग नेपाली कांग्रेसकै सांसदहरू असन्तुुष्ट थिए । शाहलाई दलको नेता र मुख्यमन्त्रीबाट हटाउन मोर्चाबन्दी गरिरहेका उनीहरूले मंगलबार संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराए ।

१८ सांसदमध्ये शाहलाई दलको नेताबाट हटाउने निर्णय र अविश्वासको प्रस्तावमा ९ जनाले हस्ताक्षर गरेका थिए । प्रकाश देउवा अमेरिकामा छन् । उनलाई नगनेर १७ मध्येको बहुमत दाबी गर्दै ९ जना सांसदहरूले गरेको निर्णयका आधारमा उनीविरुद्ध अविश्वासको प्रस्ताव दाबी गरिएको थियो ।

शाहलाई हटाउने पक्षले पार्टी केन्द्रलाई समेत निर्णयको बोधार्थ पठाएका थिए भने मंगलबारै सभामुख भीमबहादुर भण्डारीलाई भेटेरै उनीहरूले यसबारे जानकारी दिएका थिए ।

झट्ट हेर्दा मुख्यमन्त्री शाहविरुद्ध उनकै सांसदले गरेको निर्णय मंगलबार नै भएजस्तो देखिएपनि यसको पृष्ठभूमी पूरानो भएको नेताहरू बताउँछन् ।

असन्तुष्ट सांसदहरूले लामो समयदेखि शाहलाई पदमुक्त गर्ने अभियान नै चलाएका थिए । डम्मरी महराबाहेकका आठ जना सांसदले यसअघि नै शाहलाई हटाउने निर्णयमा हस्ताक्षर गरेका थिए । महरा पनि तयार हुँदा हटाउने पक्षमा बहुमत पुगेको उनीहरूको दाबी छ ।

यसैबीच मंगलबारै शाहविरुद्धको अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णयमा हस्ताक्षर गरेकी महराले यूटर्न लिँदै हस्ताक्षर फिर्ता लिएकी छन् । महराले हस्ताक्षर फिर्ता लिएपछि मुुख्यमन्त्री शाहले तत्काल राहतको सास फेरेका छन् ।

कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्री र आफू पक्षीय सांसदहरूको उपस्थितिमा शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कै  कार्यालयमा पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलवनमा उनले संसदीय दललाई एकताबद्ध गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । महरालाई समेत छेउमा राखेका शाह आफ्नाविरुद्ध हस्ताक्षर गर्ने सांसदहरूप्रति नरम सुनिए ।

मन्त्री र सांसदसहित पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री कमलबहादुर शाह

‘केही साथीहरूका असन्तुष्टि छन् भने पनि ती समाधान गरेर लैजाने विषयमा म सधँैभरि खुला छु । अहिले नीति तथा कार्यक्रम पनि आइसकेको र बजेट निर्माणको प्रक्रियामा छौँ । हाम्राबीच कुनै पनि विमती हुँदैन । एकताबद्ध भएर अघि बढ्छौँ,’ शाहले भने, ‘चाँडै दलको बैठक बसेर संसदीय दल एकताबद्ध छ भन्ने सन्देश दिनेछौँ । दलीय व्यवस्थामा साथीहरूका बीचमा सहमति–असहमति रहन्छन् ।’

हटाउने पक्षले ८ जेठमै आफ्नाविरुद्ध हस्ताक्षर र निर्णय गरिसकेको बताएका शाहले आइतबार आफ्नै अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा १३ जना सहभागी भएको बताए । शाहले बहुमत सांसद आफूसँग भएको कुरासमेत पत्रकार सम्मेलनमा बताएका छन् ।

मुुख्यमन्त्रीविरुद्धको हस्ताक्षर फिर्ता लिएकी महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तनभन्दा कांग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफूपछि हटेको बताएकी थिइन् ।

स्रोतका अनुसार महराले समेत हस्ताक्षर गरेको थाहा पाएपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले उनलाई हस्ताक्षर फिर्ता लिन दबाब दिएका थिए । त्यसपछि मुख्यमन्त्रीसँग केही समझदारी भएपछि मात्रै उनी पछि हटेकी थिइन् ।

यता, शाहलाई संसदीय दलको नेताबाट हटाउने अभियानको नेतृत्व गरेका सांसद दिवानसिँह विष्टले भने आफू दलको नेताको चुनाव लड्ने बताउँदै मुख्यमन्त्रीलाई तयार रहन सन्देश दिएका छन् ।

हस्ताक्षर फिर्ताले नभएर संसदीय दलको विधानअनुसार नै विवाद निरुपण गर्नुपर्ने बताउँदै विष्टले त्यसका लागि आफू तयार भएको बताएका छन् । ‘कसले हस्ताक्षर फिर्ता गरेको छ ? त्यो थाहा भएन,’ विष्टले भने, ‘हामीले अविश्वासको प्रस्ताव दर्ता गरिसकेकाले अब संसदीय दलको नेताको चुनाव हुन्छ । १७ मध्ये १५ जना सांसदले मेरो पक्षमा मत हाल्नुहुन्छ ।’

दिवानसिँह विष्ट

विधानअनुसार २५ प्रतिशत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेमा त्यसलाई प्रक्रियामा लैजानुुपर्ने उनी बताउँछन् । दुई/तीन दिनभित्र केन्द्रबाट निर्वाचनका लागि प्रतिनिधि आइरहेको बताएका विष्टले त्यसैबाट विवाद समाधान हुने बताए ।

अहिले मुख्यमन्त्री शाहले बोलाउने संसदीय दलको बैठकमा सहभागी हुने/नहुनेबारे भने परामर्श भइरहेको उनी बताउँछन् ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?