+
फिफा विश्वकप २०२६ :

फिफा विश्वकप २०२६ मा नदेखिने सबैभन्दा ठूला स्टार

२०८३ जेठ  २१ गते १७:३८ २०८३ जेठ २१ गते १७:३८

युरोपियन च्याम्पियन्स लिग जित्दै सिजनको उत्कृष्ट खेलाडी समेत घोषित भएका जर्जियन मेस्सी र कभाराडोना उपनामले चिनिने २५ वर्षीय विंगर ‘क्वारा’ यस पटक फिफा विश्वकप २०२६ मा देखिने छैनन् ।

फिफा विश्वकप २०२६ मा नदेखिने सबैभन्दा ठूला स्टार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जर्जियन फुटबलर ख्भिचा कभारात्स्खेलिया सम्मिलित फ्रेन्च क्लब पीएसजीले लगातार दोस्रो पटक युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
  • च्याम्पियन्स लिग २०२५-२६ को सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै कभारात्स्खेलिया प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
  • जर्जिया छनोट नहुँदा कभारात्स्खेलियाले आगामी फिफा विश्वकप २०२६ खेल्न नपाउने भएका हुन् ।

२१ जेठ, काठमाडौं । जर्जियन मेसी, डिएगो म्याराडोनासँगै जोडिएर ‘निकनेम’ अनि क्रिस्टियानो रोनाल्डो आदर्श खेलाडी । विश्वकै तीन महान् खेलाडीसँग नाम जोडिँदा कस्तो होला ? यो आफैंमा एउटा गर्व महसुस हुने विषय हो ।

यी नामसँग जोडिएका खेलाडी हुन्, जर्जियन फुटबलर ख्भिचा कभारात्स्खेलिया (Khvicha Kvaratskhelia) । उनको नाम उच्चारण गर्न जो कोहीलाई पनि कठिन हुने गर्छ । धेरै पटक त उनले आफ्नो नाम उच्चारण गरेरै सुनाउनु परेको थियो । त्यसैले उनले आफूलाई छोटकरिमा क्वारा भनेर बोलाउन सकिने समेत बताएका थिए ।

कभारात्स्खेलियाले भर्खरै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट युरोपकै सबैभन्दा प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको उपाधि जिते । पीएसजीलाई लगातार दोस्रो पटक च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका यी खेलाडीले व्यक्तिगत अवार्ड पनि पाए, युइएफए च्याम्पियन्स लिग २०२५-२६ को उत्कृष्ट खेलाडीको रुपमा ।

तर आफ्नो करियरकै सबैभन्दा उच्च लयमा रहेका २५ वर्षीय यी विंगर ख्विचा अबको सातादिनपछि सुरु हुने फिफा विश्वकप २०२६ मा देखिने छैनन् ।

कहिलेकाहीँ फुटबल खेल नै यस्तै हुने गर्छ । चाहेको जस्तो हुँदैन । क्लब फुटबलमा चम्किएपनि विश्वकप खेल्न पाइँदैन । किनभने विश्वकप खेल्नका लागि राष्ट्र छनोट हुनुपर्छ ।

जर्जियन मेसीको उपनामले परिचित ख्विचा वर्तमान विश्व फुटबलका खतरनाक विंगरहरु मध्ये एक हुन् । तर दुर्भाग्य, उनकै राष्ट्र जर्जिया पनि फिफा विश्वकप २०२६ को लागि छनोट हुन सकेन ।

जसले गर्दा जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा हुने फुटबलको कुम्भमेला विश्वकपमा उनलाई देख्न पाइने छैन । ख्विचाको जादु पनि हेर्न पाइने छैन । उनी अहिलेसम्मकै ठुलो विश्वकपको लागि ठूलो दर्शक बन्नेछन् ।

पीएसजीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लिग उपाधि जिताउन गरेको योगदानले पनि त्यो पुष्टि गर्छ । उनले २०२५-२६ को सिजनमा पीएसजीका लागि सर्वाधिक १० गोल गर्नुका साथै ६ असिस्ट गरेका थिए ।

रियल मड्रिडका किलिएन एमबाप्पे (१५) र बायर्न म्युनिकका ह्यारी केन (१४) भन्दा मात्र उनी पछि थिए । युरोपियन च्याम्पियन्स लिगमात्र जितेनन् उनी यस सिजनको च्याम्पियन्स लिगका उत्कृष्ट खेलाडी घोषित हुँदै व्यक्तिगत अवार्ड समेत जिते ।

उनले अहिलेसम्म विश्वकप खेल्न पाएका छैनन् । जर्जियाको लागि उनले खेलेको सबैभन्दा ठूलो प्रतियोगिता युरो २०२४ हो । जहाँ जर्जिया अन्तिम १६ मा स्पेनसँग पराजित हुँदै बाहिरिएको थियो ।

फिफा विश्वकप २०२६ को लागि युरोपियन छनोटको समूह इ मा रहेको जर्जिया स्पेन र टर्किए भन्दा पछि रहेपछि समूह चरणबाटै बाहिरियो ।

