+
१६औं राष्ट्रपति रनिङ शिल्ड :

रिलेमा गण्डकी प्रदेशको कीर्तिमान

२०८३ जेठ  २१ गते १७:५२ २०८३ जेठ २१ गते १७:५२
रिलेमा गण्डकी प्रदेशको कीर्तिमान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १६औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत छात्र ४ गुणा ४ सय मिटर रिलेमा गण्डकी प्रदेशले नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ ।
  • प्रतियोगिताको छात्रातर्फ ४ गुणा ४ सय मिटर रिले तथा ८ सय मिटर दौड र लङजम्पमा बागमती प्रदेशले स्वर्ण पदक जितेको छ ।
  • सुदूरपश्चिम प्रदेशका खेलाडीहरूले लङजम्प र ज्याभ्लिन थ्रोको छात्र तथा छात्रा दुवै स्पर्धामा स्वर्ण पदक प्राप्त गरेका छन् ।

२१ जेठ, काठमाडौं । गण्डकी प्रदेशले १६औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा बिहीबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अतित थापा, आर्यन राना मगर, अंकित रानाभाट र सुदिप भण्डारी सम्मिलित गण्डकी टोलीले निर्धारित दूरी ३ मिनेट २७.९ सेकेन्डमा तय गर्दै कीर्तिमान रचेका हुन् ।

यसअघि ३ मिनेट ३०.९ सेकेन्डको कीर्तिमान बागमती प्रदेशका प्रवीण राना मगर, हस्त सुनार, निरज शाह र सन्तबहादुर दराइको नाममा थियो । उनीहरुले उक्त कीर्तिमान गत संस्करणमा बनाएका थिए ।

गत संस्करणमै बनेको कीर्तिमानलाई उछिन्ने क्रममा ३ मिनेट ३०.७ सेकेन्डको समय निकाल्दै बागमतीका सप्रेश अधिकारी, निरज शाह, हस्त सुनार र सचिन थिङ दोस्रो भए । सुदूरपश्चिम प्रदेशका सुरेश चौधरी, चित्रबहादुर केसी, विराज सुनार र बरुणदत्त राना तेस्रो बने ।

उक्त स्पर्धाको छात्रामा बागमती प्रदेशका सुरुची मोक्तान, अनिशा थारू, भगवती खड्का र शर्मिला विक पहिलो भए । टोलीले निर्धारित दूरी ४ मिनेट १८.१ सेकेन्डमा पूरा गरे । लुम्बिनी प्रदेशका अनुजा चौधरी, रोशनी कामी, करिश्मा खड्का र दुर्गा विक दोश्रो तथा सुदूरपश्चिमका उषा चौधरी, विजया चटौल, स्वस्तिका शाह र कमल जैशी तेस्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भइरहेको प्रतियोगिताको छात्र लङजम्पमा सुदूरपश्चिमका विक्रम नाथ पहिलो भए । उनले ६.६० मिटर जम्प गरे । बागमतीका दिपेन्द्र गिरी र विशाल गुरुङ तेस्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा ५.०८ मिटर जम्प गर्दै बागमतीकी अनिशा थारू पहिलो भइन् । सुदूरपश्चिमकी उषा चौधरी दोस्रो तथा लुम्बिनीकी गरिमा चौधरी तेस्रो भए ।

छात्र ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमका लोकेश ऐरीले स्वर्ण जिते । उनले ५६.३२ मिटर थ्रो गरे । लुम्बिनीका अमित थारुले रजत तथा कोशी प्रदेशका सोहेल मनसोलीले कांस्य जिते । त्यसै स्पर्धाको छात्रामा सुदूरपश्चिमकी पूजा साउद पहिलो भइन् । पूजाको उत्कृष्ट थ्रो ३५.४२ मिटर रह्यो । कोशीकी उमिता राई र कर्णाली प्रदेशकी सरिता शाह क्रमशः दोस्रो र तेस्रो भए ।

छात्र ८ सय मिटर दौडमा बागमतीका हस्त सुनार पहिलो भए । उनले २ मिनेट ००.२ सेकेन्ड समय निकाले । कर्णालीका सुमन सुनार दोस्रो तथा लुम्बिनीका सचिन कुर्मी तेस्रो भए ।

सो स्पर्धाको छात्रामा बागमतीकी भगवती खड्का २ मिनेट २२.१ सेकेन्ड समयसाथ पहिलो भइन् । सुदूरपश्चिमकी स्वस्तिका शाह दोस्रो तथा गण्डकी प्रदेशकी आस्मा अधिकारी तेस्रो बने ।

१६औं राष्ट्रपति रनिङ शिल्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय