News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी संस्थाका संस्थापक, सेयरधनी र व्यवस्थापकलाई आपराधिक गतिविधिमा संलग्नता भए वा नभएको विवरण बुझाउन निर्देशन दिएको छ ।
- चुक्ता पूँजीको ५ प्रतिशत वा ५० लाख रुपैयाँभन्दा बढी सेयर स्वामित्व भएका लगानीकर्ताले यस्तो स्वघोषणा विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
- नेपाली नागरिक रहेका सम्बन्धित व्यक्तिले नेपाल बाहिर सम्पत्ति वा वास्तविक हिताधिकारी भए वा नभएको समेत स्वघोषणा गर्नुपर्ने व्यवस्था छ ।
२० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी काम गर्ने संस्थाका संस्थापक सेयरधनी तथा व्यवस्थापकलाई आपराधिक गतिविधिमा संलग्नता भए, नभएको विवरण पेश गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले भुक्तानी सम्बन्धी संस्थामा लगानी गरेका सेयरधनीदेखि उच्च व्यवस्थापकसँग यस्तो विवरण माग गरेको हो ।
बैंकले एकिकृत निर्देशन संशोधन गर्दै भुक्तानी सम्बन्धी काम गर्ने संस्थाको सञ्चालन, व्यवस्थापन वा काम कारबाहीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वामित्व हुने अधिकारीले आपराधिक संलग्नता रहे, नरहेको विवरण बुझाउनुपर्ने व्यवस्था गरेको हो ।
साथै त्यस्ता संस्था नियन्त्रण गर्ने वा सहभागी हुने वा सोको वास्तविक धनी वा हिताधिकारीले पनि वित्तीय आर्जन, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आपराधिक संलग्नता भए नभएको विवरण पेश गर्नुपर्ने भएको छ ।
चुक्ता पूँजीको पाँच प्रतिशत वा पचास लाख रुपैयाँभन्दा बढीको सेयर वा पूँजी लगानी वा खरिद गरेका खरिदकर्ताले विवरण बुझाउनु पर्नेछ । त्यसैगरी सूचक संस्थाको सञ्चालक वा उच्च व्यवस्थापकीय पद वा तहमा नियुक्ति मनोनयन हुने व्यक्तिको पनि आपराधिक संलग्नता भए/नभएको विवरणमा बुझाउनुपर्नेछ ।
पाँच प्रतिशत वा पच्चिस लाख रुपैयाँभन्दा बढीको सेयर वा पूँजीमा वास्तविक धनी वा हिताधिकारी रहँदा सम्बन्धित व्यवसाय सम्बन्धी प्रचलित कानुन बमोजिमको मापदण्ड पालनाको स्वघोषणा गर्नुपर्छ ।
त्यसैगरी सम्बन्धित व्यक्तिको नाम, थर, ठेगाना, पारिवारिक विवरण, वास्तविक धनी तथा हिताधिकारीको विवरण समावेश गर्नु पर्ने केन्द्रीय बैंकले जनाएको छ । नेपाल वा विदेशमा कुनै कसूरमा संलग्न भए वा नभएको घोषणा र भएको भए सोको विस्तृत विवरण र वर्तमान अवस्था पनि केन्द्रीय बैंकमा बुझाउनु पर्ने व्यवस्था गरेको छ ।
कुनै प्रकारको मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक वा प्रशासनिक कारबाहीको प्रक्रियामा रहेमा सोको विवरण पनि केन्द्रीय बैंकमा बुझाउनु पर्नेछ । अदालत वा अधिकारप्राप्त अधिकारीको फैसला वा आदेश बमोजिम तिर्नु, बुझाउनुपर्ने राजस्व, सरकारी बाँकी बक्यौता रहे वा नरहेको, नेपाल वा विदेशमा कर्जा सम्बन्धी कालोसूचीमा परे वा नपरेको, नेपाल र विदेशमा स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था विद्यमान रहे वा नरहेको समेत विवरण बुझाउनु पर्नेछ ।
सम्बन्धित व्यक्ति नेपाली नागरिक भए निजको नेपाल बाहिर कुनै सम्पत्ति रहे वा नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भए वा नभएको घोषणा पनि गर्नु पर्ने व्यवस्था गरिएको छ । निर्देशनले विगतमा संलग्न भएको कार्य संस्था, प्राप्त भएको जिम्मेबारी, पुरस्कार, सजायको अवस्था, कार्य सफलताको उदाहरण लगायतका विषय खुल्ने सम्बन्धित क्षेत्रको कार्य अनुभव सम्बन्धी विवरण समेत बैंकमा बुझाउनु पर्ने व्यवस्था गरेको छ । वित्तीय आचरण सम्बन्धी विवरण पनि समावेश गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशनमा उल्लेख छ ।
प्रतिक्रिया 4