News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा धेरै महिलाले ४८–४९ वर्षको सेरोफेरोमा रजोनिवृत्ति अर्थात् मेनोपोजको प्राकृतिक चरण पार गर्छन् ।
- यो चरणमा इस्ट्रोजेन हर्मोनको कमीले गर्दा महिलाहरूमा मानसिक तनावका साथै हाडजोर्नी र मुटुको स्वास्थ्यमा जोखिम बढ्छ ।
आमा तिम्रो सहनशीलताले कहिल्यै ठूलो आवाजमा बोलेन । तिमीले न त आफ्नो शरीर बदलिँदै गएको कुरा कसैलाई सुनायौ । न त त्यो परिवर्तनलाई नाम दिएर चिनायौ । बिहान सबेरै उठेर चुलो बाल्नु, घरका सबैको अनुहार पढ्नु, कसलाई के चाहियो अनुमान लगाउनु तिम्रो दैनिकी रह्यो । यिनै कुरामा तिमी यति व्यस्त रह्यौ कि आफ्नै शरीरले बिस्तारै पठाइरहेका संकेतहरू सुन्ने फुर्सद तिमीलाई कहिल्यै मिलेन ।
हिउँदको चिसो बिहान पनि तिम्रो निधार पसिनाले भिज्थ्यो । तर हामीले त्यसलाई कामको थकान ठान्यौं । राति निद्रा नलाग्दा पनि तिमी बिहानै उठ्दा ‘आमा, तपाईंलाई के भइरहेको छ ?’ भनेर कसैले सोधेनौं । तिमी बिरामी थिइनौ, तर तिमीलाई सहज पनि थिएन । तिमी एउटा अदृश्य मोडमा उभिएकी थियौ, जहाँ महिनावारी हराउँदै थियो । तर शब्दहरू अझै जन्मिन सकेका थिएनन् ।
तिम्रो जीवन सधैं जिम्मेवारीबाट सुरु भयो । बच्चा, श्रीमान्, घर, समाज सबैको ख्याल राख्ने क्रममा तिमीले आफ्नो शरीरको हिसाब राख्न सिकिनौ । दुखाइ सहनु नै कर्तव्य हो भनी सिक्यौ । असहजता लुकाउनु नै मर्यादा हो भनी ठान्यौ । तर शरीरले मर्यादा बुझ्दैन, शरीर विज्ञान हो । शरीरभित्र हर्मोनहरू बग्छन् । र जब ती हर्मोनहरू बदलिन्छन्, शरीर पनि बदलिन्छ । मेनोपोज’ त्यही परिवर्तन हो, आमा । तिम्रो जीवनमा यो कुनै चिकित्सकीय शब्द थिएन । यो त केवल निन्द्रा नलाग्ने रात, अचानक आउने तातोपन, मन नबुझिने झर्कोपन, कहिलेकाहीँ बिना कारण आँखा रसाउने क्षणहरू मात्र थिए ।
तिमीमा आएको परिवर्तनको दोष तिमी आफैंलाई दिन्थ्यौ । ‘सायद म कमजोर हुँदैछु’, ‘सायद उमेरले जित्दैछ’, ‘सायद अब म पहिले जस्तो रहेनछु ।’ यी सब तिमीलाई लागेको मात्रै हो । तर सत्य त्यस्तो होइन । तिमी कमजोर होइनौ, तिमी परिवर्तनको यात्रामा थियौ । संसारभरका लाखौं महिलाजस्तै, नेपालका हजारौं आमाजस्तै, तिमी पनि त्यही प्राकृतिक मोडमा पुगिरहेकी हुन्छन् ।
जब अण्डाशयले बिस्तारै विश्राम लिन थाल्छ, जहाँ इस्ट्रोजेन नामको हर्मोन घट्दै जान्छ, र शरीरले नयाँ सन्तुलन खोज्न थाल्छ । तब यस्तो अवस्था आउँछ । यसलाई मेनोपोज वा रजोनिवृत्ति भनिन्छ ।
नेपालमा धेरै महिलाले ४८–४९ वर्षको सेरोफेरोमा यो मोड पार गर्छन् । दक्षिण एसियामा यो उमेर अझै अलि छिटो आउँछ, र विश्वव्यापी रूपमा महिलाले जीवनको करिब एक–तिहाइ हिस्सा यही चरणपछि बिताउँछन् । तर यी तथ्य तिम्रो जीवनमा तथ्य बनेनन्, अनुभूति बने । नबोलेका, नसुनेका, नसम्झिएका अनुभूति ।
