+
+
Shares

सांसदलाई ४ अर्ब ३२ करोड बजेट बाँड्दै बागमती सरकार

सरकारको नेतृत्व अनुकुल ल्याइएको बजेट पास गराउन विगतका सरकारले अबलम्बन गर्दै आएको ‘सांसद फकाउने’ सूत्र बागमतीको वर्तमान सरकार नेतृत्वले पनि प्रयोग गरेको छ । कांग्रेसका इन्द्रबहादुर बानियाँले नेतृत्व गरेको बागमती सरकारमा एमाले साझेदार छ ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८३ जेठ २१ गते ७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि १०४ जना प्रदेश सांसदलाई ४ अर्ब रुपैयाँभन्दा बढी बजेट बाँड्ने तयारी गरेको छ ।
  • प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई ३ करोड रुपैयाँका दरले योजना छनोटका लागि बजेट बाँडिने भएको छ ।
  • मन्त्री प्रभात तामाङले सांसदहरूलाई बजेट तोकेर योजना नबाँडिएको तर आफ्नो निर्वाचन क्षेत्रमा योजना छनोट गर्न विकल्प दिइएको बताए ।

२१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले १०४ जना प्रदेश सांसदलाई ४ अर्ब भन्दा बढी बजेट बाँड्ने तयारी गरेको छ ।

सरकारको नेतृत्व अनुकूल ल्याइएको बजेट पास गराउन विगतका सरकारले अबलम्बन गर्दै आएको ‘सांसद फकाउने’ सूत्र बागमतीको वर्तमान सरकार नेतृत्वले पनि प्रयोग गरेको छ । नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले नेतृत्व गरेको बागमती सरकारमा नेकपा एमाले सत्ता साझेदार दल छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको तयारीमा जुटेको सरकारले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ राजनीतिक दलका हाल प्रदेशसभामा कायम १०४ जना प्रदेशसभा सदस्यलाई ५ र ३ करोडका दरले बजेट बाँड्न लागेको सरकारका एक मन्त्रीले जानकारी दिए । जसअनुसार सरकारले प्रत्यक्ष तर्फका ६० सांसदलाई ५ करोडका दरले ३ अर्ब र समानुपातिक सांसदलाई ३ करोडका दरले १ अर्ब ३२ करोड रुपैयाँको बजेट बाँड्ने तयारी छ ।

प्रत्यक्षबाट निर्वाचित ६६ मध्ये ६० जना सांसद र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ४४ जना सांसदलाई ३ करोडका दरले बजेट बाँडिने एक सांसदहरुले जानकारी दिए । ‘हामीलाई ५ करोड बराबरका योजना दिने कुरा भएअनुसार योजनाहरु पठाएका छौं । कतिपय सांसदले पठाउँदै हुनुहुन्छ,’ प्रत्यक्ष निर्वाचित एक सांसदले अनलाइनखबरसँग भने ।

प्रदेशसभामा ११० जना सांसद रहेकोमा गत प्रतिनिधिसमा निर्वाचनमा भाग लिन ६ जना सांसदले राजीनामा दिएका थिए । एमालेका प्रकाश श्रेष्ठ र अमनकुमार मास्के, कांग्रेसका कुन्दनराज काफ्ले, नेकपाका युवराज दुलाल, बसन्त मानन्धर र राप्रपाका सुनिल केसीले राजीनामा दिएका थिए । यी सबै प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

बागमती प्रदेशसभामा कांग्रेसका ३६ र एमालेका २५ गरी सत्तापक्षका ६१ सांसद छन् । प्रतिपक्षतर्फ नेकपाको २६, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

सांसदका योजना आयोजना बैंकमा

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशसभा सदस्यहरुले सिफारिस गर्ने योजनालाई पनि आयोजना बैंकमा प्रविष्ट गरेको छ ।

विगतमा सांसदका योजना सोझै बजेट सिलिङमार्फत समावेश हुने गरेकोमा यसपाली सरकारले प्रक्रियागत ढंग पुर्‍याउँदै आयोजना बैंकबाट कार्यान्वयन गर्ने भएको छ । जसले गर्दा योजनाहरु जिल्ला–जिल्लाबाट आउने विधि पालना हुने देखिएको विषयलाई सांसदहरुले सकारात्मक बुझाइ राखेका छन् ।

नागरिकस्तरबाट प्राप्त भएका प्रस्ताव तथा सांसदहरुले सिफारिस गरेका योजनाहरुलाई सम्बन्धित मन्त्रालय मातहतका कार्यान्वयन इकाइहरु लगायतले आयोजना बैंकमा प्रविष्ट (इन्ट्री) गर्नेछन् । आयोजना बैंकमा समावेश भएका योजनामध्येबाट सांसदहरुले आफ्नो हिस्सामा परेको बजेट सीमाभित्र योजना छनोट गर्न पाउने व्यवस्था सरकारले मिलाएको हो ।