छनोटमा बुल्गेरियालाई एक खेलमा पराजित गरेको जर्जिया बाँकी पाँच खेलमा पराजित भयो । जहाँ कभारात्स्खेलियाले २ गोल गरेका थिए । उनले टर्किए विरुद्ध ३-२ को हार र बुल्गेरियाविरुद्ध ३-० को जितमा एक-एक गोल गरेका थिए ।

कभारात्स्खेलियाको करियर

जर्जीयाको टिबीलिसीमा सन् २००१ मा जन्मिएका उनले डिनामो टिबीलीसीबाटै युथ करियर सुरु गरेका थिए । त्यसपछि उनले डिनामो टिबीलीसीबाटै सिनियर करियर अघि बढाए । अनि जर्जियाकै रुस्ताभीबाट खेले ।

केही समय रूसको लोकोमोतिभ मस्कोमा लोनमा गएर खेलेका उनले रूसकै अर्को क्लब रुबिन कजानबाट २०१९ देखि २०२२ सम्म खेले । २०२२ मा उनी फेरि जर्जियाके डिनामो बातुमीमा फर्किए र एक सिजन बिताए ।

सन् २०२२ मा उनी इटलीको नापोलीमा अनुबन्ध भए । जुन उनको करियरकै टर्निङ प्वाइन्ट बन्यो । नापोली बाटै उनले आफ्नो खेल कौशल विश्वभर देखाए । चर्चा कमाए । उत्कृष्ट प्रदर्शन गरे । उनले सन् २०२५ सम्म नापोलीका लागि खेल्दा ८५ खेलमा २८ गोल गरे । अनी सन् २०२५ जनवरीमा फ्रेन्च क्लब पीएसजीमा अनुबन्ध भए ।

पछिल्लो दुई सिजन उनले पीएसजीबाट खेल्दै विभिन्न उपाधि र पुरस्कारहरु जितिसकेका छन् । पीएसजीले लगातार दुई पटक च्याम्पियन्स लिग जित्दाका सदस्य उनी २०२५-२६ को सिजनमा त मुख्य खेलाडीको रुपमै चम्किए ।

उनले सन् २०१६ मा पहिलो पटक जर्जिया यू-१७ राष्ट्रिय टिमबाट खेल्दै उमेर समूहमा डेब्यु गरे । त्यसपछि चार फरक उमेर समूहको राष्ट्रिय टिमबाट खेले । अनि २०१९ मै जर्जियाको राष्ट्रिय टिममा डेब्यू ।

उनले जर्जियाको लागि ४९ खेलमा २२ गोल गरिसकेका छन् । २०२६ मार्चमा उनी राष्ट्रिय टिमको कप्तान समेत बने । डेब्यूपछि नै राष्ट्रिय टिममा महत्वपूर्ण सदस्यको रुपमा स्थापित बन्दै आएका कभारात्स्खेलियाका अहिले जर्जियाकै महान् खेलाडी बन्ने लाइनमा छन् ।

उनले सन् २०२४ मा जर्जियालाई युरो २०२४ मा छनोट गराउन भूमिका खेलेका थिए । जर्जियाको यो पहिलो मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

यस्तै उनले काखा कालाड्जेसँगै सर्वाधिक ५ पटक जर्जियन फुटबलर अफ दि इअरको अवार्ड समेत जितेका छन् । त्यसमा पनि सन् २०२० देखि २०२५ को अन्तरालमै यो उपलब्धि हासिल गरेका थिए । सन् २०२४ मा मात्रै गोलकिपर जिओर्जी मामार्दशभिली उत्कृष्ट बनेका थिए ।

जर्जियन मेसी र कभाराडोना

म्याराडोना र मेसी दुवै अर्जेन्टिनाका महान् खेलाडी हुन् । दुवैले आफ्नो राष्ट्रलाई फिफा विश्वकपको उपाधि जिताइसकेका छन् । सन् ८० को दशकमा म्याराडोनाको राज थियो । उनले १९८६ मा एकल प्रयासमा अर्जेन्टिनालाई दोस्रो पटक विश्वकप जिताए । त्यसको ३६ वर्षपछि मेसीले सन् २०२२ मा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप जिताए ।

दुवै फरक समयका महान् खेलाडी हुन् । वर्तमान विश्व फुटबलमा मेस्सीसँगै क्रिस्टियानो रोनाल्डो पनि सुपरस्टारको रुपमा छन् । तर रोनाल्डोले विश्वकप जित्न सकेका छैनन् ।

विश्वकप नै खेल्न बाँकी रहेको ख्विचा कभारात्स्खेलियाको नाम कसरी यी खेलाडीहरुसँग जोडियो भनेर धेरैलाई अचम्म लाग्न सक्छ । तर त्यसको पनि विशेष कारण छ ।

विश्वमा हरेक देशमा उत्कृष्ट प्रदर्शन गर्ने र मेस्सीको जस्तै विशेषता भएका खेलाडीहरुसँग सम्बन्धित देशको नाम र मेसी जोडेर उपनाम दिइने गरिन्छ । उनलाई पनि जर्जियन मेस्सीको निकनेम पनि दिइएको छ । तर उनी आफैं भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई आफ्नो आदर्श खेलाडी मान्छन् ।

