+
+
Shares

महानगर यातायातले काठमाडौंमा थप्यो १६ नयाँ विद्युतीय बस

शशिला मोटर्स प्रा.लि.ले चीनबाट आयात गरेका यी बस ३३ सिट क्षमताका छन् । बसमा उभिएर यात्रा गर्नेहरुका लागि पनि सहज हुने दाबी गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते ११:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महानगर यातायात प्रालिले काठमाडौंको चक्रपथमा गुड्ने गरी १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ ।
  • शशिला मोटर्सले चीनबाट आयात गरेका ३३ सिट क्षमताका यी बसको बजार मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको छ ।
  • महानगर यातायातका सचिव केशव नेपालले विद्युतीय सवारी सञ्चालकका लागि ५० युनिटभन्दा बढी विद्युत खपतमा कर छुट दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

२० जेठ, काठमाडौं । महानगर यातायात प्रा.लि.ले नयाँ विद्युतीय बसहरुमार्फत सेवा विस्तार गरेको छ । बुधवारदेखि काठमाडौंको चक्रपथमा गुड्ने गरी १६ वटा विद्युतीय बस सन्चालनमा आएको हो ।

३३ सिट क्षमताका नयाँ विद्युतीय बस उभिएर यात्रा गर्ने यात्रीहरुका लागि पनि सहज हुने गरी डिजाइन गरिएको छ । उक्त बसहरुमा एकै पटक ७० हाराहारी यात्रीले यात्रा गर्न सक्ने बताइएको छ ।

शशिला मोटर्स प्रा.लि.ले चीनबाट आयात गरेको उक्त बसमा १ सय ४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री प्रयोग भएको छ भने एक पटकको फूल चार्जमा २ सय किलोमिटर यात्रा तय गर्न सक्ने बताइएको छ । उक्त बसको बजार मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको छ । अत्याधुनिक र सुविधासम्पन्न बसमा आरामदायी सिट र यात्री सुरक्षाका हरेक प्रबन्ध मिलाइएको शशिला मोटर्स प्रा.लि.ले जनाएको छ ।

महानगर यातायात प्रालिले गत वर्ष असारमा १२ वटा विद्युतीय बसहरु काठमाडौंको चक्रपथभित्र सञ्चालन गरेको थियो ।

थप १६ वटा नयाँ विद्युतीय बसहरुको सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले अबका दिनमा विद्युतीय सवारी साधनको विकल्प नभएको भन्दै महानगर यातायातले यो सेवालाई थप विस्तार गर्दै लैजाने जानकारी दिएका छन् । सुरुवाती लगानी ठूलो भए पनि व्यवसायिक दृष्टिकोणले विद्युतीय बसहरु उपयुक्त भएको उनको भनाइ छ ।

सचिव नेपालले व्यवसायीका लागि आय आर्जनका हिसाबमा राम्रो देखिएको भन्दै अन्य यातायात व्यवसायीलाई समेत विद्युतीय बस सञ्चालनमा जान सुझाव दिएका छन् । सरकारले पछिल्लो समय ५० युनिट भन्दा बढी विद्युत खपतमा लगाएको करमा विद्युतीय सवारी साधन सन्चालकका लागि छुट दिन उनले सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

महानगर यातायात प्रा.लि. सञ्चालक समिति सदस्य धर्मराज रिमालले यसअघि १२ वटा विद्युतीय बसको सफल सन्चालनपछि पुन: बसहरु थपिएको जानकारी दिएका छन् । विद्युतीय बसहरु सन्चालन खर्च र प्राविधिक सरलताका कारण झन्झट विना चल्ने भएकाले डिजेल बसभन्दा झण्डै चार गुणा आम्दानी गरिरहेको पनि उनले जानकारी दिएका छन् ।

महानगर यातायात प्रालिले चन्द्रागिरि, थानकोट हुँदै बनेपा र धुलिखेलसम्म पनि बससेवा सञ्चालन गर्दै आएको छ ।

शशिला मोटर्सबाट उपलब्ध हुने बिक्रीपछिको सेवा गुणस्तरीय, प्रभावकारी र चुस्त भएकाले शशिलासँग सहकार्य गर्दा आफूहरु खुसी रहेको उनले बताएका छन् ।

महानगर यातायात प्रा.लि. लाई बसको चावी हस्तान्तरण गर्दै शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले अबको आवश्यकता ठूला आकारका विद्युतीय बसहरुको प्रवर्द्धन नै भएको बताएका छन् । खतिवडाले यी बसहरु व्यवसायी र यात्रीको लागि मात्रै नभएर देशकै आवश्यकता भएको पनि बताएका छन् ।

शशिला मोटर्स विश्वका उत्कृष्ट ब्राण्डका सबैखाले व्यवसायिक विद्युतीय सवारी साधनलाई नेपालमा स्थापित गर्ने लक्ष्यका साथ नेपालको कमर्शियल इभी क्रान्तिको नेतृत्व गर्दै अघि बढिरहेको उनको भनाइ छ । गाडी बिक्री गर्ने मात्रै नभएर आफ्टर सेल्स इको सिस्टमलाई प्राथमिकतामा राखेर शशिला मोटर्स अघि बढिरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?