‘प्रदेशसभा सदस्यज्युहरुको सिफारिसमा जिल्लास्थित कार्यान्वयन इकाइबाट आयोजना बैंकमा योजनाहरु हालिएको छ । केही सांसदले आफ्नै लेटरप्याडमा पनि योजनाहरु सिफारिस गर्नु भएको छ । ५ र ३ करोड भित्रबाटै ती योजनाहरु कार्यान्वयन हुने जानकारी सरकारबाट आएको छ,’ एक सांसदले भने ।

आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालनको जिम्मेवारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालय र निकायहरु तथा प्रदेश नीति तथा योजना आयोगसँग छ ।

बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ

सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले सांसदहरुलाई बजेट तोकेर योजना नबाँडिएको बताउँदै योजना छनौट गर्न भने दिइएको बताए । ‘आफ्नो निर्वाचन क्षेत्रमा कुन योजना हाल्ने भनेर छनौट गर्नलाई अप्सन दिइएको छ । आयोजना बैंकबाट आएकोमा कुन बजेट हाल्दा हुन्छ भनेर बजेटलाई सन्तुलित बनाउन छनौट गर्न दिइएको हो,’ तामाङले भने ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश सभा सदस्यहरुलाई समयमै आयोजना प्रस्ताव पेस गर्न २१ वैशाख २०८३ को समय सीमा दिएर आह्वानसमेत गरेको थियो । ‘बजेट तर्जुमाका लागि वार्षिक आयोजना प्रस्ताव तथा छनौट सम्बन्धी निर्देशिका, २०८३’ कार्यान्वयनको क्रममा सांसदहरुलाई सम्बन्धित कार्यान्वयन इकाइ कार्यालयमा आयोजना विवरण बुझाउन पत्राचार भएको हो । सांसदहरुले समय अपुग भएको गुनासो गरेपछि थप समय पनि प्रदान गरिएको छ ।

सांसदका योजनामा बजेटको सीमा घटाइयो

सरकारले सांसदका योजनामा बजेटको सीमा पनि तोकेको छ । पूर्वाधारतर्फका योजनामा ३० लाखसम्म र अन्य योजनामा १५ लाखसम्मको बजेट सीमा तोकिएको सरकार एक मन्त्रीले जानकारी दिए ।

सरकारले सुरुमा ५० लाख र २० लाख सीमा तोकेको थियो । सांसदहरुले सीमा घटाउन दबाब दिएपछि सरकारले ३० र १५ को सीमा राखेको सरकारका एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । ‘सुरुमा पूर्वाधारमा ५० र अन्यमा २० भनेकोमा माननीयज्युहरुले सम्भव नहुने बताएपछि सीमा घटाएर ३० र १५ बनाइएको छ । त्यसैगरि योजना आउनेछन्,’ उनले भने ।

वर्षैपिच्छे सांसदलाई बजेट बाँड्ने नयाँ–नयाँ तरिका

बागमती प्रदेश सरकारले आलोचनाबाट बँच्न हरेक वर्ष सांसदलाई बजेट बाँड्ने नयाँ तरिका अपनाउँदै आएको छ ।

निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको अघिल्लो सरकारले भने चालु आवको बजेट सिलिङमा सोझै सांसदलाई बजेट भाग लगाएर योजना समावेश गराएको थियो । सांसदहरुले आफ्नो पार्टी संसदीय दलमार्फत पठाएको योजना सोझै सिलिङमै समावेश हुने गरी बजेट भागबण्डा गरिएको हो ।

यसअघि सत्ता पक्षका सांसदलाई ५ र २ करोड, प्रतिपक्षका सांसदलाई ३ र १ करोडको बजेट बाँडिएको थियो । सत्तापक्ष र प्रतिपक्षलाई विभेद गरिएको भन्दै बजेट छलफलमा प्रदेशसभा अवरुद्ध भएपछि सबैलाई ५ र २ करोडको योजना दिइएको थियो ।

विगतका वर्षहरुमा पूर्वाधार विकास कार्यक्रम, निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा सांसदलाई बजेट दिइने गरिएको थियो । २०७८/७९ को बजेटमा ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’लाई ‘प्रदेश पूर्वाधार, स्वास्थ्य प्रवर्द्धन तथा कोभिड पुनर्स्थापना साझेदारी कार्यक्रम’मा रुपान्तरण गरी सांसदलाई बजेट बाँडिएको थियो ।

आव २०८१/८२ मा ‘प्रदेश विकास कार्यक्रम’मार्फत प्रत्यक्ष सांसदलाई ३ र समानुपातिक सांसदलाई १ करोड बजेट छुट्याइएको थियो । यसमा पनि बजेट अपुग भएको भन्दै सांसदहरुले पटक–पटक प्रदेशसभा सञ्चालनमा अप्ठेरो पार्दै आएका थिए । विगतका वर्षदेखि बजेटको विषयलाई लिएर सांसदहरु र सरकारबीच असमझदारी रहँदै आएपछि चालु आर्थिक वर्षको योजनामा सिधै बजेट दिन थालिएको थियो ।

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?