मेस्सीको जस्तै उत्कृष्ट खेल कौशल, प्राविधिक क्षमता र ड्रिबल गर्दे डिफेन्डरहरूलाई छक्याउने सक्ने क्षमताका कारण कभारात्स्खेलियालाई समर्थक र पत्रकारहरूले ‘जर्जियन मेस्सी’ को उपनाम दिएका थिए । उनी मेस्सी जस्तै दुवै खुट्टा उत्तिकै सहज रूपमा चलाउन सक्छन् ।

उनलाई मेस्सीसँग जोडेर निकनेम दिएपनि कभारात्स्खेलिया भने मेस्सीको सदाबहार प्रतिद्वन्द्वी रोनाल्डोलाई आफ्नो आदर्श मान्दछन् । उनी रोनाल्डोलाई यति धेरै मन पराउँछन् कि उनी इटालियन क्लब नापोलीमा ७ नम्बरकै जर्सी लगाउन चाहेका थिए । तर उक्त नम्बर त्यसअघि नै उत्तर म्यासेडोनियाका एफिल एल्मासले लिइसकेका हुनाले उनले ७७ नम्बरको जर्सी लगाउने निर्णय गरे ।

रोनाल्डोको जस्तै जर्सी लगाउने सपना पूरा नभएपनि उनले फरक जर्सी नम्बर लगाएर नापोलीमा चमत्कारी प्रदर्शन गरे । जसले गर्दा उनको नाम फेरि अर्को महान् खेलाडीसँग जोडियो ।

नापोलीमा उनको लोभलाग्यो र धमाकेदार प्रदर्शनपछि म्याराडोनासँग जोडेर उनको निकनेम बन्यो क्वाभाराडोना । यस्तो उपनामा पाउने उनी भाग्यमानी खेलाडी बने । किनभने यो आफैंमा अनौठो कुरा थियो ।

नापोलीको यो प्रसिद्ध ‘पार्टेनोपेई’ जर्सी लगाउने धेरे महान् खेलाडीहरू छन् । जसमा क्लबका सर्वकालीन सर्वाधिक गोलकर्ता ड्रिस मेर्टेन्स, स्थानीय नायक लोरेन्जो इन्सिनिया, मारेक हाम्सिक र एजेक्वेल लाभेजी जस्ता नामहरू पर्छन् । तर तीमध्ये कोही पनि डिएगो म्याराडोना जति प्रसिद्ध वा नापोलीका समर्थकहरुमाझ त्यति प्रिय भएनन् । किनभने म्याराडोना नेपल्स सहरमा एक भगवान जस्तै पूजनीय व्यक्तित्व हुन् ।

क्लबमा म्याराडोनाको विरासत यति ठूलो थियो कि सन् २०२० मा उनको निधनपछि, क्लबले आफ्नो स्टेडियमको नाम नै उनीकै नाममा राख्यो । उनले नै नापोलीलाई सन् १९८६/८७ र १९८९/१९९० मा इतिहासकै सबैभन्दा रोमान्चक र अनपेक्षित जित निकाल्दै एकमात्र ‘स्कुडेटो’ (इटालियन लिग उपाधि) दिलाएका थिए । साथै, उनकै नेतृत्वमा क्लबले सन् १९८८/८९ मा यूईएफए कप जित्दै आफ्नो एकमात्र युरोपेली उपलब्धी हासिल गरेको थियो ।

त्यसैले नापोलीका कट्टर समर्थकहरुले म्याराडोनासँग तुलना गर्नुको पछाडी क्वाराले पनि अर्जेन्टिनी महान खेलाडी जस्तै नापोलीलाई सफलता दिलाउने आशा राखेका थिए । र उनले त्यो उपनामलाई न्याय पनि गरेका छन् ।

उनले टोलीलाई ती अर्जेन्टिनी लिजेन्डको स्वर्ण युगपछिको पहिलो पटक सिरी ए उपाधि जिताउन मद्दत गरे । सन् २०२२-२३ को सिजन नाइजेरियन भिक्टोर ओसिमहेनसँग उनको जोडी जम्यो । भिक्टोरले सर्वाधिक २६ गोल गर्दा क्वारले १२ गोल गरे ।

म्याराडोनासँग जोडिएको निकनेमबारे एक अन्तर्वार्तामा क्वाराले भनेका थिए, ‘निश्चय नै मलाई यो उपनाम मन पर्छ । म म्याराडोनाको नजिक पनि पुग्न सक्दिनँ, तर यस क्लबका लागि एक महान् खेलाडी बन्न म आफ्नो सर्वस्व दिनेछु ।’

यस्तै क्वारा रियल मड्रिडको पनि जबरजस्त फ्यान थिए । कुनै समय उनले आफ्नो सबैभन्दा ठूलो सपना रियल मड्रिडबाट च्याम्पियन्स लिग जित्नु बताएका थिए । तर अहिले उनले च्याम्पियन्स लिग जित्ने सपना भने फ्रान्सको पीएसजीबाट पूरा गरिसकेका छन् र त्यहीँ रमाइरहेका छन् ।

ख्भिचा कभारात्स्खेलिया फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय