+
+
Shares

संसद्‌मा विरोध गर्ने पटक्कै रहर छैन, सर्वसत्तावादले बाध्य बनायो : ऐन महर  

सत्ता पक्षलाई ‘हामीले संसार जितेका छौं, संविधान पनि केही होइन, संसद् पनि केही होइन, ऐनकानुन केही होइनन्’ भन्ने परेको उनले दाबी गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १६:१७

२१ जेठ, काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकार सर्वसत्तावादी अभ्यासमा रहेकाले संसद् अवरोध गर्नुपरेको टिप्पणी गरेका छन् । बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूहरूलाई विरोध गर्ने रहर नहुँदानहुँदै सरकारले बाध्य पारेको बताएका हुन् ।

‘लड्ने, विरोध गर्ने रहर हुँदैन । हाम्रो रहर पटक्कै छैन । हामी रहरले रमाइलो मानेर त्यो गरिरहेका छैनौं,’ प्रमुख सचेतक महरले भने, ‘हामीलाई के थाहा छ भने, जनताका आवाज बुलन्द हुने, जनताका समस्या समाधान गर्ने, जनताका समस्या नै राख्ने ठाउँ हो संसद् ।  सार्वभौम थलो हो । त्यसकारण बन्धक बनाइनु हुँदैन, त्यसलाई अवरोध गरिनु हुँदैन ।’

संसद्लाई जति चलायो, त्यति जनताका समस्या त्यहाँ आउने र ऐन, कानुन बन्ने कुरामा आफू जानकार रहेको उनले बताए ।

‘संसद् सरकारलाई उत्तरदायी बनाउने थलो पनि हो, त्यसकारण त्यसलाई अवरोध गरेर, विरोध गर्नु राम्रो होइन, त्यसले देशलाई राम्रो गर्दैन भन्ने कुरामा हामी संवेदनशील पनि छौं, सचेत पनि छौं,’ उनले भने ।

तर, अहिले संसद् अवरोध गर्नु आफ्नो बाध्यता रहेको उनले बताए । उनले अगाडि भने, ‘यो परिस्थितिवस आइलागेको अवस्था हो, यसप्रति हामी दुखी छौं । हामी जिम्मेवार बन्न चाहन्छौं ।’

आफूहरू अराजक बनेर, अमर्यादित बनेर, संसद्को मर्यादा र गरिमामा आँच आउने काम गर्न नचाहने उनले बताए ।

‘तर, पछिल्लो समय सरकार र सभामुख जसरी प्रस्तुत भइराख्नुभएको छ, त्यो विचार गर्नुपर्ने कुरा छ, बडो ध्यान दिनुपर्ने कुरा छ,’ महरले भने, ‘सरकारलाई सर्वसत्तावाद हाबी भएको छ ।’

सत्ता पक्षलाई ‘हामीले संसार जितेका छौं, संविधान पनि केही होइन, संसद् पनि केही होइन, ऐनकानुन केही होइनन्’ भन्ने परेको उनले दाबी गरे ।

‘हाम्रो १८२ को संख्या अल इन अल हो । हामी यसका माध्यमबाट जे पनि गर्नसक्छौं भन्दै,  निरन्तरतामा क्रमभंगता भनेर उहाँले जानेर हो वा नजानेर एउटा भाष्य लाग्नुभएको छ’, उनले भने ।

त्यसका आधारमा प्रचलित कानुन, मूल्यमान्यता, अभ्यास नजरअन्दाज गरेर अगाडि बढ्न खोजेको उनले टिप्पणी गरे । उनले अगाडि भने, ‘जुन यी प्रवृत्ति छन्, यी लोकतन्त्रविरोधी प्रचलित अभ्यासविरोधी, कानुनविरोधी, जनता विरोधी र राष्ट्रविरोधी छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?