तिम्रो झर्कोपन हामीलाई असहज लाग्थ्यो । तिमी पहिलेभन्दा चुप लाग्न थाल्यौ । सानो कुरामा पनि तिम्रो मन भारी हुन्थ्यो । हामीले भन्यौं, ‘अब आमा बुढी हुँदैछिन् ।’ बुढेसकाल लागे पछि यस्तै झर्किने हुन्छन् भनी सोचियो । यो बुढ्यौली होइन, यो हर्मोनको उतारचढाव थियो भनेर बुझेनौ ।
मस्तिष्कभित्रका रसायनहरू बदलिँदै थिए, निन्द्राको ताल बिग्रँदै थियो, भावनाहरू अस्थिर हुँदै थिए । तिमी आफ्नै मनसँग, आफ्नै शरीरसँग आफैं डराउँथ्यौ । तर डरलाई शब्द दिने वातावरण थिएन । किनभने हाम्रो समाजमा मेनोपाउज बोल्ने विषय होइन । यो त चुपचाप सहनुपर्ने चरण हो भनेर बुझेका छौँ । जसरी महिनावारी चुपचाप सहनुपर्छ, जसरी पीडा चुपचाप सहनुपर्छ ।
तिम्रो शरीरका परिवर्तनहरू केवल मनमा सीमित रहेनन् । योनी सुक्खा भयो, तर तिमीले कहिल्यै भनिनौ । यौन जीवनमा असहजता आयो, तर तिमीले लाजले लुकायौ । यो लाजको कुरा होइन भनेर कसैले तिमीलाई सिकाएको थिएन । मेनोपोजपछि धेरै महिलामा यस्तै समस्या देखिन्छ । यो शरीरको स्वाभाविक प्रतिक्रिया हो । तर हाम्रो समाजमा यो विषय अझै अँध्यारो कोठामा बन्द छ । तिमी त्यो अँध्यारो कोठामा एक्लै थुनियौ ।
समयसँगै तिम्रो जोर्नी दुख्न थाल्यो, हड्डी कमजोर हुँदै गयो । इस्ट्रोजेनको कमीले मेनोपोजपछि हड्डी छिटो पातलो हुन्छ, भविष्यमा भाँचिने जोखिम बढ्छ । यी यथार्थहरूबाट समाज टाढा छ । मुटुको स्वास्थ्य पनि परिवर्तनको जोखिममा पर्छ । रक्तचाप बढ्न सक्छ, रगतमा बोसोको मात्रा बढ्न सक्छ, मधुमेहको सम्भावना बढ्न सक्छ । तर तिमी कहिल्यै नियमित जाँचमा गइनौ ।
हामीलाई पनि लाग्थ्यो, डाक्टर कहाँ त बिरामी भएपछि मात्र लानुपर्छ । यो सोच हाम्रो मात्र होइन, समाजको सोच हो । महिलाले आफ्नो शरीरको हेरचाह सबै सकिएपछि मात्र गर्नुपर्ने मान्यता हामीले पुस्तौंदेखि बोकेका छौं ।
आमा, तिमीले सह्यौ । किनकि तिमीलाई विकल्प देखाइएन, बुझाइ दिइएन, सुन्ने कान भेटिएन । तिम्रो सहनशीलता कमजोरी थिएन । त्यो त परिवारप्रतिको, जीवनप्रतिका प्रेम थियो । तर अब प्रश्न उठ्छ, कति समयसम्म महिलाले मात्र सहनुपर्ने ? मेनोपोज अन्त्य होइन, यो नयाँ अध्याय हो । तर नयाँ अध्याय पढ्न पहिले त्यसलाई स्वीकार्नुपर्छ ।
यदि परिवारले बुझ्यो भने, यदि समाजले सुने भने, र यदि स्वास्थ्य प्रणालीले समयमै हात बढायो भने मेनोपोज पीडादायी होइन सहज बन्न सक्छ । सबै आमाहरूलाई औषधि चाहिँदैन, तर जानकारी चाहिन्छ । सम्मान चाहिन्छ, र आवश्यक परे चिकित्सकीय साथ चाहिन्छ ।
आमा, आज म तिमीलाई भन्न चाहन्छु । तिम्रो त्यो झर्कोपन दोष थिएन, तिम्रो त्यो थकान अल्छीपन थिएन, तिम्रो त्यो मौनता कमजोरी थिएन । त्यो त शरीरले बोलेको भाषा थियो, जसलाई हामीले सुन्न सिकेनौं । आज, जब म मेनोपोजलाई चिकित्सकको ज्ञानले पनि बुझ्छु र सन्तानको संवेदनाले पनि महसुस गर्छु । म चाहन्छु अब कुनै पनि आमा यस यात्रामा एक्लै नहिँडून् । आमाको सहनशीलता अब प्रशंसा मात्र होइन, हाम्रो सामूहिक जिम्मेवारी बन्नुपर्छ ।
प्रतिक्रिया 4