+
+
Shares

बुद्धचित्तको नर्सरीबाट मनग्य कमाइरहेका कान्छामान

कपिल कोइराला कपिल कोइराला
२०८३ जेठ २१ गते ९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकका कान्छामान बोम्जनले बुद्धचित्तको व्यावसायिक नर्सरीबाट वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् ।
  • उनको नर्सरीमा उत्पादित ३५ हजार बुद्धचित्तका बिरुवा नेपालका विभिन्न जिल्लाका साथै भारतको सिक्किमसम्म बिक्री हुने गरेका छन् ।
  • बुद्धचित्त समुद्री सतहबाट ४०० मिटरदेखि २००० मिटरसम्मको समशीतोष्ण हावापानी र सुख्खा रातो माटोमा राम्रोसँग फस्टाउँछ ।

२१ जेठ, काभ्रेपलाञ्चोक । पैसा कमाउन बिदेसिने लहर चलिरहेको बेला काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ७ भकुण्डेबेशीका कान्छामान बोम्जन बुद्धचित्तको व्यावसायिक नर्सरी सन्चालन गरेर लाखौं कमाइरहेका छन् ।

नेपालमा गर्‍यो भने नहुने केही छैन भनेर बुद्धचित्तको व्यावसायिक नर्सरी शुरु गरेका बम्जन वार्षिक २० लाख भन्दा बढी आम्दानी गरिरहेको बताउँछन् ।

काभ्रेका विभिन्न स्थानमा बुद्धचित्त (बोधिचित्त) को खेती गर्नेहरु बढेसँगै भकुण्डेबेसीमा व्यावसायिक नर्सरी गर्न थालेको उनले बताए ।

साथीको अनुरोधमा बुद्धचित्तको बिरुवा उनले आफ्नै नर्सरीमा उत्पादन गरेर बिक्री गर्दै आएका छन् । उनको नर्सरीमा सय रुपैयाँदेखि १५ सय रुपैयाँसम्मका बिरुवा छन् । ‘कसले कति मूल्यको बिरुवा किन्छ भन्ने कुरा बिरुवामा भर पर्छ । विरुवामा पनि मुखे अनुसार मूल्य परक पर्छ,’ बम्जनले भने ।

दुई वर्षदेखि नर्सरी राखेका उनले भने, ‘अघिल्लो वर्ष खर्च कटाएर १५ लाख रुपैयाँ नाफा गरेको थिएँ । यो वर्ष २० लाख कमाउने लक्ष्य छ ।’

उनको नर्सरीमा ३५ हजार बिरुवा छन् । नर्सरीमा ३ जनाले रोजगारी पाएका छन् । बम्जनले नेपाल तथा भारतका विभिन्न स्थानमा विरुवा पठाइरहेका छन् । भारतको सिक्किम, नेपालका भक्तपुर, रामेछाप लगायत धेरै जिल्लामा बिरुवा पठाउने गरेको बम्जनको भनाइ छ । ‘नजिकैको बिपी राजमार्ग हुँदै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिस यात्रा गर्ने क्रममा विरुवा खरिद गरेर लैजान्छन्,’ उनले भने ।

नेपालमा मात्रै नभएर छिमेकी मुलुक चीनमा बुद्धचित्तलाई धेरै राम्रो मानिने भएकाले यसको बजार राम्रो रहेको बम्जनको भनाइ छ । रोपेको तीनदेखि चार वर्षमा फल लाग्न सुरु हुने बुद्ध चित्तको एउटै बोटमा सयौँ दाना फल्छ ।

तीनदेखि सात मुखेसम्म हुने फलको प्रकार हेरी एउटै दानाको चार सय रुपैयाँदेखि लाखौँ रुपैयाँसम्ममा बिक्री वितरण हुने किसानहरुको भनाइ छ । विशेष गरी सानो आकारको फलको मूल्य धेरै र ठूला आकारको फलको मूल्य कम हुने गरेको बम्जन बताउँछन् ।

खेती गर्ने उपयुक्त तरिका र हावापानी

उनका अनुसार बुद्धचित्तको बिरुवा न अत्यधिक चिसो, न अत्यधिक तातो ठाउँमा राम्रो हुन्छ । बिहानै घाम लाग्ने ठाउँमा विरुवा लगाउने हो भने बिरुवा छिट्टै बढ्ने र समयमा नै आम्दानी लिन सकिने बम्जनको भनाइ छ ।

समुद्री सतहबाट ४०० मिटरदेखि २००० मिटरसम्मको समशीतोष्ण हावापानी भएको ठाउँमा यो राम्रोसँग फस्टाउँछ । यसलाई वर्षा शुरु हुनुभन्दा अघि रोप्नु उत्तम मानिन्छ । तर पनि उचित हेरचाह गरेमा अन्य समयमा पनि यो बिरुवा रोप्न सकिन्छ ।

बिरुवा रोप्नका लागि थोरै पानी पर्ने सुख्खा ठाउँ, धेरैजसो रातो माटो भएको ठाउँमा यसको खेती राम्रो हुन्छ । यो बिरुवा रोप्दा ५ मिटरको दुरी कायम गरी रोप्नु उत्तम हुन्छ । बिरुवा रोपेपछि आवश्यक मात्रामा त्यसलाई सिंचाइ, मलखाद तथा गोडमेलको उचित प्रबन्ध मिलाउनुपर्छ ।

‘बिरुवा राम्रोसँग हुर्किएपछि अन्य बिरुवालाईझैं यसलाई स्याहार नगरे पनि हुन्छ,’ बम्जन भन्छन् ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?